२८ कात्तिक, काठमाडौं । डिल्लीबजार कारागार, जसले अपराधको पनि वर्ग हुन्छ भनेर प्रतिविम्बित गर्छ । नपत्याए मंगलबारको यो दृश्यतर्फ आँखा डुलाउनुस् ।
जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीको कक्षमा ल्याइएका अधिकांश कैदीबन्दी अक्सर चुपचाप, मलीन र उदास देखिन्थे । जतिबेलै प्रहरीले उनीहरुलाई पिछा नछाड्ने ।
मंगलबार भने यहाँ बिलकुल फरक दृश्य देख्न पाइयो । दीपक मनाङे मलिन र उदास होइन, उल्लास र ठाँटबाँटसहित भित्र पसे ।
ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सुनाइएका र बाँकी कैद सजाय भुक्तान गर्न प्रहरीले समातेर ल्याएका राजीव गुरुङ उर्फ दीपक मनाङे मुसुमुसु हाँस्दै भित्र आउँदा एकछिन त अदब र अभिवादन नै चल्यो ।
मनाङे आउने सूचना पाएर पहिल्यै तयारीमा बसेका फैसला कार्यान्वयन अधिकृत धनबहादुर कार्कीले मनाङे आएको ढोकातिर पुलुक्क हेरे । उनले पनि मुसुक्क हाँस्दै अभिवादन गर्न खोजे ।
त्यसपछि दृश्यावली बदलिइहाल्यो । प्रहरीले उनको हातबाट हत्कडी खोलिदियो । अघिसम्म हत्कडीमा रहेका भूपू मन्त्री र प्रदेश सांसद मनाङे अब सोफामा आरामले ढल्किए ।
सामान्यतः प्रहरीले हाईप्रोफाइललाई समात्दा हत्कडी लगाएको देखिँदैन । त्यसमाथि अदालतभित्र सबैलाई हत्कडीविनै लगिन्छ । मनाङेलाई भने सोफामा राखेर मात्र प्रहरीले हत्कडी खोलिदिएको थियो ।
उनी पनि कुनै अप्ठेरो मानिरहेका थिएनन् । बरु आफ्ना शुभचिन्तकहरुलाई त्यहीँ भेट्न खोजिरहेका थिए । विगतमा गुण्डागर्दीमा संलग्न हुँदा उनको समूहमा रहेर काम गरेकाहरु भेट्न अदालतमै पुगेका थिए ।
मनाङेले झ्यालमा आउँदै मिन्टु लगायतलाई भित्र बोलाएरै भेटे । प्रहरीको उपस्थितिबीच उनले संक्षिप्त भेट गर्दा प्रशासनले खासै रोक लगाएन । अदालत प्रशासनले उनको कागजात तयार गरिसकुञ्जेल साथीभाइसँग उनको गफ चलिरह्यो । कर्मचारीसँग पनि संवाद गरे । अन्तिममा डिल्लीबजार कारागार चलान गरिदिन फरमाइस राखे ।
‘अदालतले काठमाडौंमा रहेका दुई कारागारमध्ये एउटामा पठाउने हो, उनी पहिले पनि त्यहीँ बसेकाले पठाउनलाई कुनै अप्ठ्यारो थिएन’, अदालतका एक कर्मचारी भन्छन्, ‘त्यही अनुसार, डिल्लीबजार पठाउने गरी कागजात तयार पार्यौं ।’
त्यसो त अदालतको आदेशपछि पक्राउ पर्ने खबर पुगेलगत्तै उनको लागि डिल्लीबजार कारागारको आन्तरिक प्रशासनले बासस्थानको तारतम्य मिलाउन सुरु गरिसकेको थियो ।
कैदीबन्दीबाट नियुक्त हुने आन्तरिक प्रशासनमा मनाङेको सधैँ प्रभाव रहँदै आएको छ । अझ पाँच वर्षअघि मात्र यही कारागारबाट भव्य विदाइसहित थुनामुक्त भएकाले समेत उनका लागि कारागारको आन्तरिक प्रशासन नौलो होइन ।
त्यही प्रभावका कारण उनले सहजै कारागारको ‘ख’ ब्लकमा प्रवेश पाए । प्रहरी अधिकृतहरुका अनुसार, मनाङे जति पटक पक्राउ परेर पुर्पक्षका लागि थुनामा गए, त्यति नै पटक डिल्लीबजार कारागार रोजेका छन् । ‘पहिल्यैदेखि बसेकाले पनि होला, उनले त्यहीँ सहज मान्छन्’, डिल्लीबजार कारागारको सुरक्षामा काम गरिसकेका एक प्रहरी निरीक्षकले सुनाए, ‘त्यसमाथि उनले पहिले ‘ख’ ब्लकको कोठा मर्मत सम्भार र केही निर्माणमा समेत सहयोग गरेका छन् ।’
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक कनिष्ठ अधिकारी मनाङेका लागि चारखाल कारागार नभइ घर नै भएको व्यंग्य गर्छन् । ‘डिल्लीबजारमा उनका यति धेरै मान्छे छन् कि उनी बाहिर हुँदा पनि मजाले बोलबाला चल्छ’, उनले थपे, ‘सम्झनुस्, अहिले दीपक मनाङे आफ्नै घरमा बसिरहेको छ, उसले भनेको भन्दा त्यहाँ दायाँ–बायाँ हुँदैन ।’
डिल्लीबजार कारागारका जेलर पूर्णबहादुर खत्रीका अनुसार, कारागारभित्र बस्ने स्थानको व्यवस्थापन आन्तरिक प्रशासनले गर्ने गर्छ । ‘कारागारमा कसले कोठा बनायो वा के गर्यो भन्ने कुरा थाहा हुने विषय भएन’, खत्री भन्छन्, ‘तर, आफूसँग स्रोत हुने कैदीबन्दीहरुले परिस्थिति हेरेर सबैको भलाइका लागि काम गर्छन्, कोहीले मर्मत सम्भार गर्लान्, कोहीले पुस्तकालय बनाउलान् ।’
प्रहरी अधिकृतहरुका भनाइमा, मनाङेले पनि विगतमा कारागारभित्र थुप्रै कामहरु गरेका थिए । ‘सरकारी बजेट कति नै आउँछ ? त्यसमाथि कारागार सधैँ उपेक्षामा हुन्छ’, डिल्लीबजार कारागारका एक पूर्वजेलरले भने, ‘यस्तोमा मनाङेले कारागारको संरचना मर्मतमा सहयोग मात्र होइन, थोरै जरिवाना तिर्न नसकेर कारागारमा रहेकालाई समेत सहयोग गरिदिएको भेटेको छु ।’
उनका अनुसार, मनाङेले १५ हजार, २५ हजारदेखि ५० हजार रुपैयाँसम्म धरौटी बुझाउन नसक्दा कारागारमै रहेकाहरुलाई सहयोग गरेको भेटिन्छ । ‘अन्य आरोपीहरुले पनि त्यसरी सहयोग गर्छन्, तर छुटेपछि सहयोग लिनेहरुलाई गलत काममा प्रयोग गरेको पनि भेटिन्छ’, ती अधिकृत थप्छन् ।
मनाङेले त्यस्तै काम गरेर डिल्लीबजार कारागारमा कैदीबन्दीहरुको विश्वास जितेको ती जेलर बताउँछन् । ‘मनाङे जेलमा आउँदा कतिपय त खुशी पो हुँदा रहेछन्, जेलभित्र धेरै तनाव पनि नहुँदो रहेछ’, उनले थपे, ‘मनाङे सिनियर डन जस्ता हुँदा रहेछन्, उनी बोल्न थालेपछि सबै चुपचाप सुनेर बस्छन् ।’
सानोमा केटाकेटीहरु हजुरबुबाबाट कथा सुन्न वरिपरि बसेजस्तो मनाङेले ‘केटाहरुको बीचमा बसेर’ अपराधको दुनियाँका अनेक गफ चुट्ने गरेको कारागार सुरक्षामा खटिने अधिकारीहरुको अनुभव छ ।
अहिलेकै मुद्दामा पुनरावेदन दर्ता गरेर मनाङे ३१ असोज २०७५ मा तारेखमा छुट्दा अर्का डन गणेश लामाको संयोजनमा कारागारभित्र भव्य विदाइ भएको थियो । सत्तारुढ नेपाली कांग्रेसबाट राजनीति गरिरहेका लामा हातहतियार तथा खरखजनाको सम्बन्धी मुद्दामा कारागारमा थिए ।
मनाङे त्यहीबेला छुट्ने भएपछि लामासहितका कैदीबन्दीले फूलमाला र खादा लगाइदिएर मनाङेको श्रद्धापूर्वक विदाइ गरेका थिए । निस्किनुअघि मनाङेले केहीबेर भाषण पनि गरे, त्यसबेला कारागारका ‘केटाहरुको पिरमर्का सुन्न बेला–बेला आउने’ समेत बताएका थिए ।
महाराजगञ्जको चुफाङ रेष्टुरेन्टमा अर्का डन चक्रे मिलनको हात छिनाएको प्रकरणमा मनाङेसँगै लामा पनि प्रतिवादी थिए । यद्यपि, उनलाई अदालतले सफाइ दियो ।
काठमाडौंको गुण्डागर्दीको दुनियाँमा काभ्रेका लामालाई मनाङेले नै प्रवेश गराएको मानिन्छ । २०६२/६३ को जनआन्दोलनपछि ठमेलको एक रेष्टुरेन्टमा बाउन्सरका रुपमा काम गरिरहेका लामाको मनाङेसँग भेट भएको थियो । त्यसबेला उनले लामालाई आफ्नो समूहमा सामेल गराएका थिए । यद्यपि, पछि यी गुरु–चेलाको सम्बन्धमा तिक्तता आएको थियो ।
डनका रुपमा चिनिएका मनाङे हुन्, या गणेश लामा दुवैले कारागार जानुपर्दा डिल्लीबजार नै रोज्छन् । अहिले पनि डिल्लीबजार कारागारमा भीआईपीहरुको ताँती छ । कारागारको ब्लक ‘ख’ मा मनाङेसँगै भ्रष्टाचार आरोपित सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पनि छन् ।
‘क’ ब्लकमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सह–सचिव चुडामणि शर्मा, पूर्वसांसद् इच्छाराज तामाङ, सहकारी ठगी आरोपित केबी उप्रेती लगायत छन् । पत्नी हत्या आरोपमा कैद सजाय घटाउने आदेश उल्टिएपछि पक्राउ परेका सशस्त्र प्रहरी बलका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाले डिल्लीबजार कारागार जान खोजेका थिए ।
डिल्लीबजार कारागारमै रहेका बेला तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको कैद सजाय घटाउने आदेश दिएको थियो । त्यसअनुसार उनी ८ वर्ष ६ महिना कारागार बसेर थुनामुक्त भए । यद्यपि, जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएर निलम्बनमा परेका बेला कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको इजलासले त्यो फैसला उल्ट्याइदिएको थियो ।
आदेश आएको दुई दिनपछि प्रहरीले उनलाई पक्राउ गर्यो, त्यसबेला उनले पहिले बसेकै कारागार जान चाहे, केही कानून व्यवसायीमार्फत जाँचोपाँचो मिलाउने प्रयत्न गरे । यद्यपि, निलम्बित प्रधानन्यायाधीश जबराले सहयोग गरेको बुझाइ प्रशासनलाई परेपछि उनले डिल्लीबजार कारागार जाने अनुकूलता पाएनन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी समेत थुनामुक्त हुनुअघिसम्म डिल्लीबजार कारागारमै थिए । उनले पार्टी बैठक समेत त्यहीँबाट चलाएको भन्दै आलोचना समेत भएको थियो । जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका बेला पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा पनि डिल्लीबजार कारागार नै चलान भएका थिए ।
नेपाल प्रहरीका पूर्वडीआईजी पिताम्बर अधिकारीका अनुसार, राजधानीको पायक स्थान र अन्यत्रभन्दा थोरै कैदीबन्दी हुँदा डिल्लीबजार कारागार भीआईपीहरुको रोजाइमा पर्ने गरेको छ । ‘थोरै संख्या हुनु भनेको भेटघाटमा सहजता र छिट्टै टेलिफोन गर्ने सुविधा पाउनु पनि हो’, उनले अनलाइनखबरसँग भने, ‘यस्तोमा धेरैले डिल्लीबजार कारागार बस्न पाए सहज हुने ठानेका छन् ।’
कतिपय कैदीबन्दीले त्यो सहजताको दुरुपयोग गरेको उदाहरण समेत छन् । जस्तै, डिल्लीबजार कारागारबाट सुडान घोटाला प्रकरणका आरोपी शम्भु भारती मध्यराति होटलमा पुगेको समेत भेटिएको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले १९ चैत २०७४ मा कारागारमा रहेका केही कैदीलाई राति ठमेलको दोहोरी साँझमा लगिने गरेको भन्दै सार्वजनिक अभिव्यक्ति समेत दिएका थिए ।
आन्तरिक प्रशासनभित्र सहजता हुने भएर पनि हुनसक्छ, डिल्लीबजार कारागारमा विगतमा पूर्वमन्त्री श्यामसुन्दर गुप्ता, खुमबहादुर खड्का, पूर्वसांसद बालकृष्ण ढुंगेल लगायत समेत बसेका थिए ।
सुडान घोटाला प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वआईजीपी ओमविक्रम राणा र हेमबहादुर गुरुङ पनि डिल्लीबजार कारागार नै बसे । कुनै समय पूर्वप्रहरी प्रमुख राणा, पूर्वडीआईजी कोइराला लगायत कारागारमा टेबल टेनिस खेलेर समय विताउँथे ।
सीआईबीमा लामो समय काम गरेर स्वेच्छिक अवकाश रोजेका पूर्वप्रहरी निरीक्षक दीपेन्द्र अधिकारीको भनाइमा, डिल्लीबजार कारागारमा प्रायः ६ सयको हाराहारीमा मात्र कैदीबन्दी हुने हुँदा अन्यत्रभन्दा बसाइ सहज हुने गर्छ ।
त्यसमाथि चिनिएका व्यक्ति वा आर्थिक हैसियत राम्रो भएको मानिस डिल्लीबजार जाँदा आन्तरिक प्रशासनबाट सुविधा पाउन पनि सहज हुने स्थिति रहेको उनी बताउँछन् ।
जानकारहरुका अनुसार, थोरै मानिस र क्षेत्रफल पनि कम भएकाले डिल्लीबजारमा कैदीबन्दीलाई दिनभर क्यान्टिनबाट चिया मगाएर खाँदै रुखको फेदमुनि बसेर गफ गर्दै समय विताउने सुविधा पनि छ । ‘यस्तोमा कारागार चलान हुनै परेपछि भीआईपीले किन डिल्लीबजार नरोजुन् ?’, सीआईबीका पूर्वप्रमुख रहिसकेका अवकाश प्राप्त डीआईजी हेमन्त मल्ल पनि भन्छन् ।
प्रतिक्रिया 4