१४ माघ, काठमाडौं । मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक परिर्माजनसहित अघि बढाउन नयाँ शक्तिसँग मिलेर सरकारलाई दबाव बढाएको छ । उसले फागुनदेखि आन्दोलन गर्नेबारे छलफल पनि थालेको छ ।
संविधान संशोधन विधेयकमा गर्ने परिर्माजनबारे तीन दलीय कार्यदलले शुक्रबारबाट छलफल थालेको हो । त्यही दिन मधेसी मोर्चा, संघीय गठवन्धन र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति-मधेसी मोर्चाको बैठक छुट्टा छुट्टै बस्यो ।
मधेसी मोर्चाले सरकार गठनका क्रममा भएको तीनबुँदे सहमति कार्यान्वयनको समिक्षा गर्ने निर्णय गरेको छ । सरकारले संशोधन दर्ता गराए पनि प्रक्रिया अघि नबढेको र सबै माग सम्बोधन हुन सक्ने अवस्था नभएको मोर्चाका नेताहरुले बताएका छन् । सरकारले संशोधन अघि बढाउनुको सट्टा चुनाव मात्र भनेको भन्दै नेताहरुले असन्तुष्टि जनाए ।
बैठकमा संशोधन परिमार्जनसहित पास गर्न एक महिने अल्टिमेटम दिने र नभए फागुनबाट आन्दोलन थाल्नेबारे छलफल भएको रामसपाका महासचिव केशव झाले बताए ।
मोर्चामा आन्दोलनबारे दुई मत देखिएको छ । केहीले सामान्य दबावमुलक आन्दोलनमा जोड दिएका छन् भने केहीले हड्तालसहितको कडा आन्दोलन गर्नु पर्ने बताएका छन् ।
बैठकमा संविधान संशोधन विधेयकमा गरिने परिर्माजन र सरकारले ल्याउने भनेको पुरक संशोधनमा आफ्ना धेरैभन्दा धेरै माग कसरी समावेश गर्ने भन्नेबारे छलफल भएको छ ।
साथै स्थानीय तह पुनर्संरचनाको विरोधमा एकदिने दबावमुलक आन्दोलन गर्नेबारे छलफल भएको छ । यसबारे भोलिको बैठकले निर्णय गर्ने सम्भावना छ ।
लगत्तै मधेसी मोर्चासहित संघीय गठवन्धनको बैठक बसेको छ र, संशोधन अघि नबढे फागुनबाट आन्दोलन सुरु गर्नेबारे नेताहरु सहमत देखिएका छन् ।
बाबुराम र मोर्चाको सहकार्य
मधेसी मोर्चा र बाबुराम भट्टराई नेतृत्वको संघीय गठवन्धनको बैठक बसेर संविधान संशोधन विधेयकमा गरिने परिमार्जनबारे साझा धारणा बनाउने प्रयास भएको छ ।
भोलि तीन पक्षीय कार्यदलको बैठक बस्नु अघि नै संशोधनबारे साझा मत बनाइने नेताहरुले बताए ।
प्रतिक्रिया 4