१७ कात्तिक, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट वितरणलाई लिएर नेपाली कांग्रेसमा असन्तुष्टि देखिएको छ । पहाडमा वाम र प्रदेश नम्बर २ मा वाम-मधेसी गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने कांग्रेसभित्रै आन्तरिक असन्तुष्टि चुलिएको छ । यो असन्तुष्टिले चुनावी परिणामलाई समेत असर गर्न सक्ने कांग्रेसका नेताहरु बताउँछन् ।
गुण्डा नाइके भनेर चिनिएका गणेश लामा र मीनकृष्ण श्रेष्ठ एवं मेडिकल कलेज सञ्चालक सुनिल शर्मा उम्मेदवार बन्दा विद्यार्थी राजनीतिबाट आएका धनराज गुरुङ, गुरुराज घिमिरे, कल्याण गुरुङ र बद्री पाण्डे लगायतले टिकट नै पाएनन् ।
‘विधि र नीतिबमोजिम टिकट वितरण भएन’ स्याङ्जा १ को टिकट दाबेदार निवर्तमान सांसद धनराज गुरुङ भन्छन्- ‘नेताहरुको खल्तीबाट उम्मेदवार बनाइयो ।’
कांग्रेसले क्षेत्र, जिल्ला हुँदै प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुको नाम मगाएको थियो । र, उम्मेदवार छान्न संसदीय समिति पनि बनाइएको थियो ।
किन भएन विधि र नीति अनुसार उम्मेदवार छनोट ?
कांग्रेसको विधान अनुसार पदाधिकारीसहित १४ सदस्यीय संसदीय समिति गठन गर्नुपर्ने हो । तर, एकपछि अर्को नाम थपेपछि सो समिति २४ सदस्यीय हुन पुग्यो र टिकट वितरणको बेथिति यहीँबाट सुरु भएको कांग्रेस नेताहरु बताउँछन् ।
स्रोतका अनुसार १४ सदस्यीय समिति हुँदा रामचन्द्र पौडेल समूहका उनीसहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह र डा. रामशरण महत पर्थे । बाँकी पार्टी सभापति शेरबहादुर देउवा पक्षका पर्थे ।
तर, पौडेलले महेश आचार्यलाई संसदीय समितिमा राख्न चाहे । यो प्रस्ताव प्रधानमन्त्री समेत रहेका देउवालाई ‘ढुंगा खोज्दा देउता मिल्यो’ भने झैं भयो । त्यसपछि उनले एकपछि अर्को गर्दै आफ्नो समूहका नेतालाई समितिमा प्रवेश गराए ।
र, समितिले नभए नेताहरुले टिकट बाँडेजस्तो भएको छ । यदि रामचन्द्र पौडेलले विधान अनुसार १४ सदस्यीय समिति गठन हुनुपर्छ भन्ने अडानमा रहेको भए यो अवस्था आएन थिएन । एक नेता भन्छन्, ‘यो पटक संसदीय समिति नाम मात्रको रहृयो ।’
यति मात्र होइन, देउवा समूहको लामै तयारी थियो भने रामचन्द्र पौडेलले तयारी नै गरेनन् । प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्की, २ मा विमलेन्द्र निधि र ३ मा प्रकाशशरण महत, ४ मा प्रकाशमान सिंह ५, ६ मा बालकृष्ण खाँड र ७ मा एनपी साउदले उम्मेदवारको सूची नै बनाएका थिए । उनीहरु सबै समितिमा परे । साथै उनीहरुले सकेसम्म आफ्नालाई टिकट दिलाउन लागे ।
ठीक विपरीत पौडेल गुट कमजोर भयो । महामन्त्री शशांक कोइरालालाई निकटवर्ती केहीलाई टिकट दिलाउनु थियो भने प्रकाशमान सिंह धेरैजसो काठमाडौंमा केन्दि्रत भए ।
पौडेलले आफ्नो गुटको समेत संरक्षण गर्न नसकेको उनकै समूहका नेताहरुको गुनासो छ । ‘रामचन्द्र पौडेलले आफ्ना लागि मात्र गुट बनाउनुभएको रहेछ’ एक नेताले भने, ‘धनवाद र डनवाद हावी भएका बेला उहाँ पनि अछुतो रहनुभएन ।’
नेताहरुका अनुसार अवस्था यस्तो थियो कि संसदीय समितिको बैठक भन्दा नेताहरुलाई बालुवाटार बोलाइन्थ्यो । तर, राजपासँग बैठक भइरहेको छ, कोसँग बैठक भइरहेको छ भन्ने नाममा छलफल दिनमा एक डेढ घण्टा मात्र हुन्थ्यो । उम्मेदवारीको अघिल्लो रात मात्र रातभर बैठक राखेर टिकट बाँडियो ।
जब कि संविधानसभा ०७० को टिकट वितरणमा भने सुुशील कोइराला समूहका नेताहरु राम्रै गृहकार्य गरेका थिए । त्यसबेला पनि ६०/४० को भागवण्डा हुन्थ्यो । तर, उम्मेदवार छान्दा घन्टौं छलफल गरेर जित्ने खोजिन्थ्यो ।
संखुवासभामा तारामान गुरुङ र दीपक खड्का दुबै जित्ने सम्भावना भएका थिए र दुबै संस्थापन समूहका थिए । त्यहाँ १-१ सिट भाग लगाइएन । दुबै जित्ने सम्भावना भएकालाई टिकट दिइयो र जितेर पनि आए ।
कांग्रेसका एक नेता भन्छन्, ‘एउटा नाम सिफारिस भएपछि घण्टौं छलफल हुन्थ्यो । विभिन्न कोटबाट नेताहरुले आ-आफ्नो धारणा राख्थे । यसपालि त केही भएन ।’
कांग्रेसका एक नेताका अनुसार जिल्ला जिल्लाबाट उम्मेदवार सिफारिस भएको मात्र होइन, पूर्व प्रशासनको टिमले कहाँ को उम्मेदवार उठाउँदा जित्न सक्छ भनेर गृहकार्य पनि परेको थियो । तर, त्यो प्रतिवेदन खोल्दै खोजिएन ।
महोत्तरी १ बाट प्रतिनिधिसभा उम्मेदवारको दाबेदार रहेका कल्याण गुरुङ भन्छन्, ‘मैले पार्टी सभापति र रामचन्द्र पौडेललाई मलाई टिकट दिनुस्, जितेर आउँछु भनेको थिएँ । तर, टिकट दिनुभएन । किन भनेर देउवालाई नै सोध्नुस् ।’
शेरबहादुर समूहका नेताहरु पार्टीमा कसरी होल्ड (पकड) कायम गर्नेमा केन्द्रित थिए । उनीहरुले त्यसअनुसार नै टिकट वितरणको प्रयास गरेको देखिन्छ ।
‘शेरबहादुरले त्यसलाई क्रस गर्नुपर्थ्यो । उनका लागि आफ्नो समूह कति बढ्छ भन्ने प्राथमिकता होइन, पार्टीलाई कति जिताउने भन्ने हेर्नुपर्थ्यो’ एक नेता भन्छन्, ‘यदि चुनावमा खराव परिणाम आयो भने शेरबहादुरको दिनगन्ती सुरु हुन्छ ।’
प्रतिक्रिया 4