
News Summary
Generated by OK AI. Editorially reviewed.- तिहारमा इजरायलबाट विपिन जोशीको शव नेपाल आइपुगेको छ, जसले कञ्चनपुरको सानो घर र सिंगो देशलाई दुःखी तुल्याएको छ।
- २०६५ देखि २०८१/८२ सम्म वैदेशिक रोजगारीमा १४ हजार ५५४ नेपालीको मृत्यु भएको तथ्यांक छ, जसमा तीन वर्षमा मलेसियामा १ हजार १३ जना छन्।
- सरकारको उदासीनता र म्यानपावर कम्पनीको ठगीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई धेरै जोखिम र शोषण भोग्नुपरेको छ।
तिहारमा इजरायलबाट विपिन जोशीको शव नेपाल आइपुग्यो । उज्यालोको पर्वका बीच काठको बाकसमा आइपुगेको शवले भीमदत्त–३, कञ्चनपुरको सानो एकतले घर–परिवारलाई मात्र अँध्यारो बनाएन्, सिंगो देशलाई दुःखी र आक्रोशित तुल्यायो ।
लक्ष्मीपूजाको साँझ घर आइपुगेको दाजुको चिसो शव जस्तै निःशब्द बनिन् बहिनी पुष्पा । अनेकौं प्रयत्न गरेर आफ्नो प्रिय दाजुको स्वाससहितको शरीरलाई स्वागत गर्न पाइनन् । वर्षौं पर्खाइको पीडादायी समयले आँसु रित्याइसकेका थियो ।
दुई वर्षअघि नै हत्या भएको छोरोको अस्थिपञ्जर छेउमा अर्धचेत बनिन् आमा । महाकाली किनारमा हजारौं नागरिक पुगे विपिनलाई बिदाइ गर्न ।
विपिन जोशीको शोकान्त नेपालको त्यो पुस्ताको प्रतिनिधि कथा हो, जो शासकीय अक्षमताका कारण निर्वासित हुनुपरेको छ ।
१६ असार २०६१ सालमा वैदेशिक रोजगारीको क्रममा रहेका १२ जना नेपालीको इराकमा क्रुरतापूर्वक हत्या भयो । तत्काल नागरिकहरू आक्रोशित भए तर श्रमिक र विदेशमा रहने नेपालीको सुरक्षामा काम गरिएन ।
यस्तो लाग्छ– राज्य रेमिट्यान्स गनेर बसिरहेको छ । युवाका पासपोर्टमा छाप लगाएर पठाइरहेको छ । बाँकी काम गर्ने फुर्सद सरकारलाई कहिल्यै भएन ।
सरकारको लागि नेपाली सन्तानहरू र वियोगमा बाँचिरहेको नेपाली अधिकांश परिवारको कथाको कुनै मूल्य छैन । राज्यको लागि त पैसा पठाउने, भोट हाल्ने र सुखी नेपाली समृद्ध नेपालको नारा लगाउने संख्या मात्रै घटेको हो ।
यसरी नै खाडीको गर्मीमा कैयौंका सपना सुकेका छन् । मलेसियाका कारखानामा केमिकलहरूले धेरैका अंगप्रत्यङ्ग काम नगर्ने बनेका छन् । शरीर ढलेका छन् ।
पुष्पा जस्तै आफ्ना दाजुभाइहरूलाई काठको बाकसमा यसरी स्वागत गर्नु दिनचर्याजस्तै बन्ने गरेको छ नेपालमा हजारौं दिदीबहिनीहरूका लागि । ढोकामा ओखर फोर्न नपाएको र ओखर फोडे पनि दाजुभाइको सुरक्षा हुन छोडेको धेरै भइसकेको छ ।
भिडियो कल गरेर दाजुभाइको सुरक्षाको लागि दैलोमा ओखर फुटाउने अवसर पनि खोसिदिएको थियो सरकारले सामाजिक सञ्जाल बन्द गरेर ।
हुन त विपिन ’लर्न एण्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका थिए तर, खास उद्देश्य कमाउनु नै थियो । बाकसमा थुनिएर फर्किएको विपिनको जस्तै वैदेशिक रोजगारीमा जानेहरुका अनेकौं दुर्दान्त कथा छन् ।
काठका बाकसले भरिएको देश
भूमण्डलीकृत विश्वमा आप्रवासन सामान्य प्रक्रिया हो । तर कस्तो आप्रवासन ? कति सुरक्षित आप्रवासन ? कति सम्मानजनक आप्रवासन ? भन्ने हुन्छ नै ।
अहिले पनि, नागरिक सरकार बनेको एक महिनादेखि श्रम मन्त्रालय नेतृत्वविहीन छ । त्यो देश जहाँ रेमिटेन्स अर्थतन्त्रको मियो बनेको छ, आकर्षक श्रम गन्तव्यहरूले भिसा रोक्न थालेका छन् । राज्य अनुपस्थित हुँदा दलालको स्वार्थअनुसार दशैं–तिहारको मुखमा हजारौं युवा विदेशिइरहेकै छन्।
प्रतिदिन झन्डै ४ जना नेपालीहरू काठको बाकसमा फर्किइरहेका छन् । रेमिटेन्सको ग्राफ उकालो लागिरहँदा नेपाली युवाको मृत्युको ग्राफ पनि बढिरहेको छ । अंगभंग र घाइते हुनेको ग्राफ झन् भयानक छ ।
२०६५ देखि २०८१/८२ सम्मको तथ्यांक केलाउँदा १४ हजार ५५४ नेपालीको वैदेशिक रोजगारी क्रममा मृत्यु भएको छ । तीन वर्षमा मलेसियामा मात्रै १ हजार १३ नेपालीको मृत्यु भएको छ ।
बैंकमा थुप्रिएको १७ खर्ब रेमिटेन्सको मूल्यमा बाकसमा १ हजार २ सय ५५ शव फर्काइएको अवस्था छ । गत आर्थिक वर्ष २०८१÷८२ मा मात्रै १ हजार २५५ नेपालीले वैदेशिक रोजगारी क्रममा ज्यान गुमाए ।
यो वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता प्रदान गरेकाहरूको तथ्यांक मात्रै हो । जसमा श्रम स्वीकृति लिएर गएका र मृत्युपछि शव नेपाल ल्याइएका मात्र समेटिएका छन् । अनौपचारिक रूपमा गएकाहरूको हिसाब गर्ने संयन्त्र राज्यसँगै छैन ।
त्यसैले त, बाँचेकाहरूको दुःख उस्तै छ । सस्तोमा श्रम बेचेको कमाइ चाडपर्वमा घर फर्कंदा दोब्बर महँगो हवाई टिकट काट्नुपर्ने बाध्यता छ । यस्तो लाग्छ– हरेक श्रमिकहरू जो राज्यसत्ताको असक्षमताको मूल्य चुकाउन प्रवासिएका छन्, उनीहरू किस्ता–किस्तामा लुटिइरहेका छन् ।
उदाहरण हेरौं, प्रतिबन्धित कुबेतमा ६० हजारभन्दा बढी नेपाली महिला घरेलु श्रमिकका रूपमा कार्यरत छन् । उनीहरू एक एकका कथा खोतल्नु कुनै वियोगान्त उपन्यास पढ्नुजस्तै छ ।
तर हाम्रा हरेक सरकार भने लोकप्रियताको पछाडि दौडिरह्यो । एकातिर फर्किएर फी भिसा फ्री टिकटको नारा लगाउँछ अर्कोतिर विदेश जान ऋण दिने कुरा गर्छ ।
एक तथ्यांकअनुसार, नेपाल यस्तो देश हो जहाँ ३ करोड जनसंख्यामा ७० लाखभन्दा बढीले वैदेशिक रोजगारीको अनुभव गरिसकेका छन् । अहिले पनि ३० देखि ४० लाख नेपाली वैदेशिक रोजगारीमा छन्।
तर उनीहरूमध्ये अधिकांशले फिलिपिन्स, भारत र कतिपय अवस्थामा बंगलादेशका नागरिकभन्दा पनि कम तलब र सेवा–सुविधामा चित्त बुझाउनु परिरहेको छ ।
३१ लाख नेपाली विदेश जाँदा १८ सय मात्र दक्ष छन् । यो भनेको १०० जनामध्ये एकजना भन्दा नेपाली श्रमिक दक्ष छन् । यो राज्य सञ्चालकहरूको अयोग्यताको प्रमाण हो । बहुसंख्यक श्रमिक अदक्ष हैसियतमा विदेश पुग्नुपर्दा निकै सस्तोमा श्रम बेच्न बाध्य हुन्छन् ।
श्रमिकलाई दिइने तालिममा पनि भ्रष्टाचार हुन्छ । कागजी तालिमले श्रमिकको पीडा थप बढाइरहेको हुन्छ । हजारौं युवा विदेशमा बेच्ने राज्यले सीपयुक्त पाठ्यक्रम पठाउँदैन ।
वैंशालु उमेर र युवा ऊर्जासँग केही रकम साटेर घर फर्कंदा अधिकांश युवाहरूलाई बुढ्यौलीले गाँजिसकेको हुन्छ र शरीर रोगहरूको प्रयोगशाला ।
प्रदेशमा श्रमिक बिरामी पर्दा कमजोर सम्झौताका कारण कम्पनी उपचार गर्नबाट पन्छिन्छ । राज्य मौन बस्छ । श्रमिकको लागि जीवन सधैं हारिरहने जुवा बन्छ । परिवार उजाडिन्छ ।
विभिन्न कारणले जेलमै सडिरहेका हजारौं नेपालीको दुर्दान्त कथा कति छन् कति ।मलेसिया र खाडी मुलुकहरूमा लाखौं संख्यामा रहेका नेपाली कामहरू विभिन्न खालका विभेदको शिकार बनिरहेका छन् ।
उनीहरूले अरु देशका कामदारको तुलनामा निकै कम ल्यालामा काम गर्न बाध्य छन् । यी सबै कमजोर श्रम कूटनीति, अदक्ष जनशक्ति र गन्तव्य मुलुकको विश्व राजनीतिमा नेपालको कमजोर प्रभावकै प्रतिफल हो ।
तर पनि नेपाली नेताहरू विश्व विजेता झैं गरी अहंकार ओकलिरहेका सुनिन्छन् । सर्वज्ञानी जगतपिताको अवतारमा आफूलाई प्रस्तुत गर्न कुनै संकोच मान्दैनन् । नेपालले किन उच्च दक्ष जनशक्ति उत्पादन र निर्यात गर्न सकिरहेको छैन ? नागरिकलाई उच्च तहको सिप, भाषा तथा दक्षता सिकाउने योजना किन छैन ? यो प्रश्नको जवाफ उनीहरूसँग छैन ।
प्रतिफलमा, सम्मानजनक काम र श्रमको उचित प्रतिफलबाट उनीहरू बञ्चित छन् । रेमिटेन्समा आधारित अर्थतन्त्र भएको देशको श्रम कूटनीति अचाक्ली कमजोर छ । म्यानपावर व्यवसायी श्रम गन्तव्य मुलुकको राजदूत भएर पुग्छ कि दलको कुनै कार्यकर्ता । उनीहरूलाई श्रमिकको हित न रुचिको विषय हो न चाहना नै ।
द्विपक्षीय सम्झौता, श्रमिक भर्ना प्रक्रिया तथा उद्धार, स्वदेश फिर्ति र पुनःएकीकरणका विषय कागजमा निर्जीवै रहन्छन् । सबै अधिकार खोसेर निर्वासित युवाको मतदानको अधिकार पनि खोसिएको छ।
हाम्रा नेताहरूले रेमिट्यान्सको तथ्याङ्क देखाएर छाती फुलाउँछन्, तर विपिनजस्ता युवाहरूले विदेशमा भोग्नुपरेको त्रासद जीवनबारे मौन बस्छन् । वैदेशिक रोजगारीको नाममा हुने संस्थागत शोषण, म्यानपावर कम्पनीको ठगी, सरकारी उदासीनता र दूतावासहरूको निष्क्रियताले सिर्जना गरेको निर्मम जालमा कति विपिनहरू हरेक दिन परिरहेका छन्? यसको हिसाब नै छैन।
सुखी नेपाली, समृद्ध नेपालको कार्पेटमुनि के छ ?
