+

कर्णाली याक्समा शिखर धवन : कसरी सम्भव भयो सम्झौता ?

२०८१ कात्तिक  २९ गते २०:२० २०८१ कात्तिक २९ गते २०:२०

विश्व क्रिकेटको पावर हाउस भारतका लागि तीनवटै फर्म्याट खेलिसकेका धवन एनपीएलमा अनुबन्ध हुने ठूलो स्टार बने । भारतको राष्ट्रिय टिमबाट खेलिसकेर एनपीएल खेल्न आउने उनी पहिलो भारतीय क्रिकेटर हुनेछन् ।

कर्णाली याक्समा शिखर धवन : कसरी सम्भव भयो सम्झौता ?

२९ कात्तिक, काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने विषयले नेपाली क्रिकेटप्रेमीमाझ चर्चा पाएको छ ।

बिहीबार बिहान कर्णाली याक्सले टिम मालिक झनकदत्त खनाल र धवनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी सार्वजनिक गरेको छ । सम्झौता रकम भने खुलाइएको छैन ।

खनालले धवनको आगमन नेपाली क्रिकेटकै लागि उपलब्धि भएको बताए । ‘विश्वकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा हामी खुसी छौं । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धी हो’, उनले भने, ‘धवनको आगमनले कर्णाली याक्सलाई मात्रै नभई नेपाली क्रिकेट र खेलाडीलाई फाइदा पुग्ने विश्वास छ ।’

धवनले पनि एनपीएलमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् । ‘नमस्ते नेपाल । म कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेल्न आउँदैछु । सबैजनासँग मिल्न र कुरा गर्न आउँदैछु’, धवनले भिडियो सन्देशमा भनेका छन्, ‘त्यसैले ठूलो खेलका लागि तयार हुनुस् ।’

सम्झौता अनुसार धवनले कर्णाली याक्सबाट चारवटा खेल खेल्नेछन् । ‘हामीले ५ खेलको प्रस्ताव गरेका थियौँ । उहाँले कम्तीमा ४ खेल खेल्ने र समय मिलेमा थप खेल खेल्ने बताउनुभयो’, कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेले भने ।

यसअघि विराटनगर किंग्सले न्युजिल्याण्डका मार्टिन गप्टिललाई अनुबन्ध गरेको थियो । तर विश्व क्रिकेटको पावर हाउस भारतका लागि तीनवटै फर्म्याट खेलिसकेका धवन एनपीएलमा अनुबन्ध हुने ठूलो स्टार बने ।

एनपीएल खेल्न भारतका धवनसहित सुरेश रैना, दिनेश कार्तिक, केदार जाधव, रोविन उथपाजस्ता स्टार खेलाडीले इच्छा देखाएका थिए । उनीहरुले करोडमाथिको मूल्य राखेका थिए । तीमध्ये कर्णालीले धवनलाई नै अनुबन्ध गर्न सफल भयो ।

यसअघिका लिगहरुमा भारतको घरेलु लिग खेलेका र उमेर समूहबाट खेलेका खेलाडीहरु नेपालमा खेल्न आएका थिए ।

धवनले भने भारतका लागि आईसीसी च्याम्पियन्स ट्रफी र एसिया कप जितिसकेका धवनले सनराइजर्स हैदरवादबाट आईपीएल उपाधिसमेत जितिसकेका छन् ।

३८ वर्षीय बायाँ हाते ब्याटर धवनले सन् २०१३ मा मोहालीमा अष्ट्रेलिया विरुद्ध टेष्ट डेब्युमै शतक प्रहार गरेका थिए । डेब्यु टेष्टको पहिलो इनिङ्समै १८७ रन हानेका उनी प्लेअर अफ दि म्याच नै घोषित भएका थिए ।

विश्वकै चर्चित  र ग्ल्यामरस लिग आईपीएलमा सर्वाधिक रन बनाउनेमा धवन विराट कोहलीपछि दोस्रो स्थानमा छन् । धवनले हैदरावाद डेक्कन चार्जर्स,  मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबाट आईपीएल खेलिसकेका छन् ।

भारतका लागि उनले सबैखाले फर्म्याटमा गरी १० हजार भन्दा बढी रन बनाएका छन् । आफ्नो क्रिकेट करियरमा भने उनले अन्तर्राष्ट्रिय र डोमेस्टिकमा गरी ३० हजार रन बनाइसकेका छन् ।

 कसरी सम्भव भयो सम्झौता ?

धवनसँग सम्झौता गर्न कर्णाली याक्सका मालिक झनकदत्त खनाल र निर्देशक गृहेन्द्र घिमिरे भारत पुगेका थिए ।

गुडगाउँस्थित धवन बसेको अपार्टमेन्टको २२औं तल्लामा सम्झौता कार्यक्रम भएको घिमिरेले जानकारी दिए । ‘उहाँ एदकमै हम्बल व्यक्ति हुनुहुँदो रहेछ । चिया पिउँदै गफ गर्‍यौँ । मैले कर्णाली याक्सको डल लगेको थिएँ, त्यो लिनुभयो’, घिमिरेले भने ।

नेपाल क्रिकेट टिम (क्यान) र फ्रेन्चाइजहरुको छलफलमा सबै टिमले एउटा राम्रो खेलाडी अनुबन्ध गर्ने विषयमा छलफल भएको थियो । भारत छिमेकी देश र नेपालमा भारतीय क्रिकेट पछ्याउने समर्थक धेरै भएकोले कर्णालीले भारतीय खेलाडी खोजेको थियो ।

‘एउटा भारतीय खेलाडी ल्याउँ भनेर कुरा भएको थियो । सुरुमा क्यानले नै यसको सुरुवात गर्‍यो । त्यसपछि हामीले शिखर धवनसँग विभिन्न चरणमा इमेलमा कुराकानी गर्‍यौँ’,घिमिरेले भने ।

कर्णाली टिमले धवनसम्म पुग्न विभिन्न स्रोतमार्फत प्रयास गरिरहेको थियो । भारतका लागि कार्यवाहक राजदूत सुरेन्द्र थापासँग पनि धवनको विषयमा कुराकानी भएको घिमिरेले बताए ।

‘एम्बेसीबाट कुरा जाँदा कर्णाली याक्ससँग हाम्रो कुरा भइरहेको छ भन्नुभएछ । त्यसले पनि ट्रस्ट डेभलपमेन्ट भयो’, घिमिरेले भने ।

अनि मिति तय गरेर धवनसँग सम्झौता गर्न कर्णाली याक्सको टोली भारत गएको थियो । मंगलबार बेलुका धवनसँग सम्झौता गरेर टोली काठमाडौं फर्कियो ।

घिमिरेले धवनको आगमन नेपाली क्रिकेटमा कोशेढुंगा बन्न सक्ने बताए । धवनले नेपाल आउँदा पशुपतिनाथ दर्शन गर्ने प्रस्ताव राखेका थिए । टिमले उनलाई पशुपति दर्शन र माउन्टेन फ्लाइट पनि गराउने भएको छ

घिमिरेले धवनलाई कर्णाली प्रदेशको विभिन्न स्थानको बारेमा जानकारी गराउदै रारामा घुम्ने प्रस्ताव पनि राखेका थिए । ‘रारा पनि घुम्ने प्रस्ताव गरेका छौँ मिल्यो भने यसै पटक घुम्ने कुरा छ । यस पटक नभए अर्को पटक आउँदा रारा, शे-फोक्सुन्डो लगायत कर्णाली क्षेत्र घुम्ने भन्नुभएको छ’, उनले भने ।

 धवनको प्रदर्शन

३८ वर्षीय बायाँ हाते ब्याटर धवनले सन् २०१३ मा मोहालीमा अष्ट्रेलिया विरुद्ध टेष्ट डेब्युमै शतक प्रहार गरेका थिए । डेब्यु टेष्टको पहिलो इनिङ्समै १८७ रन हानेका उनी प्लेअर अफ दि म्याच नै घोषित भएका थिए ।

त्यसअघि उनले सन् २०१० मा अष्ट्रेलिया विरुद्ध नै ओडीआईमा डेब्यु गरेका थिए भने २०२१ मा वेष्ट इन्डिज विरुद्ध टी-२०आईमा डेब्यु गरेका थिए ।

उनले भारतका लागि ३४ टेष्ट, १६७ ओडीआई र ६८ टी-२० आई म्याच खेलेका छन् । टेष्टमा ७ शतक मद्दतमा दुई हजार ३१५ रन बनाएका धवनले ओडीआईमा ६ हजार ७९३ रन बनाएका छन् जसमा १७ शतक समावेश छ । यस्तै टी-२०आईमा उनले ११ अर्धशतक मद्दतमा १ हजार ७५९ रन बनाएका छन् ।

धवनले भारतका लागि पछिल्लो पटक सन् २०२१ मा श्रीलंका विरुद्ध टी-२० आई म्याच खेलेका खेलेका थिए । यस्तै उनले भारतको राष्ट्रिय टिमका लागि पछिल्लो पटक सन् २०२२ डिसेम्बरमा बंगलादेशविरुद्ध ओडीआई म्याच खेलेका थिए ।

धवनले पछिल्लो सिजन पञ्जाब किंग्सबाट आईपीएल खेलेका थिए । उनले आईपीएलमा पाँच फरक टिमबाट गरी कूल २२२ खेल खेलेका छन् । जसमा उनले २ शतकसहित ६ हजार ७६९ रन बनाएका छन् । धवन आईपीएलमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी समेत हुन् ।

उनले सबैखाले टी-२० गरी ३३४ खेल खेल्दै ९ हजार ७९७ रन बनाएका छन् । जसमा उनले २ शतक समेत प्रहार गरेका छन् ।

धवनले भारतका लागि च्याम्पियन ट्रफीदेखि एसिया कपसम्मका खेलहरु जितेका छन् । यस्तै धवनले सनराइजर्स हैदरवादबाट इन्डियन प्रिमियर लिग (आईपीएल) समेत जितेका छन् ।

कर्णाली याक्स नेपाल प्रिमियर लिग शिखर धवन

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय