९ असोज, काठमाडौं । नेपालका ट्वीटर प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमार्फत संगठित भई प्रत्यक्ष रुपमा सामाजिक सुधारका काम गर्न ट्वीटेहरुको सामाजिक संस्था दर्ता गराएका छन् ।
ट्वीटर प्रयोगकर्ताहरुले २०७१ असोज ८ गते बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सामाजिक उद्देश्यका लागि ट्वीट नेपाल’ टीएफएससीएन दर्ता गराएका हुन ।
संस्थाको अध्यक्षमा राज खरेल छन् । उपाध्यक्षमा रुक्मिणी पोखरेल, कोषाध्यक्षमा नवराज गौतम, सचिवमा सुनिता बराल छन् । सदस्यहरुमा निशा ओली, केशव गौतम र नविनकुमार लुईँटेल रहेको टिएफसिएनले जनाएको छ ।
‘र्भचुअलवाट रियलतर्फ’ भन्ने नारा बोकेको संस्थाले सामाजिक सञ्जाल ट्वीटरमार्फत विपत्तिमा सामाजिक अभियान संचालन गरी सहायता गर्ने, कानूनी समस्यामा रहेकाहरुलाई निशुल्क कानूनी सहायता लगायतका काम गर्ने उद्देश्य राखेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सामाजिक सञ्जालमार्फत काम गर्ने गरि दर्ता भएको यो नेपालको पहिलो गैर सरकारी संस्था हो ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत नै यो संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा काम गर्ने बताइएको छ । संस्थामा ट्वीटरका करिव एक हजार प्रयोगकर्ता आबद्ध रहेको उनीहरुको दावी छ ।
प्रतिक्रिया 4