नेतातन्त्रका नयाँ ’राजा’ अर्थात् दलपतिहरूले सुखी नेपाली, समृद्ध नेपाल लेखिएको विलासी कार्पेटभित्र लुकाएको अन्याय र असमानताको फेहरिस्त लामो छ ।केही सामान्य उदाहरण याद गरौं ।
अयोग्य तर अहंकारी शासकहरूले देश यस्तो बनाइसकेका छन् कि युवाहरू विपिनको शोकसभा मनाएर इजरायल जान लाइनमा बस्नुपरेको छ । रूसमा मारिएको साथीको शव नपाएर कुशबाट काजक्रिया सकेको भोलिपल्ट ऋण काट्दै अवैध बाटोबाट पाए रूस नपाए युक्रेन उड्नुपरेको छ ।
झन्डै दुई–तीन दशकदेखि युद्धमा बलात्कार पीडितले अझै न्याय त कता हो कता, पीडितको पहिचान पनि पाएका छैनन् ।बलात्कारबाट जन्मेकी एक बालिकाले न्याय कुर्दै प्लस टुसम्म उत्तीर्ण गरिन्।
उनले बाबुको पहिचान खोज्ने पित्तृसत्तात्मक नेपाली समाजबाट पाएको मानसिक र कानुनी यातनाको फेहरिस्त लामो छ । जब पछिल्लो समय सत्ताको खेलमा संक्रमणकालीन न्यायको काम बिथोलियो, उनले आत्महत्या गरिन् ।
युद्धमा बलात्कार पीडित महिलाहरूको रिपोर्टिङको क्रममा मैले केही हृदयविदारक दृश्य देखेको छु ।बलात्कारपीडित कोही सडकमा मानसिक सन्तुलन गुमाएर हिंडेका छन् ।
कोही क्यान्सर बोकेर बाँचेका छन् । युद्धमै बलात्कारबाटै जन्मिएको एक बालकले जब आमाको पीडा थाहा पायो, समाज र साथी भाइले बाबुको नाम सोध्दा जवाफ पाएन।
उसले दौडिएर घरमा आएर आमालाई भन्यो, ‘ममी, म अब विदेश जान्छु र पैसा कमाएर आउँछु ।’
आमाले सोधिन्, ‘तिमीलाई किन चाहियो पढ्ने बेलामा पैसा । मैले पढाएकै छु दुःखसुख गरेर ।’ छोराले भन्यो, ‘विदेश गएर पैसा कमाउँछु, आधा पैसाले तपाईंको उपचार गर्छु र आधा पैसाले बन्दुक किनेर तपाईंलाई अन्याय गर्नेहरूलाई मार्छु ।’
समाजवाद उन्मुख संविधानको निर्जीव पानाहरूले यी नाबालकहरूको मनमा हुर्काइरहेको आक्रोशलाई रोक्न सकेन ।बलात्कार पीडितहरूले नेता परिवारका जीवनशैली, खासगरी युद्धको नेतृत्व गर्ने प्रचण्डका आफन्तहरूको नवधनाढ्य जीवनशैलीसँग आफ्नो जीवन तुलना गरेर आक्रोशको आँसु झारेको मैले धेरैपटक देखे भोगेको छु ।
मेरा एकजना मित्र छन् । बिहे गरेको एक हप्तापछि विदेश उडेँ । डाँडामाथिको घाम बनेका बा–आमा र वैशालु श्रीमतीलाई छाडेर । डेढ दुई वर्षको अन्तरालमा घर आए । उनीहरूबाट जन्मिएको सन्तानले बाबा–ममीले एकले अर्कालाई आशंका, अविश्वास र मायाको अनियन्त्रित उतारचढाव देख्दै हुर्कियो ।
१२ वर्षपछि नेपाल आएर सुरु गरेको व्यवसाय डुब्यो । सरकारी संयन्त्रले एउटा कृषि कम्पनी दर्ता गर्दा दिएको सास्तीले उसलाई थप आक्रोशित बनायो । ऊ नेताहरूलाई गाली गर्दै गर्दै फेरि विदेश उडेको छ ।
अर्को एउटा घटना, श्रीमान विदेश गएको बेला सन्तान जन्मियो । उनले बच्चा मारिन् र जेल पुगिन् । एकजना सञ्चारकर्मीसँग उनले दिएको जवाफ म सधैं सम्झन्छु, ‘घरमा जवान श्रीमती छिन् भनेर मेरा श्रीमान बेलाबेलामा घर आएको भए म आज जेलमा हुने थिइनँ ।’
अक्षम राज्यसत्ताले प्रवासिन बाध्य नेपाली छोराछोरी दलालबाट बेचिएको, लुटिएको, हेपिएको कथा कति छन् कति । शव बनेर कफिनमा देश फर्कने नेपाली छोरा–छोरीहरू कथा त कति छन् कति ।
अझै पनि विद्रोह कुल्चँदै नेतृत्व
नागरिकको सामान्य इच्छाहरूलाई कुल्चिएर केवल गुटगत स्वार्थमा लिप्त रहने दलतन्त्रको क्रूर खेलको अन्तिम परिणाम हो विपिनहरूको नियति । यस्तो दलतन्त्र जहाँ दलका सदस्य बाहेक अरूलाई बाँच्न मुस्किल छ । दलतन्त्रको सिन्डिकेटले लाखौं युवाको अवसर लुटिएको छ ।
अझै पनि पहिलो पुस्ताका नेताहरू गल्ती स्वीकार्नै तयार छैनन् । गल्ती स्वीकार नै नगरी कसरी सच्चिने यात्रा सुरु हुन्छ ? दोस्रो पुस्ता पहिलो पुस्ता जोगाउने रफुकारको भूमिकामा छन् ।
यस्तो लाग्छ, देशमा अझ भयानक संक्रमण सुरु भएको छ । सम्हाल्नेभन्दा बिगार्ने दिशामा छन् जिम्मेवार भनिएका दल र नेताहरू । दलतन्त्र सिध्याउन विद्रोह भएको छ तर दलपतिहरू आफू सिद्धिनु दलै सिद्धिनु हो भनिरहेका छन् ।
राज्यलाई कर तिर्न पनि लाइन बस्नुपर्ने, घुस खुवाउनुपर्ने बनाइएको छ देशलाई । सूचना प्रविधिमा पहुँचले संसारभरको सुशासन र समृद्धि देखेको नयाँ पुस्ताले कम्पनी रजिस्ट्रार कार्यालयमा बिहान बेलुका दालभात खाए जस्तै घुस खुवाउनुपर्ने समाचार कति पढ्ने ? हरेक शीर्ष नेता र उनीहरू संरक्षित भ्रष्टाचारका ठूला ठूला एकपछि अर्को प्रकरणको समाचार कति पढ्ने ?
६ महिनाअघि पिच गरेको तर खाल्डाखुल्डी बनिसकेको सडकमा हिलो छ्याप्दै कति दौडने ? घरजग्गा धरौटी राखेर कति सन्तान विदेश पठाउने ?दलभित्रका मुट्ठीभर नेताहरूले सबै कब्जा गरेर नागरिकको जीवन तहसनहस बनाइरहेका छन् । राज्यको अति दलीयकरण भइरहेको छ । नागरिकको नागरिकता नै बदलेर भुटानी शरणार्थी बनाएर बेच्ने र पैसा कमाउने धन्दा राजनीतिक नेतृत्वकै संलग्नता देखियो ।
राज्य, अदालत, संवैधानिक निकाय हुँदै खोलानालासम्म सबै सीमित दलालहरूको कब्जामा देखिन्छ । एउटा सीमित समूह बाहेक बाँकीका लागि केही बाँकी रहेन यो देश ।
तर पनि, काण्डै काण्डको पहाडमाथि उभिएर दलपतिहरू कुर्लन्छन्– म भ्रष्टाचार गर्दिनँ । हुन पनि दिन्नँ ।
अब बिस्तारै दलतन्त्रको अमानवीय चरित्र उदाङ्गो भइरहेको छ । नागरिकहरू विद्रोह बोल्न थालेका छन् । यसो भनौं, हरेक नागरिकले आफ्नो शक्ति बुझ्न थालेका छन् र सेवक बन्नुपर्नेमा शासक बनिरहेका नेताहरूलाई आफ्नो औकात देखाउन शक्ति प्रदर्शन गर्न थालेका छन् ।
युवालाई निर्वासित गरेर विपिनको जस्तो कारूणिक अन्त्यहरू जन्माइरहने कारखाना कहिलेसम्म चलाइरहने ? युवालाई देशभित्रै रोजगारी र सम्मानित जीवनको सुनिश्चितता कहिले हुन्छ ? अब नागरिकले यी प्रश्नको जवाफ खोज्नेछन् ।
रक्तपातपूर्ण विद्रोहबाट जन्मिएका माओवादीभित्र हुर्किएको नोकरचाकरहरूको गिरोहले विद्रोह सिकेका नागरिकमा थप असन्तोष र आक्रोश बढाइरहेको छ ।आफ्नी श्रीमतीलाई जन्मदिनको शुभकामना नदिने नेताहरू आफूभन्दा कान्छी नेताकी छोरीलाई ‘दिदी’ भन्दै फेसबुकमा जन्मदिनको बधाइ दिइरहेको पोस्ट सचेत नेपालीहरूले पढिरहेकै छ ।
खुसीराम पाख्रिन र सहिदहरू अलपत्र परिरहेको बेला नेताका कालगति र दुव्र्यसनबाट मरेका नेताका श्रीमती र सन्तानको प्रतिष्ठानहरूका कार्यक्रममा लामबद्ध दोस्रो–तेस्रो पुस्ताको लज्जास्पद दृश्य नेपाली समाजले हेरिरहेकै छ ।
तर पनि सच्चिने संकेत छैन । यति ठूलो क्षतिपछि पनि नबदलिने समाजको अधोपतनको यात्रा कसैले पनि रोक्न सक्दैन ।
बलात्कारको घाउ मात्र होइन, उपचार नपाएर यौनाङ्गबाट बगिरहेको सेतो पानी समेत लुकाएर ओलीको ‘सुखी नेपाल, समृद्ध नेपाल’ र प्रचण्डको समाजवाद ल्याउने सपनाको साक्षी कति दिन यो समाज बन्न सक्ला र ?
प्रधानमन्त्रीको बेड रूमसम्म पहुँच भएका सीमित विचौलियाहरूको नेपाली शासनसत्तामा बढिरहेको दबदबा आजको सचेत पुस्ताले किन बेवास्ता गर्न सक्थ्यो र ? कर्मचारीतन्त्रमा मौलाएको भ्रष्टाचार र सेवाग्राहीप्रति उनीहरूको रवाफ र प्रशासनिक प्रक्रियाका एम्बुसमा पटकपटक परेका नागरिकले सरकारी कार्यालयलाई सधैं मन्दिर मानेर किन पूजा गरिरहन्थे र ?
आधुनिक युगमा मुना–मदनको भन्दा घोर वियोगको जीवन बाँचिरहेको अधिकांश नेपाली परिवारले मनमा दबाएर राखेको आक्रोश हाम्रा शासकहरूले कहिल्यै बुझेनन् । उनीहरू रेमिटेन्स गनेर बसिरहे । त्यसबाट विलासी जीवन बाँचिरहे तर, त्यही रेमिटेन्स प्राप्त गर्न नेपाली समाजले चुक्ता गरिरहेको मूल्यको हिसाबकिताब गर्ने फुर्सद उनीहरूलाई कहिल्यै भएन ।
कुनै पूर्वप्रधानमन्त्रीले नाति खेलाएको तस्वीर राख्दा पाएको गाली देखेर मलाई प्रश्न जाग्थ्यो, ‘त्यो नाबालकको के देश ? किन गाली गर्छन् ?’मैले धेरै मानिससँग यसबारे कुरा गरें । उनीहरूको मानसिकता बुझ्ने प्रयास गरें । नेताका परिवारका सदस्यले पाउने ‘प्रिभिलेज’लाई र आफूले भोगिरहेको वियोगसँग उनीहरूले तुलना गर्दा रहेछन् ।
