+
+

नेपालका लागि मोदीको ‘फोर सी’ फर्मूला

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १९ गते २१:१८

Modi

१९ साउन, काठमाडौं । दुई दिने नेपाल भ्रमण पूरा गरेर नरेन्द्र मोदी दिल्ली फर्किसक्दा पनि नेपालतर्फबाट भ्रमणको सफलता बारे कुनै प्रतिक्रिया आएको छैन । तर, भारतीय विदेश मन्त्रालयले भने नेपाल भारत सम्बन्धमा यो भ्रमणले नयाँ युगको शुरुवात गरेको भन्दै ‘फोर सी’को फर्मूलामा मोदीले नेपाली पक्षसँग ‘डिल गरेको’ जनाएको छ ।

मोदी दिल्ली फर्किनुअघि हायात रिजेन्सी होटलमै साउथ ब्लकका प्रवक्ता सइद अकबरुद्दिनले नेपालका नेता र सरकारी अधिकारीहरुले समेत नेपाल भारत सम्बन्धले उचाइ लिएको र नयाँ युगको शुरुवात भएको प्रतिक्रिया दिएको बताए । उनले भने ‘अब नेपाल भारत सम्बन्ध ‘फोर सी’ को सिद्धान्तअनुसार अघि बढ्छ ।’

फोर ‘सी’ भनेको के हो ?

फोर सीको सिद्धान्तका प्रतिपादक प्रधानमन्त्री मोदी नै भएको पनि उनले प्रष्ट पारे । ‘फोरसी’ अन्तर्गत के-के पर्छन् त ? पत्रकार प्रश्नमा प्रवक्ताले भने ‘कोअपरेशन, कनेक्टिभिटी, कल्चर र कन्स्टिच्युसन नेपालका लागि भारतले सघाउने क्षेत्र हुन् ।’

मोदीको सूत्र अनुसार को-अपरेशन (सहकार्य), कनेक्टिभिटी (सम्पर्क), कल्चर (संस्कृति) र कन्टिच्युसन (संविधान) को क्षेत्रमा सघाउनु यो भ्रमणको मुख्य उद्देश्य रहेको उनले बताए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अकबरुद्दिनका अनुसार पहिलो सी अन्तर्गत नेपालको पूर्वाधार निर्माणमा भारतले १ खर्ब सहुलियत ऋण सहयोग गर्ने, पञ्चेश्वर विकास प्राधीकरण गठन तथा एक वर्षभित्र डीपीआर तयार पार्ने र माथिल्लो कणर्ालीको विकास परियोजना सम्झौता ४५ दिनभित्र गर्ने पर्छन् ।

त्यस्तै दोस्रो सी अर्थात कनेक्टिभिटीअन्तर्गत पश्चिम नेपाल र भारतको उत्तरप्रदेश तथा दिल्लीलाई जोड्न महाकालीमा मोटर गुड्ने पुल बनाउने घोषणा र हुलाकी मार्गको दोस्रो फेज एक वर्षभित्र बनाइसक्ने रहेका छन् ।

तेस्रो सी अर्थात संस्कृतिमा पशुपतिनाथ मन्दिरलाई २५ क्वीन्टल सेतो चन्दन उपहार, धर्मशाला निर्माणमा सहयोगको घोषणा, पाशुपत क्षेत्रको उत्खनन् तथा संरक्षणका लागि २५ करोड भारु सहयोग गर्ने र लुम्बिनी एवं जनकपुरको विकासका लागि नेपालले अघि सार्ने प्रस्तावमा सहयोग गर्ने पर्छ ।

चौथो सी अन्तर्गत मोदीले नेपालको संविधान निर्माणमा सबै राजनीतिक दलका नेता र सरकारलाई विशेष मन्त्रणा गरे । प्रवक्ताले भने ‘सबै राजनीतिक दललाई पार्टीभन्दा माथि उठेर देशबारे सोच्न र सबैले अपनत्व महशुस गर्ने संविधान बनाउन मोदीले जोड दिनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?