१४ भदौ, काठमाडौं । आउँदो शुक्रबार काठमाडौंमा बस्ने भनिएको माओवादी केन्द्रको सचिवालय बैठक वीरगञ्ज महानगरपालिकामा बस्ने भएको छ ।
बैठकमा भाग लिन पूर्वनिर्धारित तालिका अनुसार जिल्लाबाट राजधानी आइपुगेका नेताहरु फेरि मधेसतिरै झर्नुपर्ने भएको छ ।
‘काठमाडौंमा शुक्रबार सचिवालयको बैठक बस्ने भनेर म बिराटनगरबाट आजै राजधानी आइपुगें,’ माओवादी नेता गोपाल किरातीले अनलाइनखबरसँग भने, ‘तर, बैठक सारेर वीरगञ्ज पुर्याइएछ, अब भोलि नै वीरगञ्जतिर लाग्नुपर्ने भयो ।’
पार्टी अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेताहरु अहिले मधेसमै केन्दि्रत भएकाले केन्द्रीय सचिवालयको बैठक पनि काठमाडौंको साटो वीरगञ्जमै राखिएको माओवादी नेताको भनाइ छ ।
वीरगञ्जमा बस्ने बैठकले दुई नम्बर प्रदेशका उम्मदेवारहरुको टुंगो लगाउने माओवादी नेताले जानकारी दिए ।
माओवादी अध्यक्ष प्रचण्डले बुधबार सर्लाही पुगेर विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामेश्वर रायलाई माओवादीमा प्रवेश गराएका छन् ।
यसअघि मंगलबार जनकपुरमा प्रचण्डले सदभावना पार्टीका नेता अनिश अन्सारीलाई माओवादी प्रवेश गराएका थिए ।
धनुषामा नयाँ शक्तिबाट रामचन्द्र झा लगायतका नेताहरु माओवादी केन्द्रमा फर्किएपछि २ नम्बर प्रदेशको चुनावमा उत्साह थपिएको भन्दै माओवादी नेताहरु हौसिएका छन् ।
प्रतिक्रिया 4