+
+

‘५-७ वर्ष चलाऔं, अनि हेरौंला’ भनेर ईभी किन्ने धेरै छन्

‘आज किनौं, ५-७ वर्ष चलाऔं, त्यसपछि हेरौंला’ भन्ने देखिएको छ । त्यही नै सोच्ने हो भने जे किने पनि भयो, नत्र राम्रोसँग बुझेर मात्र गाडी किन्नुपर्छ । मलाई लाग्छ, अबको एक वर्षभित्र धेरै ग्राहकले ईभीबारे धेरै बुझिसक्छन् ।

आकाश गोल्छा, वरिष्ठ उपाध्यक्ष नाडा आकाश गोल्छा, वरिष्ठ उपाध्यक्ष नाडा
२०८१ कात्तिक ३० गते १६:४४

नेपालमा आजभन्दा तीन–चार वर्ष पहिला विद्युतीय सवारी (ईभी) को मार्केट सेयर २० प्रतिशत थियो । त्यसबेला बजारमा सीमित ब्रान्ड थिए । प्रतिस्पर्धा एक-दुई वटा ब्रान्डमा मात्रै थिए । आज ईभीको मार्केट सेयर ७५ प्रतिशत हाराहारी पुगेको छ ।

आज नयाँ–नयाँ ब्रान्ड भित्रिने क्रम बढेको मात्र छैन, प्रतिस्पर्धा पनि धेरै माथि पुगेको छ । धेरै ब्रान्ड आइसकेका छन्, अझै भित्रिने क्रममा छन् । यसको राम्रो पक्ष उपभोक्ताका लागि छानी–छानी गाडी पाउने अवस्था छ । धेरै सुविधा र विशेषतामा गाडीहरू उपलब्ध छन् । जति धेरै प्रतिस्पर्धा भयो, छुट पनि उत्ति धेरै पाउने सम्भावना हुन्छ ।

नेपालमा जति पनि ब्रान्ड भित्रिएका छन्, त्यसमध्ये आफू कुनमा जाने भन्ने चाहिं उपभोक्ताले आफैं छनोट गर्न सक्नुपर्छ । इन्टरनेट तपाईंको हातमा छ, त्यहाँ तपाईंले ईभीबारे सबै कुरा थाहा पाउन सक्नुहुन्छ । ब्रान्डसँगै नेपालको आधिकारिक बिक्रेताको ट्रयाक रेकर्ड समेत हेर्न सक्नुहुन्छ ।

अहिले ईभी गाडीमा यस्तै बाढी आएको छ । गाडी भरपर्दो हुनुपर्‍यो । नेपालमा आयात गर्ने मान्छे भरपर्दो हुनुपर्‍यो । उपभोक्ताले पनि यो हेरेर निर्णय गर्नुपर्छ ।

दुईपाङ्ग्रे ईभीमा ९० जति ब्रान्ड आएका छन् । तर, धेरैले एक वा दुई पटक भन्दा आयात गर्न सकेनन् । एकपटक बजारमा आए, हराए । कतिपय उपभोक्ताले त्यस्ता ईभी किन्दा दुःख पनि पाएका छन् । तर चारपांग्रे ईभीमा अत्यन्तै उत्साहजनक एडप्सन छ ।

हाम्रो ईभी बजारमा भारत र चिनियाँ कम्पनीको बाहुल्य छ । अलिअलि जापान, कोरिया र जर्मनीको समेत उत्पादन आएको छ । विश्वव्यापी रूपमा पनि चिनियाँ कम्पनीहरू प्रतिस्पर्धी देखिएका छन् । नेपालको हकमा भारत र चीन दुवै देशका ईभीले राम्रो बजार पाएका छन् ।

चिनियाँ र भारतीय ब्रान्डमा केही फरकपन देखिन्छ । उदाहरणका लागि भारतले ब्याट्री आफैं उत्पादन गर्दैन । त्यसले गर्दा मूल्य अलि बढी पर्छ । त्यसले उनीहरुको प्रतिस्पर्धी क्षमता कमजोर हुने सम्भावना छ । चीनले ब्याट्री आफैं उत्पादन गर्ने भएकाले सस्तो पर्ने हुन्छ ।

तर, ढुवानीका दृष्टिले हेर्दा चाहिं भारतीय गाडीको तुलनामा चिनियाँ गाडी महँगो पर्छ । किनभने चिनियाँ कम्पनीका उद्योगहरू नेपालबाट टाढा–टाढा छन् । सरसर्ती हेर्दा दुवै देशका ब्रान्डहरूको आफ्नै विशेषता छ । प्रविधिको दृष्टिकोणबाट भारतको तुलनामा चीन अगाडि छ ।

पछिल्लो समय चीनमा उत्पादन भएका ईभीको विशेषता र गुणस्तरमा धेरै नै विविधता छ । जापानिज गाडी यस्तो हुन्छ, कोरियन गाडी यस्तो हुन्छ, जर्मन गाडी यस्तो हो, अमेरिकन गाडी यस्तो हो भन्न सकिन्छ । तर, चीनमा यस्तो एकरुपता छैन । चीनमा सस्ता गाडी पनि छन्, महँगा पनि छन् । केही ब्रान्ड निकै प्रिमियम छन् । केही ब्रान्ड इकोनोमिकल छन् ।

उपभोक्ताले गाडी खरीद गर्दा बेच्ने मान्छे को हो भनेर पनि हेर्नुपर्छ । गाडी बेचेर मात्र भएन, त्यसपछिको सेवा दिन सक्छ वा सक्दैन, त्यो पनि हेर्नुपर्छ । उपभोक्तालाई स्पेयर्स पार्टस् उपलब्धताको हिसाबले विगतदेखि नै भारतीय गाडी सजिलै पाइएला भन्ने लाग्ने गरेको छ । खासगरी तराई भेगका उपभोक्तामा यस्तो मान्यता पाइन्छ ।

