
२ कात्तिक, काठमाडौं । नेपाली राजनीतिमा राजनीतिक संस्कृतिको संकट नै छ । पद र शक्तिको सिँढी चढेपछि तल झर्ने चलन दुर्लभ छ। खासगरी कम्युनिस्ट पार्टीमा नेतृत्वमा पुगेपछि आफैं चढेको भर्याङ भत्काइदिने अभ्यास सामान्यजस्तै भइसक्यो ।
यस्तो संस्कृतिमा ८० वर्षीय कम्युनिस्ट नेता मोहन वैद्यले पार्टी महासचिवको जिम्मेवारी छाड्ने निर्णय गरेका छन् । स्वास्थ्य समस्या देखाउँदै उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नेतृत्वबाट अलग भएर पार्टी महासचिवको जिम्मेवारी सहकर्मी सीपी गजुरेललाई हस्तान्तरण गरेका छन्।
खासगरी कम्युनिस्ट राजनीतिमा आजीवन नेतृत्वमा टाँसिएर बस्ने अभ्यास संस्कृति नै बनेको छ । यही पृष्ठभूमिमा वैद्यले जीवनका विभिन्न चरणमा नैतिकताको आधारमा पद छाडेका छन् ।
२०४३ सालमा असफल विद्रोह प्रयास अर्थात् ‘सेक्टर काण्ड’पछि महासचिव पद त्यागेर पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गरेका थिए । ढिलै भए पनि उनले फेरि एकपटक पद र मान–प्रतिष्ठाभन्दा माथि उठ्ने प्रयास गरेका छन् ।
नेतृत्व नछाड्ने कम्युनिस्ट रोग
नेपालमा कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणभन्दा पनि शक्ति केन्द्रित गर्ने प्रवृत्ति हाबी रहँदै आएको छ। यो अभ्यास नयाँ होइन।
सोभियत संघका स्टालिनदेखि चीनका माओ, भियतनामका होचिमिन्ह, उत्तर कोरियाका किम इल–सुङसम्म पुग्दा नेतृत्व कहिल्यै स्वेच्छाले हस्तान्तरण भएको इतिहास विरलै भेटिन्छ। रोमानियाका निकोलाय चाउचेस्कु त पार्टी र सत्तामा टाँसिएकै कारण जनताको आक्रोशमा मारिए।
नेपालमा पनि त्यही परम्परालाई कम्युनिष्टहरूले निरन्तरता दिएका छन् । मोहनविक्रम सिंह २०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन् । नारायणमान बिजुक्छे पनि चार दशकदेखि नेतृत्वमा छन् । माधवकुमार नेपालले १५ वर्ष महासचिव भएर नयाँ पार्टी खोलेरै भए पनि अध्यक्ष पदमै आसिन छन् ।
केपी शर्मा ओलीले पार्टी विधान नै संशोधन गरी ‘आजीवन अध्यक्ष’ बन्ने बाटो खोलेका छन्। जेनजी आन्दोलनपछि पनि उनले पदमा रहन देखाइरहेको जिद्दी उदेकलाग्दो देखिन्छ ।
माओवादी आन्दोलनका नेता पुष्पकमल दाहाल (प्रचण्ड) झन्डै चार दशकदेखि पार्टी अध्यक्षमा छन् । पार्टी खिइएर एउटा परिवारमा सिमित भइसक्दा पनि नेकपा मालेका महासचिव सिपी मैनाली साढे दुई दशकदेखि निरन्तर नेतृत्वमा छन् ।
यो पृष्ठभूमिमा वैद्यको कदम राजनीतिक संस्कृतिमा अँध्यारोमा जुनकिरी जस्तै बनेको छ । आजीवन पदमा टाँसिने प्रवृत्तिका बीच यो कदमले राजनीतिक नैतिकताको बहस सजिलो बनाएका छन् । भलै, उनको आकार र प्रभावसँगै पदलोलुपताको दलदलमा फसेको नेपाली समाजलाई उनको राजीनामाले कुनै नयाँ तरंग नदिओस् ।
चितामा नपुग्दासम्म वा नगलहत्याएसम्म राजीखुसीले नेतृत्व हस्तान्तरण नगर्ने कम्युनिस्ट अभ्यासमा वैद्य उदाहरण बन्ने प्रयास गरेका छन् । यद्यपि, उनले कार्यकारी पद छाडे पनि राजनीति छोडेका होइनन्।
नवनियुक्त महासचिव गजुरेलका अनुसार, अब वैद्य सल्लाहकारसँगै विशेष समितिमा रहनेछन्। उनले ‘राजनीति पद होइन, एजेन्डा हो’ भन्ने सन्देश दिएका छन् ।
एजेन्डाका सेवक
वैद्यलाई बुझ्न उनका राजनीतिक यात्रालाई नियाल्नुपर्छ। सशस्त्र विद्रोहको तयारी, जेलजीवन, भूमिगत राजनीति, पार्टी विभाजन र पुनर्गठन हुँदै उनले लामो समयसम्म आफ्नो एजेन्डाको सेवा गरिरहे ।
उनले आफ्नो विश्वास अनुरूपको पार्टी बनाए र विचार र विश्वासको झण्डा उठाइरहे। पार्टी सानो भयो, व्यक्तित्व गुमनाम भयो तर उनले पद र प्रतिष्ठाका लागि सम्झौता गरेनन्।
सत्ता प्राप्ति भएन होला, पार्टी शक्तिशाली बनेन होला तर जुन विश्वास र विचारलाई उनले बोके, त्यसका लागि प्रतिप्रवाहमा आफूलाई उभ्याइरहे। उनले पदमा टाँसिएर संगठनलाई आफ्नो ‘आजीवन परियोजना’ बनाउन चाहेनन् ।
यसरी उनी एजेन्डाका सेवक र संरक्षक बनिरहे । उनी क्रान्ति अधूरै रहेको भनिरहे, क्रान्ति पूरा नभएसम्म शान्ति आउँदैन भनिरहे। उनले आफूलाई संसदीय लोकतन्त्रको विरुद्धमा उभ्याए।
वृद्ध र रोगी शरीरले साथ नदिए पनि उनी आफू नथाकेको बताउँछन्। समाजवाद र सामाजिक जीवन रुपान्तरणका लागि शरीर र दिमागले सक्दासम्म राजनीति र साहित्यलाई सँगसँगै लिएर अघि बढ्ने बताइरहे।
वामपन्थी राजनीतिमा वैद्यको योगदानलाई बुझ्दा उनको मूल पहिचान ‘एजेन्डाका सेवक’को रूपमा देखिन्छ। संसदीय राजनीतिमा नजाने निर्णय उनीमात्र होइन, उनको राजनीतिक दर्शनको अडान पनि थियो।
जनयुद्धपछि शान्ति प्रक्रियामा असहमत वैद्यले प्रचण्ड नेतृत्व छाडेर फरक बाटो रोजे। क्रान्तिकारी जनविद्रोहलाई निरन्तरता दिने अभियानको झन्डा उठाइरहे।
उनको पार्टी सानो थियो, प्रभाव सीमित। तर उनी लगातार मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी र सीमान्तकृत वर्गका सवाल बोलिरहे। उनी भन्थे, ‘क्रान्ति अधूरो रह्यो।’
उनको अडान थियो— क्रान्ति पूरा नभएसम्म शान्ति स्थायी हुँदैन। यस अडानलाई पदभन्दा अगाडि राख्नु नै उनको विशेषता हो।
कम्युनिस्ट नेतृत्वप्रति प्रश्न
सेक्टर काण्ड हुँदै वैद्यको पछिल्लो कदमले परम्परागत कम्युनिस्ट नेतृत्व अभ्यासमा प्रश्न उठाएको छ- के सिंगो पार्टी, विचारधारा र आन्दोलन एक व्यक्तिको वरिपरि मात्र घुमिरहनुपर्ने हो ? के नेतृत्व आजीवन हुने अभ्यासलाई कम्युनिस्ट मूल्य मान्न मिल्छ?
कार्ल मार्क्सले जनसत्ता र लोकतान्त्रिक अभ्यासको पक्षमा वकालत गरेका थिए। तर व्यवहारमा कम्युनिस्ट आन्दोलनले मार्क्सकै नाममा शक्ति एक व्यक्तिमा केन्द्रित गर्ने अभ्यास गर्यो।
यही अभ्यासले सोभियत संघदेखि माओवादी आन्दोलनसम्म चिरा-चिरा पर्नु, अविश्वास बढ्नु र जनतासँगको सम्बन्ध कमजोर भएको लुकेको छैन ।
नेपालमा पनि त्यही इतिहास दोहोरिएको छ— नेता परिवर्तन नभएर पार्टी फुटेका धेरै उदाहरण छन्। माओवादी आन्दोलनमा प्रचण्डको नेतृत्वमा असन्तुष्टि नै वैद्यको पार्टी निर्माणको कारण बन्यो। तर समयक्रममा वैद्यको पार्टी पनि विभाजन र कमजोरीबाट अछुतो रहन सकेन।
राजनीतिक नैतिकताको इतिहास
मोहन वैद्यको नैतिकताको कथा २०४३ सालको सेक्टर काण्डदेखि नै शुरु हुन्छ। त्यतिबेला उनले सशस्त्र विद्रोह गर्ने असफल प्रयासको नैतिक जिम्मेवारी लिँदै नेतृत्व छाडेका थिए।
विडम्बना, वैद्यले नैतिक जिम्मेवारी लिई पद हस्तान्तरण गर्दा नेतृत्वमा पुगेका प्रचण्डले करिब चार दशकसम्म पार्टीको मूल नेतृत्व नछाड्ने, पार्टी विभाजनलाई समेत स्वीकारेर अध्यक्ष पदमा बसिरहने अभ्यास गरे।
‘आफूले छोडे सबै भताभुङ्ग हुन्छ’ भन्ने तर्क दिएर नेतृत्वमा टाँसिइरहने प्रचण्डसहितका कम्युनिस्ट नेताको चरित्र पदलोलुपताको मानक बनिरह्यो।
