+
+

प्रचण्डको दाबी- नयाँ शक्तिका पूर्वमाओवादी फर्किँदैछन्

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २२ गते २०:२१

२२ साउन, पोखरा । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्ति पार्टीमा रहेका पूर्वमाओवादी सबै नेताहरु फर्किन लागेको दाबी गरेका छन् । जनताले फुटलाई अस्वीकार गरेकाले अब माओवादी एक हुनुको विकल्प नरहेको उनले बताए ।

चार नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई आइतबार पोखरामा सम्बोधन गर्दै प्रचण्डले भने, ‘नयाँ शक्तिका पूर्व माओवादी साथीहरु लगभग सबै नै आउँदै हुनुहुन्छ । सबै माओवादी साथीहरु र्फकने अवस्था छ ।’

मोहन वैद्य र विप्लव नेतृत्वको नेकपाभित्र पनि एकताका लागि दवाव परेको प्रचण्डले दाबी गरे ।

‘वैद्यजी, बाबुरामजी लगायतका साथीहरु पार्टीलाई रुपान्तरण गर्न र नयाँ बनाउन जानुभएको हो । तर, सक्नुभयो त ?’ प्रचण्डले भने, ‘जनताले फुटलाई अनुमोदन गरे त ? जनताले फुटलाई अस्वीकार गरे । अब माओवादी एक हुनुको विकल्प छैन ।’

यसअघि काठमाडौंमा एक सातासम्म बसेको माओवादी केन्द्रको सचिवालयको बिस्तारित बैठकले पनि बाबुराम, वैद्य र विप्लवलाई एकताको आह्वान गरेको थियो । तर, तीनै जना नेताहरुले त्यसलाई अस्वीकार गरिसकेका छन् ।

प्रचण्डले भने पार्टीलाई रुपान्तरण गर्ने र नयाँ बनाई छोड्ने संकल्प आफूहरुले गरेको भन्दै एकताको मुख्य जिम्मेवारी पूरा गरेरै छाड्ने बताउँदै आएका छन् ।

‘२ नम्वर प्रदेशमा परिणाम बाँकी छ । तर, ६ प्रदेशको परिणामले सबै माओवादीहरु माओवादी केन्द्रमा आउ भन्यो । जनताले हामीलाई एकताको नेतृत्व गर्न पनि आदेश दिएका छन्,’ प्रचण्डले भने ।

वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र कार्यशैलीमा आएको डरलाग्दो ह्रास नै माओवादी केन्द्रको समस्या हो भन्दै प्रचण्डले त्यसलाई सुधार्नुपर्नेमा जोड दिए ।

संगठन सुदृढिरणमा अब विशेष जोड दिनुपर्ने धारणा राखे । ‘वर्गसंघर्षको अचुक हतियार भनेको संगठन हो । विचारको प्राथमिकतापछि संगठनको विशेष महत्व हुन्छ । संगठन, संगठन र फेरि पनि संगठनको हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने ।

राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा देशव्यापी बहस र अभियान चलाउने उनले बताए ।

एमालेलाई संघीयता घाडो भएको र गणतन्त्र पनि मन नपरेको भन्दै प्रचण्डले भने, ‘एमालेलाई समावेशिता पनि मन परेको छैन । हिजो आफैले हरुवा, चरुवा, गोठालो राखेका मान्छेहरु आज सांसद, मन्त्री बन्दा असैहृय भएको छ । माओवादीले पहल नलिने, जनतालाई प्रशिक्षित नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउँछन् ।’

 

तेस्रो भए पनि जनमत कमजोर छैनः बादल

यसैगरी रामबहादुर थापा बादलले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र तेस्रो हुनुलाई रुपान्तरणको अपेक्षा राखेर जनताले दण्डित गरेको रुपमा लिनुपर्ने बताए ।

माओवादीको जनमत कमजोर नभएको र निर्वाचन परिणामले माओवादी नेपाली राजनीतिको वैकल्पिक धारा स्थापित भएको उनको दाबी छ ।

‘कांग्रेस, एमालेको वैचारिक धारामा खासै अन्तर छैन । उनीहरुका एजेण्डा र दृष्टिकोणमा ठूलो अन्तर छैन । उनीहरु परिवर्तनको बाहक होइनन् । जनताले हामीलाई क्रान्तिकारी बिकल्पका रुपमा छानेका छन् । तर, हाम्रा कमजोरीलाई जनताले दण्डित पनि गरेका छन् । रुपान्तरणको अपेक्षा राखेका छन्,’ नेता बादलले भने ।

उनले संगठनहरुलाई क्रान्तिकारी जनसंगठनका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘क्रान्तिकारी संगठन, व्यापक जनसंगठन र क्रान्तिकारी पार्टी निर्माण नै अहिलेको हाम्रो मूल कार्यभार हो,’ नेता बादलले भने, ‘संगठन ठूलो भएर पुग्दैन, त्यो संगठन लक्ष्यप्रति प्रतिवद्ध, अनुशासित र संकल्प एकतामा आधारित हुनुपर्छ ।’

माघ ७ भित्र प्रदेश र संघीय निर्वाचनः प्रकाश

कार्यक्रममा नारायणकाजी श्रेष्ठ प्रकाशले बिचार समूह नभएको र स्वार्थ समूह बिघटन नभइसकेको बताए । उनले संगठनात्मक व्यवस्थापन र सुदृढ एकता पनि नभएको बताए ।

हरहालतमा माघ ७ गतेभित्र प्रदेश र संघीय निर्वाचन गर्नुपर्ने भन्दै उनले त्यसमा दायाँ-बायाँ गर्ने छुट कसैलाई नभएको बताए ।

सरकारमा रहेर राम्रा काम गरे पनि प्रचार गर्न नसक्दा चुनावमा अपेक्षाकृत परिणाम नआएको श्रेष्ठले बताए । पार्टीको प्रचार संयन्त्र धेरै नै कमजोर भएको भन्दै उनले भने, ‘अध्यक्ष प्रचण्डले गरेजस्ता कामको प्रचार गर्न नसकेको सरकारमा बसेर कांग्रेस, एमालेले गर्थे भने त्यसलाई धेरै प्रचार गरिन्थ्यो । तिललाई पहाड बनाइन्थ्यो ।’

पार्टीलाई एकतावद्ध बनाएर गएमा आगामी निर्वाचनमा राम्रो विजय हासिल गर्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?