+
+
Shares

एमालेमा शक्ति संघर्ष : को बन्ला महासचिव ?

एमालेको मंसिरमा हुने महाधिवेशनमा अध्यक्षपछिको महत्त्वपूर्ण मानिने महासचिव पदमा आउनका लागि नेताहरूबीच आन्तरिक चर्चा सुरु भएको छ । केपी ओली र ईश्वर पोखरेल अध्यक्षमा प्रतिस्पर्धा गरेको अवस्थामा दुवैले कसलाई महासचिवमा अघि सार्छन् त्यसले एमालेको शक्ति सन्तुलन निर्धारण हुने अवस्था छ ।

सइन्द्र राई सइन्द्र राई
२०८२ मंसिर २ गते २१:३६

२ मंसिर, काठमाडौं । नेकपा एमालेको मंसिर अन्तिम साता हुने एघारौं महाधिवेशनमा नेतृत्व चयन चुनावी प्रतिस्पर्धाबाट हुने लगभग निश्चित भएको छ ।

चारपटक प्रधानमन्त्री बनिसकेका केपी ओलीलाई तेस्रोपटक अध्यक्षमा रोक्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदानमा उत्रिने निश्चित छ । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएकी छन् ।

ओलीसँग आफैं भिड्ने मनसायमा रहेकी भण्डारीको पार्टी सदस्यता नै नवीकरण नगरिएपछि उनले पोखरेललाई साथ दिने निर्णय लिएकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारी बाहेक उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेहरूको समेत साथ पाएका पोखरेलले वक्तव्य जारी गरेरै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने सन्देश दिएका छन् ।

२८ कात्तिकमा वक्तव्य जारी गरी पाखरेलले जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा पार्टीका निष्कर्षहरू सच्याउनुपर्ने देखि निर्भयका साथ प्रतिनिधि चयन गर्न समेत अपिल गरेका छन् ।

‘जबजको संगठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयकासाथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरुलाई म अपिल गर्दछु,’ पोखरेलले लेखेका छन् ।

जेनजी आन्दोलनको भावनालाई सम्बोधन गर्नुपर्ने सन्दर्भसहित दोस्रो विधान महाधिवेशनको निष्कर्ष सच्याउनुपर्ने तर्क गरेर पोखरेलले ओलीलाई चुनौती दिएको बुझ्‌न सकिन्छ ।

‘राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद् जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन्, (रहेनन्‌) । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्दैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ,’ पोखरेलले लेखेका छन् ।

जेनजी आन्दोलनपछि परिस्थिति र निष्कर्ष बदलिएको तर्कमा मात्र सीमित नरही पोखरेलले आफ्‌नो राजनीतिक योगदान पनि सम्झिएका छन् । अर्थात् बदलिएको परिस्थितिमा नेतृत्व लिन आफू योग्य रहेको पोखरेलले सन्देश दिएका छन् ।

हुनत यो वक्तव्य आउनुअघि नै एमाले वृत्तमा ईश्वर पोखरेल नेतृत्वको दौडमा निस्कनेबारे छलफल चलिरहेकै थियो । ‘पार्टीको नेतृत्व लिने तयारी अन्तर्गत नै उहाँले त्यो वक्तव्य जारी गर्नुभएको हो,’ एक पदाधिकारी भन्छन्, ‘सर्वसम्मत हुन्छ अथवा चुनावी प्रतिस्पर्धामै उत्रनु पर्ने हो, त्यो भने आउने सचिवालय बैठकपछि थाहा हुन्छ ।’ उनका अनुसार अब बस्ने सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूलाई सर्वसम्मत अध्यक्ष बनाउन प्रस्ताव राख्नेछन् ।

‘ईश्वर पोखरेलले राख्ने प्रस्तावमा सर्वसम्मति जुट्यो भने फरक ढंगले कोर्स अगाडि बढ्छ,’ उनी भन्छन्, ‘यदि प्रतिनिधिहरूको विवेकबाट नेतृत्व चुनौ भन्ने भयो भने त्यसैअनुसार तयारी हुन्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलकै जस्तो तयारी अध्यक्ष ओलीले पनि गरिरहेका छन् । जेनजी आन्दोलनपछि उपत्यका बाहिर जान रोक लगाइएकाले ओलीले गुन्डुमै बसेर नेतृत्व नछोड्नेगरी गतिविधि गरिरहेका छन् । ओलीका तर्फबाट उनी निकट नेताहरूले दौडधुप गरिरहेका छन् भने आफैंले पनि गुन्डु बोलाएर नेताहरूसँग छलफल गरिरहेका छन् ।

टीम निर्माणको गृहकार्य

नेताहरूका अनुसार परिस्थितिमा कुनै बदलाव नआए ओली भर्सेस पोखरेलबीच हुने प्रतिस्पर्धामा कुन नेता कता उभिन्छन् भन्ने अहिलेको मुख्य चासो छ । त्यसमा पनि महासचिव को हुने भन्नेमा एमालेको शक्ति–संघर्ष अल्झिएको छ ।

‘पछिल्ला पार्टीका बैठकहरूको दृष्य र सार्वजनिक अभिव्यक्तिका आधारमा कुन पदाधिकारी कता उभिन्छन् भन्ने लगभग तय भइसकेको छ,’ एक पदाधिकारी भन्छन्, ‘तर अबको महाधिवेशनबाट को महासचिव हुने भन्नेले धेरै कुरा प्रष्ट हुन्छ ।’

आफू अनुकूल पार्टी विधान संशोधन गरिसकेका ओलीकै महासचिव पनि को बन्छन् भन्ने निश्चित नभएको नेताहरू बताउँछन् । हालका महासचिव शंकर पोखरेल आफैं दोहोरिन खोजेका छन् । उनले ओली सबै अप्ठेराहरूमा साथ दिएका छन् । ओलीको राजनीतिक लाइन र निर्णयहरूको स्वामित्व उनले पनि लिने गरेका छन् ।

दशौं महाधिवेशनपछि ओलीकै नाम लिएर शंकरले गतिविधि गरिरहेका छन् । ‘नेतृत्वको निर्णय’ भन्दै ओलीको प्रिय बन्न आन्तरिक चुनावहरूमा व्यक्ति तोक्ने निर्णयले अन्तरसंघर्ष भने झनै बढाएको छ ।

अनेरास्ववियुको नेतृत्व चयन विवाद त्यसको बलियो उदाहरण हो । ओली अनुकूल नेतृत्व निर्माण गर्न भनेर डा.सुजन कडरियालाई अध्यक्ष बनाउने निर्णयले अनेरास्ववियु एकपछि अर्को संकटबाट गुज्रिँदैछ । अरू जनसंगठन र जिल्ला तहसम्म पनि उनले समूहबन्दी आरोप छ ।

तर यति गर्दा पनि ओलीले शंकरलाई महासचिवमै दोहोर्‍याउने निश्चित नगरेको नेताहरू बताउँछन् । ‘पृथ्वीसुब्बा गुरूङले महासचिव छोड्दिन भन्नुभएको छ । महासचिव बन्ने प्रस्ताव केपी ओलीसँगै राखेको बुझिन्छ,’ स्रोत भन्छ ।

विगतमा संगठन विभागको नेतृत्व गरेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङको पनि एमालेभित्र बलियो पकड छ । ‘केपी ओलीपछि एमालेभित्र बलियो समर्थन पीएस (पृथ्वीसुब्बा) ले नै राख्छन् भन्नेछ । त्यसैले पीएसलाई बेवास्ता गर्ने अवस्थामा केपी ओली हुनुहुन्न,’ स्रोत भन्छ ।

यस्तो तथ्य बुझेका ओलीले पनि पीएसलाई टाढा जान दिएका छैनन् । आफू प्रधानमन्त्री हुँदा पीएसलाई सरकारको प्रवक्तासहित सञ्चारमन्त्री बनाएका थिए । अहिले गुन्डुमै बोलाएर ओलीले निरन्तर छलफल गरिरहेका छन् ।

तर पृथ्वीसुब्बालाई महासचिव मानेर अरू पदमा बस्न शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली तयार छैनन् । ओली निकट एक नेता, शंकर पोखरेल महासचिवमै दोहोरिँदा प्रदीप ज्ञवाली र विष्णु रिमालले सहमति जनाउने दाबी गर्छन् । ‘पृथ्वीसुब्बा गुरुङले के गर्छन् थाहा छैन । तर शंकर पोखरेललाई महासचिव मानेर उपमहासचिव दोहोरिन प्रदीप ज्ञवाली र विष्णु रिमाल तयार हुनुहुन्छ जस्तो लाग्छ,’ उनी भन्छन् ।

उनको तर्क जस्तै विष्णु रिमालले महासचिवमा दावी नगर्नेमा लगभग एमाले पंक्तिभित्र असहमति देखिँदैन । तर पृथ्वीसुब्बा गुरूङले शंकर पोखरेल अथवा प्रदीप ज्ञवालीलाई मानेर जाने अवस्था नरहेको उनी निकट नेताहरू बताउँछन् । यसरी शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली मध्ये को महासचिव बन्छन् भन्ने अन्योलले ओलीतर्फकै अरू पदाधिकारी पनि अनिर्णित छन् ।

ओली टीमसँग प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका नेताहरू पनि महासचिव कसलाई बनाउने भन्नेमै अल्झिएका छन् । ‘ईश्वर पोखरेल अध्यक्षको उम्मेदवार बन्ने तयारी धेरै अगाडि बढिसक्यो । बाँकी टीम निर्माणको गृहकार्य चलिरहेकै छ,’ अर्का एक पदाधिकारी भन्छन् ।

उनका अनुसार महासचिवका रूपमा कसलाई अगाडि बढाउने भन्ने टुंगिन बाँकी छ । ‘ईश्वर पोखरेललाई अध्यक्ष बनाउने निर्णयमा हामी बहुमत पदाधिकारी छौं । त्यसैले महासचिव बन्ने नेताको कमी छैन,’ उनी भन्छन् ।

उनका अनुसार सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेशकुमार भट्टराई महासचिव पदका स्वाभाविक दावेदार हुन् । ईश्वर पोखरेललाई अध्यक्ष मानिसकेपछि सिनियर नेताका हिसाबले पाण्डे महासचिव पदका दावेदार हुन्‌ । यद्यपि सहमतिमा जुनसुकै पदमा बस्न आफू तयार रहेको उनले बताउने गरेका छन् ।

दोहोरिएर सचिवको कार्यकाल पूरा गर्दै गरेका गोकर्ण विष्ट र योगेश भट्टराई पनि महासचिव पदको स्वाभाविक उम्मेदवार हुन् । स्रोतका अनुसार विष्ट र भट्टराई पनि ईश्वर पोखरेलको पक्षमा माहोल बनाउन आवश्यक परे अरू पदमा बस्न तयार छन् । ‘सचिव तेहेरिने कुरा हुन्न । बाँकी पदमा सल्लाह गर्न सकिन्छ भनेर उहाँहरूले भन्दै आउनु भएको छ,’ स्रोत भन्छ ।

यसरी महासचिव पदका स्वाभाविक दावेदार मानिएका नेताहरू नै लचक हुन तयार हुँदा पनि यो पक्षले निर्णय लिन नसक्नुमा भने पृथ्वीसुब्बा गुरुङलाई तान्ने नीति हो । त्यसका निम्ति गुरुङसँग छलफल चलिरहेको नेताहरू बताउँछन् ।

‘केपी ओलीले पृथ्वीसुब्बा गुरुङलाई दिने भनेको उपाध्यक्ष हो । महासचिव त शंकर पोखरेल वा प्रदीप ज्ञवालीलाई नै बनाउँछन्,’ ईश्वरको पक्षमा वकालत गर्दै आएका एक नेता भन्छन्, ‘पृथ्वीसुब्बा गुरुङलाई हामी महासचिव बनाएर जाने पक्षमा छौं ।’

अर्थात् दुवै पक्षले महासचिवको उम्मेदवार टुंग्याउन नसक्दा बाँकी समीकरणबारे छलफल अगाडि बढ्न सकेको छैन । जबकी पदाधिकारी संख्या घटाएर १५ जनामा झार्ने र स्थायी कमिटीको छुट्टै संरचना नराख्नेगरी संशोधित पार्टी विधानका कारणले पदाधिकारीमा दाबी गर्ने नेताहरूको संख्या ठूलो छ ।

हालका १८ जना पदाधिकारी र अरू २३ जना स्थायी कमिटी सदस्यलाई समेट्न सजिलो नरहेकाले पनि एमालेको यो महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्मतिमा हुने सम्भावना कमजोर छ ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?