कुनै ब्रान्ड नयाँ बिक्रेताले ल्याएको भए पनि कम्पनी बलियो हुन सक्छ । त्यो ब्राण्का कारण चल्ने हाे, कसले आयात गर्छ भन्नेले खास असर गर्दैन । तर, कुनै ब्रान्ड स्थापित छैन भने बिक्रेता परिवर्तन हुँदा उपभोक्ताले नपत्याउन सक्छन् ।

मैले ईभी ब्रान्ड नभई टोयोटाको उदाहरण दिन्छु । टोयोटाको गाडी बेच्ने बिक्रेता परिवर्तन भए पनि त्यो टोयोटाकै कारणले चल्छ । निशानको डिलर परिवर्तन भए पनि त्यो चल्छ । त्यसकारण गाडीको सन्दर्भमा ब्रान्ड, बिक्रेता र सुविधा तीन वटै पक्ष हेर्नुपर्छ ।

चीनमा स्टार्टअपहरुले पनि धेरै गाडी बनाएका छन् । त्यो दिगो हुन्छ कि हुँदैन भन्ने विषय हेर्नलाई कसले लगानी गरिरहेको छ भन्ने बुझ्नुपर्छ । कतिपय अवस्थामा स्टार्टअप नै हुनसक्लान्, तर बलियो कम्पनीको साथ छ भने त्यो कम्पनीमा समस्या हुँदैन । तर स्टार्टअप पछाडि ब्याकिङ छैन भने समस्या हुन्छ । कुनै कम्पनीले फण्ड खोजिरहेको छ भने फण्ड पाउँदा ६ महिना चल्न सक्छ, फेरि बन्द हुन पनि सक्छ । यसमा उपभोक्ता सतर्क हुने हो ।

गाडी किन्ने उपभोक्ताले केही सचेत हुने हो भने यस्ता कुरामा स्पष्ट हुन सकिन्छ । सस्तो मूल्य भन्दैमा जस्तो पायो त्यस्तो गाडी किनियो भने समस्या हुन सक्छ । चलाउँदा पनि सहज हुनु पर्‍यो ।

विश्वव्यापी रूपमा हेर्दा आगामी दिनमा सायद २०२५ मध्यबाट चीनका धेरै कम्पनी घट्ने सम्भावना छ । अहिले ब्रान्ड पायो भने कमाइ हुन्छ भन्ने मान्यता छ । यो निरन्तर रहने सम्भावना नहुन सक्छ । विगतको अनुभव हेर्ने हो भने १०० वर्ष भन्दा लामो इतिहास भएका गाडी किन्न पनि मानिसले १० पटक सोच्ने गर्थे । अहिले ईभी किन्दा मानिसले धेरै सोच्ने गरेको पाइँदैन ।

‘आज किनौं, ५-७ वर्ष चलाऔं, त्यसपछि हेरौंला’ भन्ने मान्यता देखिएको छ । तपाईं त्यही नै सोच्ने हो भने जे किने पनि भयो, नत्र राम्रोसँग बुझेर मात्र गाडी किन्नुपर्छ । मलाई लाग्छ, अबको एक वर्षभित्र धेरै ग्राहकले ईभीबारे धेरै बुझिसक्छन् ।

कतिपयलाई ८ वर्षको ब्याट्री वारेन्टी सकिएपछि गाडी नै ठप्प बन्द भइहाल्छ कि भन्ने आशंका पनि छ । त्यस्तो होइन, बरु गाडीले अहिलेकै गतिमा माइलेज नदिन सक्छ तर, गाडी बन्द हुन्छ भन्ने होइन । ब्याट्रीको आयु सकिएपछि के गर्ने भन्ने चिन्ता धेरै छ । उत्तरदायी कम्पनीहरूले यस्तो ब्याट्री संकलन गरेर आफैंले फिर्ता लैजाने सम्झौता गरिरहेका छन् । सोही अनुसार व्यवस्थापन हुनेछ ।

ईभीका लागि आवश्यक चार्जिङ स्टेसन पर्याप्त छन् । अहिले ब्याट्रीको रेन्ज पनि धेरै भएका गाडी आएका छन् । चाडपर्वका बेला एकै पटक गाडी सडकमा निस्कन्छन् । जति चार्जिङ स्टेशन थपे पनि यो समयमा समस्या नै रहन्छ । किनकि वर्षमा साता वा १५ दिनका लागि आवश्यकता भन्दा धेरै चार्जिङ स्टेशन बनाउन सम्भव पनि छैन । यसलाई यात्रा व्यवस्थापन गरेर मिलाउनुपर्छ ।

आगामी दिनमा ईभीको हिस्सा अझै अझ राम्रो हुँदै जान्छ । पेट्रोल गाडी पनि जीरो नै भने हुँदैन । अधिकांश ईभी भए पनि बीचमा ‘हाइब्रिड’ प्रवेश गर्न सक्छन् । यही गतिमा जाने हो भने पेट्रोल गाडीको बिक्री १० देखि २० प्रतिशतमा खुम्चिने सम्भावना छ । अब पेट्रोलवाला गाडी पनि हाइब्रिडमा कन्भर्ट हुँदै जानेछन् । तर अबको युग भनेको हरित सवारी साधनकै युग हो ।

(अटोमोबाइल एसोसिएसन अफ नेपाल नाडाका वरिष्ठ उपाध्यक्ष गोल्छासँग अनलाइनखबरका लागि अच्युत पुरीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?