+

भ्याली कपमा सीएसी काठमाडौं र भक्तपुर विजयी

२०८१ जेठ  १४ गते १७:४१ २०८१ जेठ १४ गते १७:४१
भ्याली कपमा सीएसी काठमाडौं र भक्तपुर विजयी

१४ जेठ, काठमाडौं । भ्याली कप टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगितामा भक्तपुर जिल्ला क्रिकेट र सीएसी काठमाडौं विजयी भएका छन् ।

पहिलो खेलमा जित हात पारेको सीएसीले बलपार्क स्पोर्टस एन्ड इभेन्ट एकेडेमीलाई ५ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको बलपार्कले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।

बलपार्कका लागि तिलकराज भन्डारीले १४ बलमा २८ तथा आशुतोष घिरैयाले ३० बलमा २१ रन बनाए । विवेक रानामगरले १८ बलमा २० रन बनाए । सीएसीका लागि प्लेयर अफ द म्याच भएका राज बमले २ तथा युनिशविक्रम सिंह र सूर्य तामाङले समान १/१ विकेट लिए ।

१ सय १८ रनको लक्ष्य सीएसीले १८ दशमलव १ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । सीएसीका लागि राज बमले २७ बलमा ३९ तथा दीपेन्द्र रावतले २६ बलमा २१ रन बनाए ।

बलपार्कका लागि तिलकराज भण्डारी र अत्रिभ पौडेलले समान २/२ तथा पंकज पाण्डेले १ विकेट लिए । जितका साथ प्रतियोगिता सुरु गरेको सीएसी काठमाडौं समूह ए को दोस्रो स्थानमा छ । लगातार दोस्रो हारका साथ बलपार्क समूह ए को पुछारमा रहेको छ ।

आज नै भएको महिलातर्फको खेलमा ललितपुर जिल्ला महिला टिमलाई ८ रनले पराजित गरी भक्तपुर जिल्ला महिला टिम विजयी भएको छ । पहिले ब्याटिङ गरेको भक्तपुरले २० ओभरमा १० विकेट गुमाएर ८० रन बनाएको थियो ।

भक्तपुरले दिएको १ रनको लक्ष्य पछ्याएको ललितपुरले १ दशमलव ४ ओभरमा अल आउट हुँदै ७२ रन मात्र बनायो । प्रतियोगिता भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेसम्म जारी रहने छ ।

प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीको सहभागिता छ । पुरुषतर्फ भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बलपार्क स्पोर्टस् इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी छन् ।

पुरुषतर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ । यसैगरी महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता छ ।

प्रतियोगिताको सम्पूर्ण खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन् । महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भ्याली कप टी २०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय