४ माघ, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल माग गर्दै पुस १२ गतेदेखि जारी आन्दोलन उग्र बन्दै गएको छ ।
आन्दोलनकारीहरुले ग्रामीण महिला तथा एकता केन्द्र (रुडुक) को डोटी सिलगढीमा रहेको जिल्ला शाखा कार्यालयमा आगजनी गरेका छन् ।
संस्थाको कार्यालयमा रहेका कागजात र फर्निचर सडकमा ल्याई आगजनी गरिएको हो ।
आगो लगाउने क्रममा आन्दोलनकारीहरुले संस्थाको साइनबोर्ड समेत तोडेर आगोमा मिलाएका छन् ।
जिल्ला सदरमुकाम सिलगढी बजारमा रहेको नीजि घरमा राखिएको कार्यालय भवनमा भने कुनै क्षती भएको छैन ।
रुडुकको केन्द्रीय अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा छन् ।
दिपायलबाट राजधानी कैलाली लैजानुमा देउवापत्नि राणाको मुख्य भूमिका रहेको भन्दै आन्दोलनकारीहरुले रुडुकमा तोडफोड र आगजनी गरेका हुन् । संस्थाका मुख्य कागजात र कम्प्युटर लगायतका महत्वपूर्ण सामग्री बचेका छन् ।
यस्तै आन्दोलनकारीहरुले गुड नेवर्स इन्टरनेशनल नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाको बा९च ४५४८ नं. को हाईलेक्स गाडी तोडफोड गरेका छन् ।
आन्दोलन संयोजन समितिले आन्दोलनका कारण बाटोमा रोखिएका सवारी साधनहरुलाई दिउँसो १ बजेदेखि ७ वजेसम्म गन्तव्यमा पुग्न दिने भनी गरेको निर्णय अनुसार दिपायल आउन थालेको उक्त गाडिमा तोड्फोड भएको थियो ।
यस्तै प्रदर्शनकारीहरूले जिल्ला वन कार्यालयको बा१प ७६३९ नं को मोटरसाइकल बीच सडकमा लगेर जलाइएका छन् ।
अान्दोलनकारीले तरकारी बीउ उत्पादान केन्द्र डडेल्धुराको बा१झ ५५३९ नं. को सरकारी गाडी डोटीको सिलगढीमा तोडफोड गरेका छन् ।
प्रतिक्रिया 4