+

नेपाली सडकमा चिनियाँ र भारतीय ईभी ‘ब्याटल’

२०८१ कात्तिक ३० गते २०:५२

व्यवसायीहरूकै शब्दमा अहिले नेपाली सडकमा भारतीय र चिनियाँ कम्पनीका विद्युतीय सवारी बीच 'ब्याटल' नै छ । पछिल्लो तथ्याङ्क अनुसार चिनियाँ उत्पादनले बाजी मारिरहेका छन् । कुल ईभीमा चीनको हिस्सा ५८.३६ प्रतिशत छ भने भारतको ३६.१२ प्रतिशत । 

३० कात्तिक, काठमाडौं । पुरानो कुरा गर्ने हो भने नेपालमा गाडी चढ्न सक्ने हैसियत भएका मानिस भारत र चीन दुवै देशमा बनेका निजी कारप्रति नाक खुम्च्याउँथे। जापान, कोरिया, युरोप र अमेरिकी ब्रान्ड नेपाली उपभोक्ताको रोजाइमा पर्थे ।

तर, अवस्था फेरियो । नेपालको अटो बजारमा पहिले स्थापित ब्रान्डहरूको अवस्था धर्मराएको छ, भारतीय र चिनियाँ ब्रान्डका गाडीहरू नेपाली उपभोक्ताको पहिलो रोजाइमा छन् । यसरी नेपाली अटो बजारको परिदृश्य नै परिवर्तन गर्ने परिघटना हो, बिजुली गाडी (इलेक्ट्रिक भेइकल-ईभी) को आगमन ।

आर्थिक वर्ष २०८०-८१ मा निजी कार बिक्रीमा ७१.५ प्रतिशत हिस्सा ईभीको छ । पछिल्लो तीन वर्षमा नेपाली अटो बजारमा १७ हजार ५७८ वटा विद्युतीय सवारी साधन (ईभी) भित्रिए, जसमध्ये १० हजार २५९ वटा गाडी चीनबाट र ६ हजार ३५० वटा विद्युतीय सवारी साधन भारतबाट भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

नेपालमा चीन र भारत बाहेक कोरिया, अमेरिका, फ्रान्स, जापान लगायत मुलुकमा बनेका ईभी समेत भित्रिएका छन् । तर, तिनको हिस्सा सानो छ । पछिल्लो तीन वर्षमा भारत र चीन बाहेकका मुलुकबाट भित्रिएका सवारीसाधनको संख्या ९४९ देखिन्छ ।

केही वर्षअघिसम्म नेपालमा चिनियाँ ब्रान्डका गाडीको उपस्थिति नगन्य मात्रै थियो । तर, आजको तथ्यांकले भन्छ, नेपाली सडकमा अहिले भारतीय र चिनियाँ कम्पनीको तीव्र प्रतिस्पर्धा छ । जसमा अहिलेसम्म चिनियाँ ब्रान्डहरूले बाजी मारिरहेका छन् ।

कुल ईभीमा चीनबाट आयात भएका ईभीको हिस्सा ५८.३६ प्रतिशत र भारतबाट आायात भएका ईभीको अनुपात ३६.१२ प्रतिशत तथा अन्य मुलुकबाट आउने ईभीको अनुपात ५.४ प्रतिशत छ ।

चीनको दबदबा, दबाबमा भारत

नाडा अटो शो २०२४ को मुखमा केही भारतीय गाडी निर्माता कम्पनीका उच्च अधिकारीहरू नेपाल आएका थिए । नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालको निमन्त्रणामा नेपाल आएका उनीहरूले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर पछिल्लो समय नेपालमा चिनियाँ गाडीको दबदबा बढेको बारे चिन्ता व्यक्त गरेको स्रोतले बताएको छ ।

ती व्यवसायीले सरकारले यसरी भित्रिरहेका चिनियाँ गाडीको नियमन आवश्यक रहेको सुझाव दिएका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, भारतीय गाडी निर्माता कम्पनीहरूले चिनियाँ विद्युतीय गाडी नेपालमा आउने दर बढ्दै जाने हो भने ईभीको डम्पिङ साइट हुने जोखिमबारे समेत सुनाएका थिए ।

भारतीय गाडी निर्माताको चिन्ता सारमा नेपाल ईभीको डम्पिङ साइट बन्छ कि भन्ने मात्रै होइन । त्यसको अन्तर्यमा भारतीय उत्पादकको टाउको दुखाइ चाहिं ‘नेपाली बजारमा ईभीको उच्च माग र त्यसमा चिनियाँ कम्पनीको सफलता’ अन्तरनिहित थियो ।

