+
+
Shares

किन कार्यकर्तालाई सत्तासँग भिड्न उक्साउँदैछन् ओली ?

यो फोर्सलाई एमाले नेताहरुले संविधान, व्यवस्था र नागरिक बचाउने शक्ति भनेर परिभाषित गरिरहेका छन् । तर चारपटक प्रधानमन्त्री बनिसकेका ओलीले नेतृत्व गरेको पार्टीबाट समानान्तर सत्ताको आभास दिलाउने काममा अग्रसर हुन नहुने मत एमालेभित्रै छ ।

सइन्द्र राई सइन्द्र राई
२०८२ कात्तिक २६ गते ८:०७

२६ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि गुन्डुको अस्थायी निवासबाटै नेकपा एमाले हाँकिरहेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय युवाहरुलाई सडक विद्रोहमा उत्रन निरन्तर प्रेरित गरिरहेका छन् ।

आइतबार बसेको राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले ‘बाघले जसरी’ आफ्नो स्वतन्त्रताको उपयोग गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । ‘युवाहरुले डरलाई मनबाट फ्याँकिदिनुस् । काँतर भयो भने देशको अस्तित्व पनि जान्छ,’ ओलीको निर्देशन थियो ।

पार्टीका युवा नेताहरुको तालीले उत्साहित ओलीले स्थानीय प्रशासनको आदेश अवज्ञा गर्न पनि तयार रहन निर्देशन दिएका छन् । ‘प्रशासनलाई जानकारी दिनुस् । लुकेर गर्नुपर्ने छैन । हामीले यसरी गर्दैर्छौं स्वीकृति दिनुहोस् भन्नुहोस्,’ ओलीको निर्देशन थियो, ‘स्वीकृत दिनुहुन्न भने स्वीकृति चाहिन्न सडकमा उत्रनुस् । संविधान भन्दा सिडिओको आदेश माथि हुँदैन ।’

गत २४ असोजमा राष्ट्रिय युवा संघले तय गरेको मोटरसाइकल र्‍याली काठमाडौं प्रशासनले रोक लगाएको थियो । एमाले नेताहरुले स्थानीय प्रशासनको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

तर ओलीले युवाहरुलाई दिँदै आएको निर्देशन उक्त घटनामा मात्र सीमित छैन । देशभर एमाले युवाहरुको सुरक्षा दस्ता बन्ने र त्यसमा खटिने पंक्तिलाई प्रेरित गर्नेगरी ओलीले बोलिरहेका छन् ।

‘टोलटोलमा सुरक्षा समिति बनाउनुस्, आफैँआफैँ । एमालेले अगुवाइ गर्छ । हिंसा फैलाउन होइन, अशान्ति फैलाउन होइन । तर कसैले हिंसा फैलाउन खोज्यो भने हुँदैन भन्नुपर्छ,’ ओलीले भन्ने गरेका छन् ।

त्यस्तो सुरक्षा दस्ता स्व:चालित हुने पनि ओलीको सार्वजनिक सन्देश छ । ‘टोल सुरक्षा समितिको आफ्नै नेता हुन्छ, उसैबाट परिचालित हुन्छ । अरु कमिटी समितिको कुरा हुँदैन । पछि पार्टीलाई रिपोर्टिङ हुन्छ,’ उनले भन्ने गरेका छन् ।

उनको यो निर्देशनपछि युवा संघले वडादेखि प्रदेशसम्म युथफोर्स गठन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभा गृहमा सोमबार आयोजित ‘घर फर्क अभियान’ सभालाई सम्बोधन गर्दा पनि सुरक्षा दस्ताबारे ओलीले बोले । ‘जनताको सुरक्षा जनताले गर्नुपर्छ, भनेर टोलटोलमा सुरक्षा समिति बनाउन हामी चुक्यौं, त्यो हाम्रो गल्ती भयो,’ ओलीले २४ भदौको विध्वंश लक्षित टिप्पणी गरे ।

नेताहरुका अनुसार ओलीले भन्दै आएको सुरक्षा दस्ता निर्माण ‘युथ भोलियन्टर फोर्स’को ब्यानरमा हुनेछ । उक्त फोर्स निर्माण गर्न गत १६ कात्तिकमा गुन्डुबाटै महेश बस्नेतको संयोजकत्वमा कार्यदल घोषणा छ ।

यो कार्यदलले युथ भोलियन्टर फोर्सको नेतृत्व निर्माण सहितका काम गरिरहेको छ । स्रोतका अनुसार राष्ट्रिय युवा संघका पूर्वउपाध्यक्ष पुष्प श्रेष्ठको संयोजकत्वमा आगामी ५ मंसिरमा फोर्सको घोषणा गर्ने तयारी भइरहेको छ ।

देशमा कानुनी शासन नरहेकैले एमालेका युवाहरुले नागरिकको सुरक्षा गर्नुपर्ने तर्क ओलीले गरिरहेका छन् ।

जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले एमालेमा युथ भोलियन्टर फोर्स छुट्टै जनसंगठनका रुपमा रहने जानकारी दिएका छन् । यसबारे ओलीले सचिवालय बैठकलाई पनि जानकारी दिएका थिए । गत १५ कात्तिकको सचिवालय बैठकमा ओलीले देश जोगाउन स्वयंसेवक संगठन आवश्यक रहेको तर्क सहित छुट्टै दस्ता निर्माणको प्रस्ताव राखेका थिए ।

‘जनसंगठनहरुको चुनावमा पराजित भएकाहरुलाई भूमिका दिन पनि केही गर्नुपर्ने छ । त्यसो हुँदा स्वयंसेवक दस्ता बनाएर जाऔं भन्ने कुरा बैठकमा राख्नुभएको थियो,’ एक पदाधिकारीले भने । उनका अनुसार अवधारणामा प्रष्ट भएर मात्रै दस्ता निर्माण गर्नुपर्छ भन्ने केही नेताहरुले तर्क गरेका थिए ।

तर सचिवालय बैठकको भोलिपल्टै ओलीले गुन्डुबाट ‘युथ भोलियन्टर फोर्स’ घोषणा गरे । फोर्सको घोषणापछि ओलीले पार्टीका युवाहरुलाई देशमा समानान्तर सत्ताकै अभ्यास गर्ने जस्तो निर्देशन दिइरहेका छन् ।

‘ल एण्ड अर्डर हातमा लिनु खोजेको पनि भन्न सक्छ,’ युवा संघकै बैठकमा पनि ओलीले भने, ‘देशमा ल एण्ड अर्डर छ ?  शान्ति सुव्यवस्था छ ? देशमा न्याय छ ? मेरो घर जल्यो, प्रहरीले उजुरी दर्ता गर्दैन । दर्ता नगर्न आदेश छ ।’

अर्थात् देशमा कानुनी शासन नरहेकैले एमालेका युवाहरुले नागरिकको सुरक्षा गर्नुपर्ने तर्क ओलीले गरिरहेका छन् ।

ओलीका अनुसार सुरक्षाकर्मी, ब्यावसायी, सञ्चारकर्मी, आम नागरिकलाई वर्तमान सरकारले सुरक्षा र न्याय दिन सकिरहेका छैनन्, त्यसैले एमालेले सुरक्षा दस्ता बनाउनु परेको हो ।

‘यस कार्यक्रमबाट सिंगै देशलाई भन्छु– अब कोही पनि नडराउनुस् । एमालेले आफ्नो सम्पूर्ण शक्ति सम्पूर्ण क्षेत्रमा परिचालन गर्छ,’ युवा संघकै कार्यक्रमबाट ओलीले भनेका थिए ।

जेनजी आन्दोलनपछि देशकै मनोविज्ञान उठाउन एमालेले सुरक्षा दस्ता निर्माण गर्नुपरेको ओलीले तर्क गरेपनि तथ्य भने भिन्न देखिन्छ । ओली र एमाले नेताहरुले नागरिकको सुरक्षा गर्ने भनेको फोर्स अहिलेसम्म गुन्डुमा मात्रै देखिएको छ । र, उनीहरुको मुख्य दायित्व ओलीको सुरक्षा देखिन्छ ।

‘५ गतेपछि देशभर फैलिन्छ होला । तर अहिले हामी पार्टी अध्यक्षको सुरक्षामा खटिएका छौं,’ युवा संघका एक पूर्वपदाधिकारीले भने, ‘नेतृत्वको सुरक्षामा खटिएका हाम्रो दस्ता नै युथ भोलियन्टर हो ।’

जेनजी आन्दोलनका क्रममा बालकोटस्थित घर जलेपछि गुन्डुमा डेरा लिएका ओलीको सुरक्षामा युवाहरु खटिन थालेको भने अन्तरिम सरकारले मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि हो ।

गत २३ असोजमा सरकारले ओलीका लागि खटिएका २७ जना सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो । सरकारले ओलीको मात्र नभएर प्रचण्ड र माधव नेपालको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी पनि फिर्ता गरेको छ ।

सरकारको निर्णयपछि महेश बस्नेतको नेतृत्वमा भूपू सैनिक तथा प्रहरी संगठन र राष्ट्रिय युवा संघका कार्यकर्ताले ओलीको सुरक्षा दिन थाल्यो । तिनै युवाहरू समेटेर छुट्टै फोर्स बनाउने निर्णय एमालेले गरेको छ ।

र, यो फोर्सलाई एमाले नेताहरुले संविधान, व्यवस्था र नागरिक बचाउने शक्ति भनेर परिभाषित गरिरहेका छन् । तर चारपटक प्रधानमन्त्री बनिसकेका ओलीले नेतृत्व गरेको पार्टीबाट समानान्तर सत्ताको आभास दिलाउने काममा अग्रसर हुन नहुने मत एमालेभित्रै छ ।

‘मुलुक सामान्य अवस्थामा आइसकेको छैन । सरकारले देशको शान्ति सुरक्षा र राजनीतिक निकास दिनेगरी पहलकदमी लिनुपर्छ,’ एमालेकै एक नेता भन्छन्, ‘तर सरकारसँग भिड्नेगरी समानान्तर अभ्यासमा युवाहरुलाई प्रोत्साहित गर्ने कामले मुलुकलाई अर्को संकटतिर धकेल्छ । त्यस्तो काम एमाले जस्तो शक्तिले गर्नु हुन्न ।’ विशेषगरी समाजमा हिंसा भड्कने र मूलुक मुठभेडमा जाने खतराप्रति पार्टी सचेत हुनुपर्ने उनको बुझाइ छ ।

‘विगतमा हाम्रै अनुभव पनि छ । युथ फोर्स बनाऔं । तर त्यसले पार्टीलाई बद्नाम धेरै गरायो,’ उनी भन्छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि उसको युवा दस्ता वाईसिएलसँग भिड्ने प्रयोजनमा एमालेले युथ फोर्स गठन गरेको थियो ।

तर युथ फोर्सका कार्यकर्ताहरुबाट भएका अराजक गतिविधिको समीक्षा सहित २०७१ को नवौं राष्ट्रिय महाधिवेशनपछि निष्कृय गराइएको थियो । ‘त्यस बेलाको राष्ट्रिय प्रजातान्त्रिक युवा (प्ररायु) संघले महेश बस्नेतको नेतृत्वमा युथ फोर्स बनायो,’ युवा संघका एक नेता भन्छन्, ‘तर पछि त्यो आवश्यकता नरहेको निष्कर्ष सहित निष्कृय बनाइएको हो ।’

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?