उनीहरू सके बदलिए हुने नसके बदल्नेलाई बाटो छोडे हुने । अन्यथा, अर्को विद्रोहको राँकोमा उनीहरूलाई अपमानजनक ढंगले समयले बढार्नेछ । त्यसको क्षति उनीहरूले मात्रै होइन, सन्तान दरसन्तान र माटोले पनि चुक्ता गर्नुपर्नेछ ।
बदलिंदो दृश्य
युवाले बुझ्दैछन्, नागरिकको यही कमजोर ‘सिभिक सेन्स’मा टेकेर शासकहरूले शासन गर्ने हो ।तर, समय सधैं एकनास रहँदैन । दोस्रो र तेस्रो पुस्ताको यही नालायकीलाई चुनौती दिंदै चौथो पुस्ताले विद्रोहको नेतृत्व गरेको छ ।
सत्ताका जुवाडेहरू अझै गुटतन्त्रको कौडा हान्ने र संकटग्रस्त सर्वसाधारणको भागमा त्यही रमिता हेर्दै, ताली बजाउने समय सकिने संकेत देखिएको छ ।हाम्रा औसत राजनीतिक नेतृत्वबाट अब दूरदर्शिता र विवेकको अपेक्षा गर्न छोडिएको छ ।
अब एकजना व्यक्तिको अहंकारका अगाडि हजारौं/लाखौं नेता कार्यकर्ता भेडाबाख्राको हैसियतमा सीमित हुनेक्रम रोकिनुपर्छ । कम्युनिष्ट नेता कार्यकर्तामा यो हदसम्मको विद्रोह चेतको स्खलन अब पनि कसरी सम्भव हुनुहँदैन । नसच्चिने सक्किनुपर्छ, सक्किन्छ नै ।
जे भइरहेका छन्, यी सबै सत्ता र शक्तिको अहंकारले सृजना गर्ने दुष्कर्म बाहेक केही थिएनन् । अब चलिरहनु हुँदैन, हजारौंको जीवन उजाडेर रंगीन जीवन बाँच्ने उपक्रम ।
विपिनको शवयात्रा हेरिरहँदा अनेकौं प्रश्नहरूले चिमोटिरहे । युवाको रगत र पसिनाबाट भित्रिएको रेमिट्यान्समाथि रमिता मच्चाउँदै देशलाई भ्रष्टाचारका काण्डहरूले निसासिने गरी थिच्ने हाम्रा शासकहरूको अन्त्य कस्तो होला ?
जे होस्, सत्ताका शीर्ष तीन जुवाडेले त सत्ताको मस्ती लुटेकै थिए तर अब यही जुवा हेर्ने कुलतमा लट्ठिएका नालायक दोस्रो पुस्ता पहिलो पुस्तासँगै अपमानजनक बहिर्गमनमा पर्ने सम्भावना बलियो भएको छ ।
दास मानसिकताबाट विद्रोहको मूल्य बुझ्न सकिंदैन । विद्रोह खेलाँची होइन, तर हिजो जस्तै आज पनि यसलाई मजाक बनाइरहेका छन् । दलभित्रका दोस्रो र तेस्रो पुस्ता विद्रोह गर्न सक्छ न गर्नेहरूले स्थापित गर्न खोजेको नयाँ मूल्यलाई आत्मसाथ गर्न नै ।
अन्यायलाई समाजको गर्भमा थिचेर कसैले पनि लामो समय संसारलाई भ्रममा राख्न सक्दैन । त्यस्तो समाजले भोग्ने यही हो । यो नियति बदल्ने पनि यही समाजले हो ।
जेनजी विद्रोह सम्झौं र कल्पना गरौं, शवका बाकसमा फर्किएका युवाका सन्तान हुर्केर प्रश्न गर्न सक्ने भएपछि यी भ्रष्ट शासकहरूको अवस्था कस्तो बन्ला ? के उनीहरू आगजनी र कुटपिट गरेर मात्रै फर्केलान् ?
लुई सोह्रौंले पनि सच्चिनका लागि पक्कै पटकपटक अवसर पाएका थिए होलान् । समयलाई चिनेमात्र समयले चिन्नेछ ।
विपिन र विपिनहरूलाई श्रध्दाञ्जलि !
प्रतिक्रिया 4