वैद्य भने आफूले छोडे सबै भताभुङ्ग हुने होइन, आन्दोलन थप बलियो बन्न सक्छ भन्ने सन्देश दिइरहेका छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा नैतिकताको प्रश्न सधैं गौण रह्यो। स्टालिनले आफ्ना सहकर्मीलाई अनेक आरोप मात्र लगाउने होइन, हत्या नै गरे। माओले फरक मत राखेकै आधारमा धेरैलाई पार्टीबाट निकाले।
देङ सियाओ पिङ पटक पटक दक्षिणपन्थीको आरोपमा कारबाहीमा परे। नेपालमा मोहनविक्रम सिंहले संस्थापक महासचिव पुष्पलाललाई गद्दार भने। माले/एमाले भित्र यही क्रम चल्यो, माओवादी भित्र पनि यस्तै भयो।
आइतबार वैद्यलाई भेटेका पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य नारायण अधिकारीले भने, ‘मैले किन छोड्नुभयो, कतैबाट दबाब थियो कि भनेर सोधेँ, तर, उहाँले कतैबाट दबाब थिएन, मैले आफ्नो विवेक प्रयोग गरेको हुँ, यो नै उपयुक्त समय हो भन्ने लाग्यो र निर्णय गरेको हुँ ।’
अधिकारीका अनुसार, वैद्यले दैनिक प्रशासनिक काम र दौडधुप गर्न नसके पनि वैचारिक काम र लेखनमा सक्रिय रहने बताएका छन् ।
साहित्य र राजनीति सँगसँगै
वैद्य केवल राजनीतिका रुख्खासुख्खा काममा मात्र अल्झिएनन् । उनी एउटा सौन्दर्य चिन्तक एवं साहित्यकार पनि हुन्।
उनले खण्डकाव्यदेखि निबन्ध, राजनीति र दर्शनसम्बन्धी एक दर्जन पुस्तक लेखेका छन्। साहित्यमा ‘चैतन्य’ उपनामले चिनिने वैद्यको बौद्धिक गहिराइले नै उनको राजनीतिक नैतिकतालाई धार दिएको छ।
उनको लेखन र चिन्तनले देखाएको छ कि साहित्य र राजनीति मानव जीवनका दुई पाटा हुन्, जो आपसमा परस्पर सम्बन्धित छन्। राजनीतिमा ‘किरण’ र साहित्यमा ‘चैतन्य’ भएका वैद्यले वैचारिक आलोक छर्ने प्रयास गरिरहे।
संस्कृतको शिक्षा, साहित्यमा एमए र मार्क्सवादी सौन्दर्य चिन्तनका अध्येता वैद्यको साहित्य र राजनीतिको शैली फरक भए पनि लक्ष्य एउटै रह्यो: सामाजिक रूपान्तरण।
वैद्यको सीमितता र समय
पछिल्ला वर्षहरूमा वैद्यको अधिकांश समय अस्पतालमा बितिरहेको छ। उनी सक्रिय नेतृत्व गर्न नसक्ने अवस्थामा पुगेका थिए। तर पनि विचार र सिद्धान्तप्रति उनको प्रतिबद्धता कमजोर भएन।
वैद्यको राजनीतिक यात्रामा विचारमा स्पष्टता भए पनि संगठन निर्माण अपेक्षित हुन सकेन । पार्टी सानो हुँदै गयो, आन्दोलन जनस्तरसम्म पुग्न सकेन । उनी स्वयंले पनि पछिल्ला अन्तर्वार्तामा स्वीकारेका छन्,’हामीले क्रान्तिकारी शक्तिलाई गोलबद्ध गर्न सकेनौं।’
२०८१ मंसिरमा भएको वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महाधिवेशनले जनविद्रोहको कार्यदिशालाई निरन्तरता दियो । उनको नेतृत्वमा यस्तो विद्रोह हुने कुनै छेकछन्द देखिएन ।
समाजमा असन्तुष्टिको लाभा फुटेर गत भदौ २३ मा नयाँ पुस्ताको नेतृत्वमा देशले विद्रोह भोग्यो । त्यतिबेला उनी अस्पतालको शैय्यामा स्वस्थ जीवनको प्रतिक्षा गरिरहेका थिए ।
उनी भन्थे, ‘शरीर थाक्यो होला, विचार छैन।’ यही कारणले उनले पद छाडे पनि एजेन्डा छाडेका छैनन्। नैतिकताको टर्चलाइट बालिरहेका छन् ।
उनले पदमोहले ग्रस्त वर्तमान कम्युनिस्ट राजनीति फेरि एकपटक चुनौती दिएका छन् ।
उनले सानो शक्ति र स्वरले ठूलो सन्देश प्रवाह गरिरहेका छन्- राजनीति पद होइन, मूल्य हो ।
प्रतिक्रिया 4