Comments Add Comment

रचना सुनारको अभियानः बालिका पत्नी होइनन्

सुर्खेतमा अचेल एउटा अभियान सुरु भएको छ । त्यो हो, बाल विवाहरहित समाज निर्माणको अभियान । र, यो अभियानमा भिडेकी छन्, आफ्नै बलबुतामा उठेकी अधिकारकर्मी रचना सुनार ।

सुर्खेतको मसेरी टोल, जहाँ कथित दलितहरु बस्छन् । बिपन्न र पछौटे समाज । बाल विवाह, अन्धविश्वास र कुसंस्कारले यो थिलथिलो हुँदै आयो । यहि पृष्ठभूमिमा हुर्किएकी रचनाले यहाँ सामाजिक सुधारको बागडोर सम्हालेकी छन् ।

‘भर्खरै मात्र हामीले एउटा बाल विवाह रद्ध गरायौं,’ रचना भन्छिन् ।

मसेरी टोलमा अचेल कसैले बाल विवाहको कुरो मात्र चलायो भने पनि उसले रचनाको खप्की खानुपर्ने हो कि भनेर डराउनुपर्ने अवस्था छ ।

रचनाकै अगुवाइमा मसेरी टोल बदलिएको छ । यहाँ बाल बगैंचा ज्ञानकुञ्ज स्थापना भएको छ । रचना यही कुञ्जको संवाद केन्द्र र आमाहरुका लागि साझा बिसौनी ‘महिला चौतारी’मा सक्रिय छिन् ।

रचनाको चाहना छ, कुनै पनि छोरीले ‘छोरी’ भएर जन्मदा गर्व गर्न सकुन् र तिनका अभिभावक दंग परुन् ।

बालिका पत्नी होइनन्

बालिका पत्नी होइनन् । यही हो, रचनाको अभियानको सार । यो सन्देश रचनाले देशमा मात्र होइन, विदेशसम्म फैलाइरहेकी छन् ।

सन् २०१५ मा नर्वेको स्ट्रोमी फाउन्डेसनले उनलाई ‘युथ एक्सचेन्ज प्रोगाम’मा सहभागी हुन आमन्त्रण गरेको थियो । नर्बेको राजधानी ओस्लोको एक भव्य भवनमा उभिएर रचनाले जोडदार ढंगले भनेकी थिइन्, ‘बालिका पत्नी होइनन् ।’

बालबिवाहको कुरुप दृश्य नियाल्दै हुर्किएकी उनले आफ्नो समाजमा कसरी बालिकामाथि अत्याचार भइरहेको छ भन्ने कुरा यही शिर्षकको एक प्रस्तुतीमार्फत दर्शाएकी थिइन् ।

यो मेलोमेसो जुरेको थियो, ‘ओस्लो फ्रिडम फोरम’मा । त्यसताका द गार्जियनसहितका पत्रिकाले उनको सफलताको कथा छापे ।

‘त्यहाँको यात्रा निकै फलदायी रह्यो,’ १० महिने बसाइँ सम्झदै रचना भन्छिन्, ‘अंग्रेजी भाषा सिक्नेदेखि बालबालिकालाई त्यहाँ कसरी हुकाईन्छ भन्ने कुराको मिहिन अध्ययन गर्ने मौका पाएँ ।’

उनले ओस्लोको किनर गार्डेनमा इन्टरसिप गरेकी थिइन् ।

प्रेरणाः आफ्नै अतित

रचना अहिले जुन काम गरिरहेकी छन्, त्यसका लागि उनलाई उनकै बिगतले प्रेरणा दिएको हो । ‘म अझै सफल भइसकेकी छैन । मैले धेरै गर्नुछ । म आफ्नो कर्मलाई माया गर्छु, जसले मलाई निरन्तर अगाडि बढ्ने प्रेरणा दिन्छ’, रचना भन्छिन् ।

अत्यन्तै गरिब र दलित परिवारमा छोरी भएर जन्मनु, छोरीमाथि परिवारको हिंसात्मक व्यवहार हुनु, बालबिवाहको दबाव आउनु उनको निम्ति दुःखद थियो । तर, त्यही पीडाबोधले उनलाई समाजमा ‘केहि गर्न’ प्रेरित गरेको हो ।

‘मेरो कर्म नै मेरो आदर्श हो,’ रचना भन्छिन्, ‘मैले जुन काम गरिरहेकी छु, त्यसो गर्न मलाई मेरो विगतले उकासेको हो ।’

हुन पनि कम कष्टकर थिएन उनको बिगत । आमाबुवाकी जेठी सन्तान । सात भाइ-बहिनीकी एक्ली दिदी । जन्मदै जिम्मेवारीको भारीले उनको थाप्लो बोझिलो बनाइदियो । पढ्ने औकात थिएन । पोषिलो खाने, सुकिलो लाउने कुरै भएन । दुःख र अभावको पहाड छिचोल्दै उनी विद्यालय धाउन थालिन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले पढाइदिने मेलोमेसो मिलायो । एसलएसी पास गरिन् ।

जब उनी पुस्तक च्यापेर विद्यालय गइरहेकी हुन्थिन्, भाइबहिनी धुलाम्मे माटोमा लडिबुडी खेलिरहेका हुन्थे । गाउँभरका केटाकेटीको हालत त्योभन्दा गतिलो थिएन ।

बदलिएको बस्ती

एक दिन मसेरी टोलमा एक गैरसरकारी संस्था आइपुग्यो । ‘दलित किशोरीको जीवनस्तर उकास्ने’ भन्दै । उक्त संस्थाले रचनालाई सामाजिक परिचारकको रुपमा खटायो । एक वर्षमा उक्त परियोजना फत्ते भयो ।

