+
+

भैरव नाचको रस चखाउने पोखरेली माहुरी

अमृत सुवेदी अमृत सुवेदी
२०७४ चैत १० गते १३:२१

पोखरा । नेवारको छोरो, फरर संस्कृतका श्लोक भन्छन् । चण्डी पाठ गर्छन् । वैदिक विधिमा दख्खल राख्छन् ।

कृष्णबहादुर वैद्यसँग धेरै मानिसले सोध्दारहेछन्, ‘संस्कृतमा कसरी तपाईँको यस्तो दख्खल ?’ उनी हाँसेर उत्तर दिन्छन्, ‘अध्ययनले नै हो भाषालाई फराकिलो बनाउने, जीवनलाई उज्यालो बनाउने । अध्ययन गरे के कुरामा दख्खल राख्न सकिँदैन ?’

संस्कृत त उनको अतिरिक्त खुबी हो । कृष्णबहादुर खासमा नेवारी संस्कार र संस्कृतिका अभियन्ता, संरक्षक र प्रशिक्षक हुन् । उमेरले ८२ टेकिसक्यो, भैरव नाचको कुरा आउनासाथ कृष्णबहादुरलाई फूर्ति जागीहाल्छ । उठेर नाच्छन् कि जस्तो हाउभाउ देखाउँछन् ।

अचेल अलि बिरामी छन् र धेरै हिँडडुल गर्न सक्दैनन् । तैपनि भैरव नाचलाई कसरी बचाइराख्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने भन्ने चिन्ता छ । जसरी फूलबाट रस निकालेर माहुरीले मह थुपार्छ, उनी पनि त्यस्तै माहुरी हुन् र भैरव नाचको स्वादलाई आउँदो पुस्तासम्मलाई चखाउन चाहन्छन् ।

‘शरिरले साथ दिन छाड्यो, तर मनमा भने गर्नुपर्ने कामको ताँती लागेर आउँछ,’ कृष्णबहादुर भन्छन् ।

६ वर्षको उमेरदेखि नै उनले भैरव नृत्यसँगै हिँड्ने मौका पाए । पोखराका चतुर्मान प्रधानाङ्गसँग भैरव नाच सिके । २०३५ सालदेखि यसको नेतृत्व पंक्तिमै उभिन थालेका उनले भैरव नाचलाई नयाँ पुस्तामा लैजान थुप्रै उकालीओराली गरे ।

लोप हुने चिन्ता

कृष्णबहादुरका अनुसार भैरव नृत्यको उद्गम रणजीत मल्लकालीन भक्तपुर भएको अनुमान गर्न सकिन्छ । पोखरामा पनि रणजीत मल्लकै पालादेखि भैरव नाच सुरु भएको हो । लमजुङका जीताराम श्रेष्ठ डिठ्ठा भएर पोखरा आउँदा भैरव नाच देखाइएकाले उनैबाट पोखरामा भैरव नाचको सुरुआत भएको कृष्णबहादुरको दाबी छ ।

उमेरले ८२ टेकिसक्यो, भैरव नाचको कुरा आउनासाथ कृष्णबहादुरलाई फूर्ति जागीहाल्छ । उठेर नाच्छन् कि जस्तो हाउभाउ देखाउँछन् नेपाल सरकारले भैरव नृत्यको समानार्थ २०५७ सालमा नृत्य अंकित हुलाका टिकट प्रकाशन गरेको थियो । ‘भैरव नाच भक्तपुर र पोखरामै बढी प्रचलित छ । यो नाचले नेवारी सभ्यता र संस्कृतिमात्रै होइन, यसले नेपाली संस्कृतिलाई पनि बोलेको छ’, कृष्णबहादुर भन्छन् ।

यो लोप हुने हो कि भन्ने ठूलो चिन्ता उनको गुरु चतुर्मानको थियो । ‘मैले लोप हुन दिन्न जोगाउँछु भनेर गुरुलाई वचन दिएको थिएँ । केही हदसम्म वचन पूरा गरेजस्तो लाग्छ’, उनी भन्छन् ।

६/६ वर्षमा पोखराका टोलटोलमा देखाइने भैरव नृत्यलाई निरन्तर अभ्यास गरिएन भने यो लोप हुन पनि सक्छ । यही कारण कृष्णबहादुरकै पहलमा गत वर्ष पोखरामा माघ पहिलो हप्तादेखि चैत मसान्तसम्म योन नाच देखाइएको थियो ।

जीवन नै भैरव नाच संरक्षणमा सुम्पिएका कृष्णबहादुर मृदंग, हार्मोनियम, बाँसुरी, तबला पनि बजाउँछन् । बाह्र भैरवमा उनले सबैजसो नृत्य गरेका छन् ।

भैरव नाच जोगाउनकै लागि उनले १ लाख रुपैयाँको अक्षयकोष स्थापना पनि गरेका छन् । ‘नाच्ने नयाँ पुस्ता जन्मिए तर, गाउने र बजाउने भएनन्,’ उनी भन्छन्, ‘अक्षयकोषको ब्याजबाट एक गायक र एक वाद्यवादकलाई पुरस्कृत गर्दै आएका छौं ।’

भैरव नाचसँगै नेवारी संस्कार र संस्कृतिसँग जोडिएका पर्वमा उनी जहिले पनि सक्रिय रुपमा लाग्दै आए । गाईजात्रा, बाघजात्रा, बाणजात्रा निकाल्न पनि उनी अग्रपंक्तिमै रहे । ‘सांस्कृतिक महत्व बोकेको देवीनाच पोखराबाट लोप भयो, भैरव नाच पनि लोप हुन्छ कि भन्ने ठूलो चिन्ता थियो,’ उनी भन्छन्, ‘अहिले नयाँ पुस्ता जन्मिएका छन् ।’

सबै जातिको नाच

भैरव नृत्यमा १२ जना युवा काल भैरव, महाकाली, ईन्द्रायणी, वाराही, कौमारी, विष्णुवी, व्रम्हायणी, गंगा, गणेश, दागिनी, भूःत्चा र कवाङको रुप धारणगरी नाच्ने गर्दछन् ।

उमेरले ८२ टेकिसक्यो, भैरव नाचको कुरा आउनासाथ कृष्णबहादुरलाई फूर्ति जागीहाल्छ । उठेर नाच्छन् कि जस्तो हाउभाउ देखाउँछन्

नेवारी भाषाका भजन र आरतीको गायनमा आधारित रहेर कौशिक, छायाँनट्, मालवा, सारंगा, तोडी, मालश्रीलगायत रागहरु गाइन्छ । र नर्तकहरु खरजति ताल, चोक ताल, एक ताल, दामो तालमा नृत्य गर्छन् ।

भैरव नाच हेर्नकै लागि पनि देशविदेशबाट पाहुना पोखरा ल्याउन सकिने उनी बताउँछन् । ‘यो हामीलेमात्रै सोचेर हुने कुरा होइन, सरकारले पनि हाम्रो भाषा, संस्कृति र परम्पराका लागि छुट्टै नीति बनाउन जरुरी छ,’ उनी भन्छन् ।

सबै जातिको साझा नाचको रुपमा भैरव नृत्यलाई लिन सकिने बैद्य बताउँछन् । ‘भैरव नृत्यको सुन्दर पक्ष भनेको यहाँ कुनै जातभातको भेदभाव हुँदैन,’ उनी भन्छन् ।

अदभूत प्रतिभा

वैद्यको काम पनि गर्छन्, कृष्णबहादुर ।

‘वैद्य काम त हाम्रो पुर्खादेखि चल्दै आएको हो । मैले १५/१६ वर्षकै उमेरदेखि बाउ बाजेबाट सिकेर यो काम गर्दै आएको छु,’ कृष्णबहादुर भन्छन्, ‘वैद्य कामको आफ्नै सूत्र हुन्छ, यो हचुवामा हुने होइन ।’

उनले अमरकोष, लघु सिद्धान्त कौमदीलगायतका पुस्तक पढे । एसएलसीसँगै संस्कृत र आयुर्वेदमा शिक्षा हाँसिल गरेका कृष्णबहादुर साहित्यमा पनि उत्तिकै रुचि राख्छन् । बाहिर जमघटमा सहभागी हुनुभन्दा एकान्तमा साधना गर्न रुचाउने वैद्यका २ कविता संग्रह प्रकाशित छन् । उनी आफैं भजन लेखेर संगीतसमेत भर्छन् ।

‘कृष्णबहादुरमा जत्तिको संस्कृत, आयुर्वेद, साहित्य र नेपाली संस्कृतिमा यति ज्ञान भएको व्यक्ती मैले कर्म देखेको छु,’ कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘कृष्णबहादुरको प्रतिभा नयाँ पुस्ताले अनुशरण गर्न जरुरी छ । त्यो बेलामै एसएलसी पास गरेर निरन्तर साधनामा लाग्नु कम महत्वूर्ण होइन ।’

 

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?