
२ कात्तिक, काठमाडौं । वरिष्ठ वामपन्थी नेता मोहन वैद्य किरणले स्वास्थ्यको कारण देखाउँदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महासचिव पद त्यागेका छन् । र पार्टीको नेतृत्व सीपी गजुरेल (गौरव)लाई दिएका छन् ।
गत वर्ष माघ महिनादेखि गजुरेल कार्यवाहक महासचिवको जिम्मेवारीमा थिए । हिजो बसेको केन्द्रीय समिति बैठकले उनलाई महासचिवको पूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो ।
केन्द्रीय समिति बैठकले गरेका निर्णय र पछिल्लो राजनीतिक घटनाक्रमबारे अनलाइनखबरले गजुरेलसँग गरेको कुराकानी–
तपाईं पार्टीको महासचिव बन्नु भएछ, मोहन वैद्यले किन नेतृत्व छाड्नुभयो ?
किरण जी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो । अहिले उहाँको स्वास्थ्यले साथ दिएन । त्यसैले केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको छ ।
पहिले तपाईं कार्यवाहक महासचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो होइन ?
हो । किरणजी अस्वस्थ्य भएपछि गत वर्ष माघदेखि म कार्यवाहक महासचिवको जिम्मेवारीमा थिएँ । अहिले केन्द्रीय कमिटी बैठकले मलाई महासचिवको पूर्ण जिम्मेवारी दिने निर्णय गरेको छ ।
किरण कमरेडले राजनीति नै छाड्नु भएको हो कि पदमात्र ?
उहाँ राजनीतिमै हुनुहुन्छ । पार्टीको कमिटीमा हुनुहन्छ । नेतृत्वमात्र हस्तान्तरण गर्नु भएको हो ।
पार्टीमा उहाँको स्थान कहाँ रहन्छ ?
उहाँ हाम्रो सल्लाहकार र विशेष कमिटीमा हुनुहुन्छ ।
विशेष कमिटी भन्नाले ?
किरण कमरेड, महासचिवसहितको विशेष कमिटी बनाउने भनिएको छ । त्यसमा पार्टीका अरु केही साथीहरू पनि रहनुहुन्छ । ती साथीहरू टुंगिन बाँकी छ ।
केन्द्रीय कमिटी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र अहिलेको चुनावी सरकारबारे केही छलफल वा निर्णय भयो ?
पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सरकारप्रतिको हाम्रो धारणासहित हामीले गरेका निर्णयहरू प्रेस विज्ञप्तिमार्फत जानकारी दिन्छौं ।
त्यत्रो आन्दोलनबाट अन्तरिम सरकार बनेको छ । सरकारबारे विभिन्न टिकाटिप्पणी र बहस भइरहेको छ । तपाईंहरूको पनि त केही धारणा होला नि ?
जेनजी आन्दोलनपछिका घटनाक्रम हेर्दा राज्यको संकट बढेर गएको छ । देश नै नरहने स्थिति छ । त्यसैले राष्ट्रियता रक्षाका लागि देशभक्त, क्रान्तिकारी दल/मोर्चा सबै मिलेर जनपरिचालन र आन्दोलनमा जाने निर्णय गरेका छौं ।
यो सरकारले राष्ट्रियको रक्षा र जनजीविकाको सवालमा कुनै नयाँ कुरा गर्न सक्दैन । अहिलेको सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर अर्को विकल्पमा देशभक्त क्रान्तिकारीहरूको सरकार बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो ।
अहिले वाम एकताको चर्चा भइरहेको छ । त्यसमा तपाईंहरूको पार्टीको धारणा के छ ?
हामीले विभिन्न चारवटा ग्रुपसँग कार्यगत एकता गरेकै छौं । अरु देशभक्त, क्रान्तिकारीहरूसँग कार्यगत एकता, मोर्चाबन्दी गरेर जान्छौं ।
माओवादी केन्द्रले माओवादी घटकसँग एकता गर्ने कुरा गरिरहेको छ । तपाईं के भन्नुहुन्छ ?
माओवादी केन्द्रसँग हाम्रो पार्टी एकता त के कार्यगत एकता पनि हुन सक्दैन । चुनावमा भाग लिएर सरकारमा जानेहरूसँग एकता, मोर्चामा हामी हुँदैनौं । अरुसँग हुन्छ, गरेका पनि छौं ।
फागुन २१ गते चुनाव गर्ने भनिएको छ । त्यसमा भाग लिनुहुन्छ ?
अहिलेको परिस्थिति हेर्दा चुनाव होला जस्तो लाग्दै । त्यसैले केन्द्रीय समिति बैठकबाट हामीले यसबारे कुनै निर्णय गरेनौं । यदि चुनाव हुने स्थिति भएछ भने फेरि बैठक बसेर आवश्यक निर्णय गर्नेछौं ।
प्रतिक्रिया 4