रचनाको चेतनाले पनि प्वाँख हाल्यो । उनले आफू बाँचिरहेको समाजको पछौटेपन र विसंगती बुझिन् । सामाजिक सुधारका लागि उनले साथी बाटुली सुनारसँग मिलेर ‘बाल बगैंचा’ नामक क्लब गठन गरिन् ।

‘बाल बगैंचा’मा टोलका १५ जना बच्चा भेला भए । रचनाले उनीहरुलाई खेलाइन् । खेल्दाखेल्दै उनीहरुले सरसफाइबारे सिके । खेल्दाखेल्दै उनीहरुले अक्षरहरु चिने । खेल्दाखेल्दै उनीहरुले बचत गर्न पनि थाले ।

‘बाल बगैंचा’मा टोलभरका बच्चाहरु आउन थाले । अब यसैगरी उनले ‘साथी संवाद केन्द्र’ गठन गरिन् । ‘समावेशी किशोरी संवाद केन्द्र’ गठन भयो । ‘मसेरी टोल किशोरी संवाद केन्द्र’ गठन भयो । भिन्नाभिन्नै उमेर समूहका साथीहरु नियमित भेट्ने, खेल्ने, छलफल गर्ने उपक्रम सुरु भयो ।

मसेरी टोलका किशोर-किशोरी गोलबद्ध भए । उनीहरु यौन स्वास्थ्य र प्रजननका बारेमा खुला छलफल गर्न थाले । कहिले पढाइ छुटाएर बसेकाहरुलाई विद्यालय पठाउने अभियानमा जुटे । कहिले चेतनामुलक सडक नाटक देखाउँदै हिँड्न थाले । बचत गर्ने, आयआर्जनमा लाग्ने अभियानसँगै मसेरी गाउँ तंगि्रन थाल्यो ।

मसेरी टोलका बालबालिका, किशोर-किशोरीले भेटघाट गर्ने, छलफल गर्ने निश्चित तालिका छ । मंगलबारदेखि बुधबारसम्म किशोरी भेला हुन्छन् । शुक्रबार महिला र शनिबार बालबालिका ।

उनीहरु गम्भीर सामाजिक बिषयमा बहस मात्र गर्दैनन्, आफ्ना अनुभव पनि साटासाट गर्छन् । सफलताका कथा सुनाउँछन् । र, केहि नयाँ एवं राम्रो काम गर्ने प्रतिबद्धता जनाउँछन् । उनीहरुले अर्को भेलामा आफ्नो प्रगति विवरण पेश गर्नुपर्ने हुन्छ ।

बालबालिका शनिबार भेला हुन्छन् । उनीहरुले छुट्टै गीत बनाएका छन्, त्यही गाउँछन् । त्यसपछि आफूले पत्रपत्रिका, रेडियो, टिभीमा हेरेको समाचारबारे कुरा गर्छन् । उनीहरुले हप्ताभर टोलमा हुने खबर संकलन गर्नुपर्ने हुन्छ । त्यसपछि बालबिवाह, बाल अधिकार, बालश्रम जस्ता बिषयमा चर्चा गरिन्छ ।

उनीहरुले २० मिनेट कोर्षको किताब पढ्छन् । त्यसपछि अतिरिक्त गतिविधिमा सरिक हुन्छन् ।

बदलिए अभिभावक

छोरी जन्मिँदा पुर्पुरोमा हात राखे होलान्, रचनाको बुबाले पनि । छोरी हुर्कंदै गइन्, परिवारमा बोझ बढ्दै गयो । उमेरले १५ वर्ष नटेक्दै छोरीलाई बिहे गरेर पठाउने हतारो भयो ।

‘बिहे गराइदिए मेरो पढाइको छात्रवृत्तिमा लागेको सबै खर्च तपाईंहरुले ब्यहोर्नुपर्छ भनेपछि बुबा हच्किनुभयो,’ रचना भन्छिन् ।

त्यसपछि बिहे टर्‍यो । उनी आफ्नै लयमा फर्किइन् । तर, अभिभावकलाई उनको चाल निको लागेन । बढेकी छोरी, पढेकी छोरी काम नगरेर बरालिएको भान भो उनीहरुलाई । तर, रचना अभिभावकको यस्तो मनोबिज्ञान चिर्न सफल मात्र भइनन्, उनीहरुसामु गर्व गर्न लायक बनेर उभिइन् ।

त्यसैले त जब टोलमा सामुदायिक भवन बनाउन रचना अग्रसर भइन्, बुबाले हार्दिकतापूर्वक जग्गा दिए । आर्थिक सहयोग जुटाएपछि भवन ठडियो । सुर्खेत नगरपालिकाबाट ५० हजार रुपैयाँ मागेर शैक्षिक सामग्रीहरु जुटाइयो । अब छलफल गर्न, रमाइलो गर्न, पढलेख गर्न अन्त जानुपर्ने बाध्यता रहेन ।

बर्थ डे गिफ्ट

अघिल्लो वर्ष रचनाको जन्मदिनमा साथीहरुले केहि आर्थिक सहयोग दिए । रचनाले गर्ने यावत् रचनात्मक काममा सघाउ पुगोस् भनेर आर्थिक सहयोग गरिएको रहेछ ।

‘तिमीले कसरी यत्तिका काम गरिरहेका छौ ? भनेर साथीहरु मलाई सोध्छन्,’ रचना भन्छिन्, ‘अनि उनीहरु पनि सक्दो सहयोग गर्छन् ।’

अचेल संवाद केन्द्र सञ्चालन गर्न र शैक्षिक सामग्री जुटाउन उनका साथीहरु अग्रसर हुन थालेका छन् । केन्द्रमार्फत किशोरीहरु सीपमूलक तालिम लिएका छन्, आयआर्जनमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment