२३ मंसिर, काठमाडौं । डेभिड वार्नरले भारतविरुद्धको पहिलो टेष्टको पहिलो दिन बनाएको शतक स्वर्गीय व्याट्सम्यान फिलिप हृयूजप्रति समर्पित गरेका छन् ।
अष्ट्रेलियाका २५ वर्षीय व्याट्सम्यान हृयूजको दुई साताअघि क्रिकेट बलले लागेर निधन भएको थियो । घरेलु क्रिकेटको एक खेलका क्रममा बाउन्सर बलले लागेर क्रिजमै ढलेका उनको उपचारका क्रममा निधन भएको थियो ।
मंगलबार एडिलेड ओभलमा भारतविरुद्ध पहिलो टेष्ट सुरु गर्नुअघि अष्ट्रेलियाली टोली निकै भावुक देखियो । कप्तान माइकल क्लार्कले आँसु थाम्न सकेनन् ।
खेल हेर्न उपस्थित भएका दर्शकले ६३ सकेण्डसम्म हृयूजको सम्मानमा ताली बजाए । हृयूज ६३ रनमा अविजित रहँदा बलले लागेर मैदानमै ढलेका थिए ।
अष्ट्रेलिया टीमका सदस्यहरुले पी.एच. (फिलिप हृयूज) देखिएको कालो पट्टी पाखुरामा बाँधेका थिए भने टिसर्टमा क्रिकेट अष्ट्रेलियाको लोगो मूनी ४०८ लेखिएको थियो । ४०८ हृयूजको टेष्ट क्याप नम्बर थियो ।
अष्ट्रेलियाको १३ सदस्यीय टोलीमा हृयूजको नाम १३ औं नम्बरमा समेत राखिएको छ ।
खेलमा जब वार्नरले १०६ बलमा १४ चौकाको मदतमा शतक बनाए आकासतिर हेरेर ब्याट उठाए । साथै उनले आकासतिर हेर्दै उफ्रिएर नै शतकको खुसी मनाए ।
खेलपछि वार्नरले भनेका छन्-‘जब मैले १०० रन बनाएँ । उनी (हृयूज) अर्का इण्डमा थिए र मैले यो शतक उनलाई डेडिकेट गरेको छु ।’
स्मिथले पनि शर्धशतक र नटआउट ६३ बनाउँदा आकासतिर व्याट उठाएर खुसी मनाएका थिए ।
वार्नरको १४५ रनको मदतमा अष्ट्रेलियाले पहिलोको दिनको खेल सकिँदासम्म ६ विकेटको क्षतिमा ३५४ रन बनाएको छ ।
१६३ बलमा १९ चौका हालेका वार्नरलाई कर्ण शर्माको बलमा इशान्त शर्माले क्याच गरे । अष्ट्रेलियाका लागि स्टभेन स्मिथले अविजित ७२ रन बनाए भने माइकल क्लार्क ६० रनमा रिटार्यड हट भए ।
भारतका मोहम्मद सामी र एरोनले समान २-२ विकेट लिए भने इशान्त शर्मा र कर्ण शर्माले १-१ विकेट लिए ।
प्रतिक्रिया 4