२२ मंसिर, काठमाडौं । शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका माध्यमिक तहका उम्मेदवारहरुलाई पदस्थापन गर्दा अस्थायी र करार शिक्षकहरुलाई सकेसम्म विस्थापित नगर्न शिक्षा सेवा आयोगले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको छ । शिक्षा मन्त्रालयले नयाँ मापदण्ड बनाए पछि सोही अनुसार आयोगले यस्तो निर्देशन दिएको हो ।
स्थायी शिक्षकहरुको नियुक्तिसँगै अस्थायी दरवन्दी वा करारमा खाइपाई आएको जागिर खोसिने भएपछि शिक्षक संघ संगठनहरुले सरकारलाई दबाव दिँदै आएका थिए । सेवा आयोग उत्तीर्ण गरेर स्थायी भएका शिक्षकहरुबाट अस्थायी दरवन्दीमा कार्यरत शिक्षकहरुलाई प्रतिस्थापन गर्ने अन्तिम तयारी भैरहेकाबेला मन्त्रिस्तरीय निर्णयअनुसार विभागले ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई पुनः परिपत्र गरेर सकेसम्म जागिरबाट नहटाउन भनेको हो ।
यसअघि गत कात्तिक १७ गते विभागले सात बुँदे आधार तय गरी क्षेत्रीय शिक्षा निर्देशनालय तथा जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गरेको थियो ।
गत आइतबारको चलानी नम्बर ३९ को नयाँ परिपत्रमा अस्थायी शिक्षक कार्यरत विद्यालयमा उनीहरुलाई सकेसम्म कम विस्थापन गर्ने गरी पदस्थापन गर्न भनिएको छ । परिपत्रमा ८ नम्बर बुँदा थपेर अस्थायी भएकै कारण विस्थापित हुनसक्ने शिक्षकलाई अस्थायी दरबन्दी तथा राहत अनुदान कोटामा नियुक्तिको जेष्ठताका आधारमा जिल्ला शिक्षा समितिको निर्णय गराएर ब्यवस्थापन गर्न भनिएको छ ।
परिपत्रमा शिक्षक सेवा आयोग उत्तिर्ण माध्यमिक तहका उम्मेद्वारलाई पदस्थापन गर्दा महिला, अपाङ्गता भएका (परिचय पत्र ‘क’ र ‘ख’) र अस्थायी शिक्षकलाई ध्यान दिने ब्यवस्था गर्न भनिएको छ ।
‘महिला उम्मेद्वारले योग्यता क्रमको आधारमा निजले माग गरेको विद्यालयमा पदस्थापन गर्ने’ परिपत्रमा उल्लेख छ । यसअघि पहिलो परिपत्रमा उक्त बुँदामा शुद्ध रिक्त दरबन्दीमा अस्थायी करारमा नियुक्त भई कार्यरत रहेको विद्यालय नै माग गरेमा विषय र दरबन्दी भएसम्म सोही विद्यालयमा गर्ने, अपाङ्गता भएका उम्मेद्वारहरुलाई योग्यताक्रमको आधारमा माग गरेको विद्यालयमा र बाँकीको हकमा शिक्षक सेवा आयोगबाट प्रकाशित योग्यताक्रम बमोजिम उम्मेद्वारहरुले माग गरेका आधारमा पदस्थापन गर्ने मात्रै उल्लेख थियो ।
विस्थापित हुन सक्ने अस्थायी शिक्षकले स्वेच्छाले आफू तल्लो तह वा राहतमा काम गर्न चाहेको खण्डमा पदस्थापनको निर्णय भएको मितिसम्म रिक्त रहेका दरबन्दी तथा राहत अनुदान कोटामा ब्यवस्थापन गर्न सकिने ब्यवस्था पनि गरिएको छ ।
अस्थायी, करार र राहत कोटामा कार्यरत शिक्षकहरुलाई उचित व्यवस्थापन गर्न शिक्षक संघ संगठनहरुले आन्दोलन थालेपछि शिक्षा सेवा आयोग पास गरेर स्थायी भएकाहरुलाई सरकारले लामो समयदेखि नियुक्ति दिन सकेको छैन ।
अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरुलाई गोल्डेन ह्याण्डसेक दिएर विदा गर्ने शिक्षा मन्त्रालय र शिक्षक संघ संगठनबीच सम्झौता भएपनि त्यसबारे परिपत्रमा भने कुनै उल्लेख गरिएको छैन ।
प्रतिक्रिया 4