तर, नेपालको अटो बजारमा चिनियाँहरू अग्रणी हुनुमा नेपालको नीति भन्दा बढी चीनको अग्रणी प्रविधि र मूल्य कम हुनु तथा भारतीय ब्रान्डहरू महँगो पर्न जानुले भूमिका खेलेको एक अटो व्यवसायी बताउँछन् ।

नेपालमा बीवाईडी गाडी आयात गरिरहेको साइमेन्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ चिनियाँ ब्रान्डका गाडीहरू प्रविधि र डिजाइनमा उत्कृष्ट रहेको दाबी गर्छिन् । साथै, नेपाली उपभोक्ताले चिनियाँ ब्रान्डका गाडी किन्दा जति पैसा तिरेका छन्, त्यसको उचित सामान पाएको अनुभव गरेको उनी बताउँछिन् । ‘भ्यालु अफ मनीका हिसाबले चिनियाँ ब्रान्डका ईभीहरू नेपालमा मात्रै होइन, संसारभरि नै उत्कृष्ट छन्’, उनी भन्छिन् ।

 

ब्याट्रीको मूल्य र प्रविधिमा पनि चिनियाँहरू अन्य मुलुकको तुलनामा प्रतिस्पर्धी छन् । ‘भारतीय अटो निर्माताले पनि चीनबाटै ब्याट्री आयात गरेर गाडी बनाउनुपर्ने र ब्याट्री निर्यातलाई चीनले महँगो बनाएकाले भारतीय गाडीहरू महँगो पर्न जान्छ’, अर्का एक अटो व्यवसायी भन्छन् ।

चीनले अन्य मुलुकको तुलनामा निकै अघिदेखि हरित सवारी साधनलाईप्रवर्द्धन गर्न थालेकाले त्यहाँ प्रविधिको विकास पनि तीव्र भएको श्रेष्ठको भनाइ छ । ‘चिनियाँहरू र अमेरिकामा एलन मस्कले सँगसँगै हरित सवारी साधानको प्रवर्द्धन थालेका हुन्, त्यसो हुँदा अमेरिकामा टेस्ला र चिनियाँ अटो निर्माताहरू यो दौडमा अघि छन्’, उनले भनिन् । संसार ईभीतिर जाँदै गर्दा भारतीय अटो निर्माताहरूले पनि यसलाई प्राथमिकता दिएको उनले बताइन् ।

एकातर्फ नेपाल सरकारले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न लिएको कर छुट नीति र अर्कोतर्फ चीनले सस्तो मूल्यमा गाडी उपलब्ध गराउँदा नेपाली बजारमा चिनियाँ गाडीले बलियो उपस्थिति देखाएको छ । तर, बीवाईडीकी बिक्रेता श्रेष्ठ भने बजारको माग अनुरूप प्रतिस्पर्धा भइरहेकाले यसलाई भारत र चीनको प्रतिस्पर्धा भन्न नमिल्ने दाबी गर्छिन् ।

‘विगतमा पनि कोरिया, जर्मनी, जापान लगायत मुलुकमा बनेका गाडीहरू बीच प्रतिस्पर्धा थियो, त्यसबेला कुन–कुन देशको प्रतिस्पर्धा भनिंदैनथ्यो, त्यसो हुँदा अहिले भारत र चीनबीच प्रतिस्पर्धा भन्नु उचित हुँदैन’ उनी भन्छिन्, ‘बजारको माग अनुसार ब्रान्डहरूबीच प्रतिस्पर्धा भइरहेको हो ।’

सिप्रदीका श्रेष्ठ पनि यो देशहरू बीचको नभई ब्रान्डहरू बीचको लडाइँ भएको बताउँछन् । ‘अहिले भइरहेको ‘ब्याटल बिटविन दि ब्रान्ड’ हो । चाहे त्यो चाइनिज होस् या इन्डियन’, उनी भन्छन् ।

व्यवसायी आकाश गोल्छा भारत र चीनमा बनेका ईभीहरूको नेपालमा आ-आफ्नै सबल र दुर्बल पक्ष रहेको बताउँछन् । ‘विश्वव्यापी रूपमा पनि चिनियाँ कम्पनीहरू प्रतिस्पर्धामा देखिन्छन् । नेपालको हकमा भारत र चीन दुवैले राम्रो बजार पाएको अवस्था छ । चिनियाँ र भारतीय ब्रान्डमा केही फरकपन देखिन्छ । उदाहरणका लागि भारतले ब्याट्री आफैं उत्पादन गर्दैन । त्यसले गर्दा मूल्य बढी पर्छ । त्यसले प्रतिस्पर्धी क्षमता कम हुने सम्भावना छ’, उनी भन्छन् ।

चीनले ब्याट्री आफैं उत्पादन गर्ने भएकाले उसलाई त्यसमा कम मूल्य पर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘ढुवानीका दृष्टिले हेर्दा भने भारतीय गाडीको तुलनामा चिनियाँ गाडी महँगो पर्छ । किनभने, चिनियाँ कम्पनीका उद्योगहरू नेपालबाट टाढा टाढा छन् । तर, प्रविधिको दृष्टिकोणबाट भारतको तुलनामा चीन अगाडि छ ।’

बढ्दै चिनियाँ, पछ्याउँदै भारतीय

आव २०८०/८१ मा चीनबाट मात्रै ८ हजार ६५ वटा ईभी नेपाल भित्रिए । दोस्रो नम्बरमा भारत छ । यस मुलुकबाट ३ हजार ३७७ वटा ईभी आएको देखिन्छ । यस वर्ष तेस्रो मुलुकबाट २५९ ईभी आएका छन् ।

आर्थिक वर्ष २०७९-८० मा कुल ४ हजार ५० ईभी नेपाल आएका थिए । जसमध्ये चीनबाट १ हजार ३७१ वटा र भारतबाट २ हजार २७७ वटा आएका थिए । कोरियाबाट ३८१ र अन्य मुलुकबाट २१ वटा गाडी आएको तथ्यांकमा उल्लेख छ ।

आव २०७८-७९ मा नेपालमा भारत र चीनबाट आउने गाडीमा प्रतिस्पर्धा जस्तै थियो । चीनबाट ८२३ ईभी आएकोमा भारतबाट  ६९६ वटा आएका थिए । यस बाहेक कोरियाबाट १८४, जापानबाट ७८, अमेरिकाबाट २५ र फ्रान्सबाट एउटा गाडी आएको थियो ।

यो तथ्यांक अनुसार पछिल्ला दिनमा चीनले भारतलाई तीव्र गतिमा उछिनेको देखिन्छ । यसो हुनुमा प्रतिस्पर्धी मूल्य नै मुख्य कारण हो । भारतमा पुराना अटोमोबाइल उत्पादक टाटा तथा महिन्द्राले नै बजारमा ईभी गाडी ल्याएका छन् ।

तर, मानिसहरूले ती गाडीको तुलनामा नयाँ–नयाँ ब्रान्डका चिनियाँ गाडी मन पराएका छन् । कम मूल्यमा विभिन्न सुविधा सहितका आकर्षक गाडी उपलब्ध हुँदा ग्राहक त्यसतर्फ केन्द्रित भइरहेको व्यवसायी बताउँछन् ।

नेपालमा चीनबाट धेरै ब्रान्ड आउनुमा गाडी ल्याउन एकदम सजिलो हुनु पनि कारण भएको नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ बताउँछन् ।

‘धेरै ब्रान्डहरू नेपाल आएकै कारण अहिले नेपालमा ब्रान्डहरूको ‘ब्याटल’ परिरहेको छ । अहिले चिनियाँ-चिनियाँ बीच पनि प्रतिस्पर्धा, भारतीय-भारतीय बीच पनि प्रतिस्पर्धा छ । यसलाई असामान्य रूपमा लिनुपर्ने पनि केही छैन’, उनी भन्छन् ।

चिनियाँ र भारतीय ब्रान्डको आफ्नै फाइदा-वेफाइदा रहेको उनको भनाइ छ । ‘नेपालको भूगोल अनुसार भारतीय गाडीले धेरै नै प्रमाणित गरेका छन्, चीनका गाडीहरू नेपालको भूगोल हेरेर बनेका छैनन्’, उनी भन्छन् ।

स्टार्टअपले बजार लिंदा ठूला ब्रान्डलाई टाउको दुखाइ

नाडाका एक सदस्यका अनुसार अहिले चीनबाट स्टार्टअप कम्पनीहरूले उत्पादन गरेका गाडी नेपाल धेरै भित्रिएको देखिन्छ । यसले विगतदेखि गाडी उत्पादन र बिक्री गरिरहेका ठूला व्यापारीको टाउको दुखेको छ ।

चीनबाट आयात भएका बीवाईडी र एमजी जस्ता ठूला ब्रान्ड बाहेक अधिकांश स्टार्टअपले उत्पादन गरेका गाडी भएको उनी बताउँछन् । ‘कोही बिल्कुल नयाँ स्टार्टअप छन्, कोही पुराना कम्पनीले शुरू गरेको स्टार्टअप छन्’, उनी भन्छन् ।

त्यसो हुँदा अहिले बजारमा रहेका सबै गाडीहरू गुणस्तरीय नै छन् भन्ने नभएको उनी बताउँछन् । ‘स्टार्टअप कम्पनीले निर्माण गरेका गाडी असफल भए भने नेपाली ग्राहकको हालत के हुन्छ ?’ एक व्यवसायी प्रश्न गर्छन् । बिक्रीपछिको सेवा, पूर्वाधार सहित ‘होल इको सिस्टम’मा काम नगरी ह्वारह्वार्ती गाडी भित्र्याउनु घातक समेत हुनसक्ने उनको भनाइ छ ।

तर, चिनियाँ गाडी बिक्री गर्ने एक बिक्रेता भने स्टार्टअपबाट अझ राम्रो उत्पादन समेत आउन सक्ने भन्दै चीनले नेपालमा मात्र नभई विश्वभर ईभी बजारमा आफ्नो उपस्थिति बढाएको बताउँछन् । यूरोपेली बजारमा चिनियाँ गाडीको उत्पादन र बिक्रीको तेज कम गर्न राज्यहरूले कर बढाउने नीति लिएका छन् । उनी भन्छन्, ‘विगतमा जसरी मनपर्दी मूल्य लिइन्थ्यो, त्यो अब कम भएको छ, मूल्य प्रतिस्पर्धी बनेको छ ।’

नेपालका एक ठूला आयातकर्ताका अनुसार, चीनमा अहिले २०० भन्दा बढी स्टार्टअप कम्पनी छन् । चीनमा स्टार्टअपहरूको सफलताको दर ८ प्रतिशत हाराहारीमा मात्रै रहेकाले त्यो जोखिम लिन तयार हुनुपर्ने उनको भनाइ छ ।

उदाहरणका लागि नेटा ईभी उत्पादन गर्ने  स्टार्टअप होजोन मोटर्सले फन्डिङको अभावमा कारखाना बन्द गरेको र कर्मचारीको तलब कटौती गरेको समाचार सार्वजनिक भएको छ । चौधरी ग्रूपले आयात गर्ने नेटाका नेपालमा हालसम्म ७ सय ५६ वटा गाडी भित्रिसकेका छन् ।

उनका अनुसार चिनियाँ स्टार्टअप कम्पनीका कारण बजारमा यति सस्तो उत्पादन आयो कि ठूला ब्रान्डले नै प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको छ । चीनबाट नेपालमा बीवाईडी र एमजी जस्ता ठूला कम्पनी बाहेकका गाडीहरू परीक्षणका लागि भित्रिएको हुनसक्ने आशंका उनी गर्छन् ।

भविष्यमा चीनबाट आउने गाडीको निर्माण बन्द भएमा नेपालमा ती ब्रान्ड किन्नेहरूको अवस्थाबारे चिन्तित हुनुपर्ने उनको भनाइ छ । तर, चीनमा स्टार्टअप फस्टाउनुमा चीन सरकारले लिएको ईभी प्रवर्द्धनको नीतिले भूमिका खेलेको हो । त्यसकारण चिनियाँ गाडीको भविष्य र बजारलाई लिएर तत्काल चिन्तित हुनुपर्ने अवस्था नरहेको चिनियाँ गाडी बिक्रेताहरूको दाबी छ ।

‘अबको केही समयभित्र संसारभर नै पेट्रोल गाडी उत्पादन रोकिन सक्छ, सबैको प्राथमिकता ईभीमा छ’ उनी भन्छन्, ‘त्यसो हुँदा उत्पादक कम्पनीले आफूलाई अझै परिष्कृत बनाउँदै जान्छन् ।’ तर, स्टार्टअपले नै बनाएको गाडी लिंदा पनि त्यो स्टार्टअप कसले शुरू गरेको हो र पृष्ठभूमिबाट कसले लगानी गरिरहेको छ भन्ने कुरालाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

बीवाईडीकी बिक्रेता श्रेष्ठ नेपालमा खुला बजार रहेकाले कुन गाडी ल्याउने कुन नल्याउने भन्ने नीति बनाउन नहुने बताउँछिन् । ‘अहिले ईभीको माहोलमा कमसल गाडी पनि आएका होलान् तर, जसले कमसल गाडी ल्याउँछ, त्यो आफैं डुब्छ’ उनी भन्छिन्, ‘विस्तारै राम्रा र गुणस्तरीय गाडीहरू मात्रै यहाँ रहलान् ।’ तर, सरकारले मापदण्ड र गुणस्तरलाई भने ध्यान दिनुपर्ने उनी बताउँछिन् ।

सरकारी नीतिले प्रोत्साहन

नेपालमा विद्युतीय सवारी साधनको बिक्रीलाई निरन्तर प्रवर्द्धन गरिएको छ । आर्थिक वर्ष २०७३-७४ को बजेट मार्फत विद्युतीय सवारी साधन आयातमा कर छुट दिने नीति लिइएको थियो । ईभीमा कर छुट दिने नीतिलाई आर्थिक वर्ष २०७७-७८ को बजेटमा परिवर्तन गरियो । यो वर्षको बजेटले थोरै भए पनि कर लगाउने व्यवस्था ग¥यो ।

ईभी सवारी साधनमा कर परिवर्तनको नीतिगत व्यवस्था आव २०७९-८० को बजेटमा पनि परिवर्तन गरियो । सो बजेटले करको दर केही बढायो । यद्यपि, पेट्रोल गाडीको तुलनामा भने निकै कम मात्र कर ईभी गाडीमा लाग्छ । त्यसको लाभ उपभोक्ताले उठाएका छन् ।

नेपाल सरकारले २०७४ पुसमै पहिलो पटक विद्युतीय सवारी साधन किनेको थियो । त्यसबेला राष्ट्रिय योजना आयोगले इलेक्ट्रिक कार बीवाईडी खरीद गरेको थियो । अहिले सरकारी निकायले विद्युतीय सवारी साधनलाई उच्च प्राथमिकता साथ खरीद गर्ने नीति लिएका छन् ।

ईभीमा बैंकबाट हुने लगानी सहज भएकाले पनि यसको बिक्री बढेको नेपालमा महिन्द्रा गाडीका बिक्रेता अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ बताउँछन् । ‘बैंकहरूले विभिन्न ठाउँबाट ग्रीन फन्ड पाइरहेका छन्, राष्ट्र बैंकले पनि ईभीमा ८० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था ल्याएको छ, यसले पनि यसको बिक्री बढाएको छ’, उनी भन्छन् ।

सार्वजनिक यातायातमा साझा यातायात सहितका कम्पनीले विद्युतीय सवारीको संख्या बढाएका छन् । विगतमा टाटा सुमो चल्ने रुटहरूमा अहिले ईभी गाडीले बजार प्रतिस्थापन गरेका छन् । जसमा समेत चिनियाँ ब्रान्डको बाहुल्य छ ।

नेपालमा ईभी आयात बढ्नुमा सरकारले पूर्वाधारमा बढाएको लगानीको समेत हात छ । अहिले देशभर नेपाल विद्युत् प्राधिकरणले ६२ भन्दा धेरै स्थानमा चार्जिङ स्टेशन बनाइसकेको छ । निजी स्तरबाट समेत ठूलो लगानी भएको छ । खासगरी राजमार्गका होटल-रेस्टुरेन्टमा चार्जिङ स्टेशन राख्ने क्रम बढेको छ । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्पको स्वीकृति दिंदा चार्जिङ स्टेसन राख्नुपर्ने कुरालाई प्राथमिकता दिएको छ ।

विगत तीन वर्षको तथ्यांक हेर्दा ५८ प्रतिशत ईभी चीनबाट आइरहेका छन्, ३६ प्रतिशत भारतबाट र बाँकी अन्य मुलुकबाट । सरकारले विद्युतीय सवारी साधन आयातलाई प्राथमिकता दिई सोही अनुरुप महसुल छुट दिंदा विद्युतीय सवारी साधनको आयात बढ्दै गएको नाडा महासचिव सुरेन्द्रकुमार उप्रेतीको भनाइ छ ।

नेपालमा ५१ देखि ११० किलोवाट क्षमताका गाडी धेरै आइरहेको नाडाले बताएको छ । नेपालमा टाटा, बीवाईडी, हुण्डाई, सुजुकी, महिन्द्रा, किया, अवतार–११, जेक्को जे सिक्स, बीएमडब्ल्यू, जिकर एक्स, डिपल, सेरेस, एमजी, स्काईवेल, सिट्रोन, अमोडा जस्ता ब्रान्डका ईभी बढी बिक्री भइरहेको देखिन्छ ।

नेपालमा ईभीका शुरुआतकर्ता रेभा र महिन्द्रा

नेपालमा सन् २००२ मा पहिलो ईभी ‘रेभा’ आयात भएको थियो । तर, भन्सारमा आइपुगेको कारमा नेपाल सरकारले एकैपटक १३० प्रतिशत कर बढाइदियो । त्यसपछि त्यो कार तीन वर्ष भन्सारमै रह्यो । सन् २००५ मा मात्रै त्यो भन्सार पास भयो र २००६ बाट काठमाडौंको सडकमा गुड्न थाल्यो ।

भारतको बैंग्लोरमा उत्पादन हुने गाडी त्यसबेला लोटस इनर्जीले नेपालमा ल्याएको थियो । सन् २०१० मा महिन्द्राले रेभालाई किन्यो र रेभा कार महिन्द्रा ईटुवो ब्रान्डमा उत्पादन हुन थाल्यो । महिन्द्राले सन् २०१३ देखि त्यो कार नेपालमा आयात गर्न थाल्यो ।

महिन्द्राले त्यो कारको उत्पादन अहिले बन्द गरिसकेको छ तर एक्सयुटी ४०० कार ईभी नेपालमा ल्याइरहेको छ । नेपालमा महिन्द्रा कार आयात गरिरहेको अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ नेपालका लागि ईभीहरू व्यावहारिक हुने बताउँछन् ।

उनी पनि ईभीको प्रतिस्पर्धामा चिनियाँहरू अघि रहेको बताउँछन् । ‘बीवाईडी प्रविधिमा निकै अघि बढ्यो, उसको प्रविधि राम्रो छ, अन्य धेरै चिनियाँ कम्पनीहरूले पनि यसमा काम गरिरहेका छन्’, उनले भने ।

तर, विगतमा चीनमा हजारौं स्टार्टअपहरू ईभी उत्पादनमा भए पनि अब त्यो करिब डेढ सयमा झरिसकेकाले विस्तारै भरपर्दा ईभीहरू मात्रै नेपाल भित्रिने उनी बताउँछन् । महिन्द्राले भने एसयुभी सेग्मेन्टमा मात्रै गाडीहरू ल्याउने भएकाले त्यो बजार अरूले लेलान् कि भन्ने चिन्ता नरहेको श्रेष्ठको भनाइ छ । ‘हाम्रो बजार नै छुट्टै हो’, उनी भन्छन् ।

बिक्रीपछिको सेवालाई ध्यान दिनुपर्छ

विगतमा ईभीलाई सर्भिसिङ नै नचाहिने किसिमको मानसिकता रहेकोमा अब त्यो बदलिएको अग्निका प्रबन्ध निर्देशक श्रेष्ठ बताउँछन् । ‘ईभीलाई पनि सर्भिस सेन्टर चाहिन्छ, मर्मत गर्नुपर्छ, ब्याट्रीको पनि मर्मत गर्नुपर्छ, त्यसो हुँदा बिक्रीपछिको सेवामा जसले राम्रो गर्छ, त्यही ब्रान्ड स्थापित हुन्छ’, उनले भने ।

नेपालमा जलविद्युत्को उपलब्धता राम्रो रहेकाले पनि दीर्घकालमा ईभी नेपालका लागि राम्रो गाडी रहेको उनको भनाइ छ । नेपालमा टाटा गाडी बिक्री गरिरहेको सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठ पनि ईभी नयाँ प्रविधिमा आधारित गाडी भएकाले त्यसको मर्मतसम्भारका लागि पूर्वाधार र जनशक्ति त्यही स्तरमा चाहिने बताउँछन् ।

‘नेपालमा ईभी मर्मत गर्न सक्ने जनशक्तिको ठूलो अभाव छ, हामीले त्यसमा लगानी गरेका छौं, तर समग्र बजारमा आवश्यक जनशक्ति नेपालमा छैन’, उनी भन्छन् ।

ग्राफिक्स : अरुण देवकोटा/अनलाइनखबर

अच्युत पुरी
लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय