नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन (ईभी) को चर्को प्रतिस्पर्धा छ । एकातिर दैनिक नयाँ जसो चिनियाँ गाडी बजारमा आइरहेका छन् भने अर्कोतर्फ ब्रान्डेड गाडीहरू प्रतिस्पर्धामा छन् । नेपालमा यसो हुनुको कारण बजार हो । बजारमा अवसर देखेपछि कम्पनीहरू आउने नै भए । जहाँ बजार राम्रो छ, त्यहीं बिक्रेता आउने हो ।
विद्युतीय सवारी साधनको उत्पादन चाहे त्यो स्टार्टअप कम्पनी होस् वा ब्रान्डेड बिग हाउस, ती नेपालमा अति धेरै आउन थालेका छन् । भारतबाट आउने भनेको लिमिटेड ब्रान्ड मात्रै हो । तर चीनबाट धेरै ब्रान्ड आइरहेका छन् ।
यसको पछाडिको कारण नेपालमा चीनबाट गाडी ल्याउन एकदम सजिलो हुनु हो । चीनमा के छ भने, जो गए पनि गाडीको डिलरसिप दिन्छ । त्यसैले गर्दा नेपालमा धेरै ब्रान्ड आइरहेका हुन् । धेरै ब्रान्ड नेपाल आएकै कारण अहिले नेपालमा ब्रान्डहरूको ‘ब्याटल’ चलिरहेको छ ।
अहिले चिनियाँ-चिनियाँ र भारतीय-भारतीय बीच पनि प्रतिस्पर्धा छ । फेरि यसलाई असामान्य रूपमा लिनुपर्ने पनि केही छैन । यसलाई ‘रेड ओसन’ भन्न सकिन्छ । अहिले भइरहेको पनि त्यही हो। जति पनि ब्रान्डहरू आएका छन्, यहाँ प्रतिस्पर्धा गरेका छन् । यहीं लडेका छन्, यहींबाट मार्केटको हिस्सा बाँडेका छन् ।
अब सोच्नै पर्ने के हो भने यो ‘ब्याटल’ बाट ‘ब्लु ओसन’मा कसरी जाने । अर्थात् अब यहाँ लडाईं नगर्ने म छुट्टै स्पेस क्रियट गर्छु, त्यहाँ नै व्यापार गर्छु भन्ने वातावरण निर्माण गर्नुपर्ने देखिन्छ । यसले गर्दा अब हामी सिप्रदी (टाटा) चाहिं रेड ओसनमा बसेर काम छैन भन्ने लाइनमा छौं।
नेपालमा देश अनुसारको ब्रान्डमा खासै लडाइँ देखिएको छैन । अहिले भएको ब्रान्डहरूको नै प्रतिस्पर्धा हो। चाइनिज ब्रान्डको आफ्नै फाइदा-बेफाइदा छन्, भारतीय ब्रान्डका आफ्नै फाइदा-बेफाइदा छन्; नेपालको भूगोल अनुसार भारतीय गाडीले धेरै नै प्रमाणित गरेको ।
हामी प्रमाणित प्रविधि लिएर अगाडि आउँदा पनि ‘रेड ओसन-बाट ‘ब्लु ओसन’मा कसरी जाने भनेर सोचिरहेका छौं । हाम्रो फोकस नै त्यही छ, हामी यहाँ एकअर्कासँग काटमार गर्ने पक्षमा नै छैनौं । अहिले यहाँको ‘रेड ओसन’ बाट हट्नै पर्छ ।
अहिले ‘ईभी वार’ चाहिं भइरहेकै छ । अब चाहिं नेपाली व्यवसायीहरूलाई चुनौती के भने जुन वार छ, त्यो वार जोनबाट कसरी अगाडि लैजाने भन्ने हो । अहिले नेपाली व्यवसायीहरू जो प्रतिस्पर्धा गरेर ईभी भित्र्याइरहेका छन्, उनीहरूले यसबारे सोचेकै छैनन् ।
एकदमै थोरै कम्पनी जसले दिगो रूपमा व्यावसायिक सोच बनाएका छन् । नत्र भने सबै यही ‘रेड ओसन’ मा हाम्फालेका छन् । एउटाले अर्कोलाई हराउने सोचमा मात्रै छन् । अहिले भइरहेको ‘ब्याटल’ ‘बिट विन दि ब्रान्ड’ भइरहेको छ– चाहे त्यो चाइनिज होस् या इन्डियन ।
सरकारको नीति र नियमन आवश्यक
विद्युतीय सवारी साधन (ईभी) मा नेपाल सरकारको नीति नै स्थायी छैन । नेपालमा सरकारको नीति नै निश्चित नभइसकेपछि हामी जस्ता ठूला ब्रान्डहरूले लगानी गर्न डराउँछौं ।
ग्राहकलाई पनि मैले मानौं कि टाटाको गाडी किन्दा अब न मर्मतमा समस्या हुन्छ, न पार्टस्मा समस्या हुन्छ भन्ने हुनुपर्यो । ‘आफ्टर सेल्स सर्भिस’ पनि फिक्सड् हुनुपर्यो । यसको ब्याट्रीबारे पनि बहस हुनुपर्छ । अहिले हाम्रो टाटाको मात्रै ब्याट्रीको रिपेयरिङ सेन्टर रहेको छ ।
जसरी गाडीहरू आइरहेका छन्, यसलाई डम्पिङ साइट बन्न नदिन सरकारले नियमन गर्नुपर्यो । सरकारले नियमन गर्दा नेपालको लागि कस्तो किसिमको गाडी आवश्यक छ त्यो हेरेर मात्रै अनुमति दिनपर्यो । त्यसको विशेषता हेरेर गाइड गर्न जरूरी छ । सरकारले आफूले भनेको जस्तै गाडी आइरहेका छन् कि छैन भनेर परीक्षण गर्नु जरूरी छ । सरकारले गाडीको स्ट्यान्डर्ड तोक्न जरूरी छ । त्यसको नियमित चेकिङ आवश्यक छ ।
अर्को कुरा के हो भने ब्याट्री व्यवस्थापनमा सरकारले सोच्नै पर्छ । नेपालमा आएका ब्याट्रीहरूको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर सोच्नै पर्छ । अहिले नेपालमा जति पनि ‘स्टार्ट अप’ वाला गाडीहरू आइरहेका छन् भोलि त्यो सबै सफल हुन्छ भन्ने छैन । सफल नभएका कम्पनी बन्द हुन्छन् । त्यसबेला ग्राहकले त्यो गाडीको सर्भिसिङ पाउँदैनन् र गाडी चलाउन सक्दैनन् । अनि त्यो गाडी त डम्प हुन्छ । त्यतातिर पनि सोच्नुपर्ने देखिन्छ ।
बढ्यो चिनियाँ गाडीको प्रभाव
ग्लोबल रूपमा हेर्दा मुख्य कुरा चाइनिज ईभी अगाडि बढ्नुमा पहिलो कुरा त्यहाँको सरकारले नै धेरै सहयोग गरेको छ । ईभीमा सरकारले सुरुमा सुविधाहरू दिइरहेको थियो, अहिले केही कटौती गरेको छ । त्यसले त्यहाँको स्टार्टअप कम्पनी र अन्य गाडी उद्योगहरूलाई प्रोत्साहन मिलेको थियो ।
त्यसले उत्पादनको लागतमा कमी आउने नै भयो । ‘कस्ट वेनिफिट’ कै कारण संसारभरि चाइनिज ईभीले मार्केट लिएको देखिन्छ । टेस्ला जस्तो ब्रान्डले पनि चाइनिज ईभीकै कारण आफ्नो मूल्यमा रिभ्यु गर्न बाध्य भएका हुन् ।
चाइनिज ईभीको अर्को विशेषता भनेको यसमा फिचर धेरै हुनु हो । व्यावहारिक रूपमा काम लागे पनि, नलागे पनि आकर्षक फिचरको कारण संसारभरि चाइनिज ईभीहरूले बजारमा चर्चा पाउने गरेका छन् । कतिपय फिचर कामै नलागे पनि चर्चा भइरहेको हुन्छ ।
नेपाल जस्तो देशले हाम्रो लागि कुन कुन फिचर मात्रै आवश्यक छन् भनेर हेर्नुपर्छ । जति धेरै नयाँ, उच्च प्राविधिक फिचर ल्यायो त्यति नै धेरै मर्मत र सम्भारमा खर्च हुन्छ । त्यसको लागि नेपालमा दक्ष जनशक्तिको चर्को अभाव छ ।
भोलि ईभीमा यसले झन् धेरै समस्या देखिन्छ । सरकारले पनि ईभी सम्बन्धी दक्ष जनशक्ति आवश्यक छ भनेर सोचेको छैन । सोचे पनि काम अगाडि बढेको छैन । हाम्रो जस्तो संस्थाले ट्रेनिङ सेन्टर बनाएका छौं तर सबैले त्यस्तो गरेका छैनन् ।
ब्याट्रीको व्यवस्थापन बेलैमा सोचेर गर्ने हो भने गाह्रो कुरा छैन । किनभने यो गाडीको ब्याट्री पछि अर्को काम पनि लाग्छ । यसको पावर रिजर्भको लागि काम हुन्छ । यसमा ब्याट्रीको सेकेण्डरी प्रयोग गर्न सकिन्छ । २० वर्षपछि रिसाइकलको काम गर्नुपर्ने देखिन्छ । यसको लागि के गर्ने भन्ने चाहिं अहिल्यै सोचिहाल्नुपर्छ ।
(नाडाका उपाध्यक्ष तथा सिप्रदीका सिईओ राजनबाबुसँग अमृत चिमरियाले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4