१३ मंसिर, काठमाडौं । विदेशमा विभिन्न कारणले समस्या भोग्दै हुनुहुन्छ कि अलपत्र नै पर्नुभएको छ ? सरकारको सहयोग चाहिएको हो भने अब सिधै सरकारको टोल फ्री नम्बर १६६००१०९९९९ मा कल गर्नुस् ।
वैदेशिक रोजगार सम्बन्धी सबै गुनासो सुन्न वैैदेशिक रोजगार विभागले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । र,यसमा फोन गर्दा पैसा लाग्दैन । यो नम्बरमा फोन गरेर यसमा विदेश जाने क्रममा स्वदेशमै विभिन्न समस्या भोगेका र ठगिएकाहरुले पनि गुनासो तथा उजुरी गर्न सक्नेछन् ।
विभागले अहिले कार्यालय समयमा उजुरी लिन थालेको छ । केही दिनपछि जनशक्ति व्यवस्थापन गरेर विहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म कामदारको गुनासो सुन्ने व्यवस्था गरिने प्रवक्ता रमा भट्टराईले अनलाइनखबरलाई जानकारी दिइन ।
पछिल्लो समयमा विदेश जाने क्रममा र विदेशमा रोजगारीकै क्रममा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ । हेल्पडेस्क स्थापना भएपछि विदेशमा समस्या भोगेकाहरुले सरकारसमक्ष सिधै टेलिफोनमार्फत आˆना गुनासा र उजुरी दर्ता दर्ता गर्नसक्नेछन् ।
यसैका आधारमा आवश्यक सहयोगका लागि पहल तथा उद्धारका लागि प्रक्रिया अघि बढाउने विभागले बताएको छ ।
नेपाल प्रहरीले पनि ११७७ नम्बरको हटलाइनमार्फत वैदेशिरक रोजगारीका गुनासो र उजुरीको सुनुवाइ गरिरहेको छ । तर, उद्धारका लागि प्रहरीसँग स्रोतको अभाव छ । र, उसले ठगीका उजुरी मात्र हेर्न थालेको छ ।
अब भने सरकारी तवरबाटै श्रमका लागि विदेशिनेको गुनासो प्रभावकारी सुनुवाइ गर्ने गरी हेल्पडेस्क स्थापना गरिएको विभागकी निर्देशक भट्टराईले बताइन् । उनकाअनुसार केही समयभित्र विभागमा स्थापना हुने डेस्कबाट विदेशमा दुःख भोगिरहेकाहरुको गुनासो औपचारिक रुपमा दर्ता गरेर आवश्यक सहयोग गरिनेछ ।
‘टोल फ्री नम्बरबाट सल्लाह र सुझाव पनि दिइनेछ । साथै प्राप्त गुनासो त्यही संयन्त्रमार्फत रेकर्ड गरेर अभिलेखीकरण सहित आवश्यक उद्धार प्रक्रियाका लागि पहल गर्नेछौं’ उनले भनिन् ।
प्रतिक्रिया 4