Comments Add Comment

पहिलो त्रैमाशमा राजश्व संकलनमा गिरावट


७ कात्तिक, काठमाडौं । चालू आर्थिक वर्ष ०७४/७५ को पहिलो त्रैमाशमै राजश्व संकलनमा गिरावट आएको छ । तुलनात्मक रुपमा बढी संकलन हुनुपर्ने समयमा राजश्वले लक्ष्य भेट्न नै मुस्किल भएको छ ।

अर्थ मन्त्रालयका अनुसार गत असोजसम्ममा एक खर्ब ४७ अर्ब ४३ करोड २९ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

सरकारले पहिलो त्रैमासमा एक खर्ब ४७ अर्ब ६२ करोड २९ लाख  रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको थियो । पहिलो त्रैमाशमा सरकारले लिएको लक्ष्यको तुलनामा १९ करोड रुपैयाँ कम राजश्व उठेको हो ।

पहिलो चौमासमा बढी राजश्व उठ्नुपर्ने भए पनि लक्ष्य अनुसार संकलन हुन नसकेको मन्त्रालय बताउँछ । खासगरी मूख्य चाड दशैं र तिहारका समयमा वस्तु आयात बढ्ने हुँदा त्यसले राजश्व संकलन बढाउन मद्दत पुग्छ । तसर्थ पनि यो समयमा सरकारले राजश्व संकलनको लक्ष्य तुलनात्मक रुपमा बढी लिइएको हुन्छ ।

अर्थ मन्त्रालयका अनुसार साउनमा ५१ अर्ब ४६ करोड, भदौमा ४५ अर्ब एक करोड र असोजमा ५० अर्ब १५ करोड रुपैयाँ राजश्व संकलन भएको मन्त्रालयले जनाएको छ ।

संकलित राजश्वमध्ये सबैभन्दा धेरै हिस्सा भन्सारको छ । असोजसम्ममा ७१ अर्ब २७ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा सरकारले ७१ अर्ब ६५ करोड रुपैयाँ भन्सार राजश्व संकलन गर्ने सरकारको लक्ष्य थियो ।

अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगाना मूलतः चालू आव सुरु भएलगत्तै तराईका जिल्लामा गएको बाढीका कारण राजश्व संकलनमा कमी आएको बताए ।

चालू आवका पहिला दुई महिना साउन र भदौमा लक्ष्यभन्दा कम राजश्व संकलन भएकामा असोज महिनामा भने लक्ष्यमुताविक नै राजश्व संकलन भएको मन्त्रालयले बताएको छ ।

गत आवमा सरकारले पाँच खर्ब ४४ अर्ब ७६ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।

चालू आवमा सरकारल सात खर्ब ३० अर्ब पाँच करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । चालू आवमा लक्ष्यबमोजिम नै राजश्व संकलन हुने मन्त्रालयको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment