+
+

पर्साका किसान व्यवसायिक मसुरो खेतिमा आर्कषित

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २० गते १७:५२

२० चैत, वीरगञ्ज । पर्साको साविकका ५ गाविसका किसानहरु व्यवसायिक मसुरो खेतितर्फ आर्कषित भएका छन् ।

सबैठवा, लवाहर थकरी, सुर्जाहा, परशुरामपुर र वीरञ्चीवर्वा गरी ५ गाविसका २ सय भन्दा बढी किसान उन्नत जातका मसुरो खेतितर्फ आर्कषित भएका हुन् ।

उखु खेति गर्दा नजिकै चिनीमिल नभएका कारण चलानी, ढुवानी र भुक्तानीको समस्या भोग्दै आएका किसानहरु शिखर र शीमल गरी जातका मसुरोका बीउ पाएपछि दंग भएर खेतिमा लागेका छन् ।

दुई वर्षदेखि उन्नत जातको मसुरो खेति गरेका किसानहरु मसुरोको उत्पादन राम्रो भएकोमा खुशी पनि छन् । उनीहरु अहिले धमाधम मसुरो भित्र्याईरहेका छन् ।

पर्सामा प्रसस्त मसुरो खेति हुने गरेको भएपनि उन्नत जातको बिउ र खेति गर्ने उपयुक्त तरीकाको बारेमा जानकारी नहुँदा किसानले राम्रो उत्पादन लिन नसकेको अवस्थामा केहि किसानहरुले राम्रो उत्पादन लिन सफल भएका हुन् ।

उन्नत जातको बिउ र प्राविधिक सल्लाह पाएपछि परम्परागत रुपमा मसुरो खे तिगर्दै आएका किसान व्यवसायिक खेतिका लागि हौसिएका मात्रै छैनन्, राम्रो उत्पादन लिन समेत सफल भएका छन् ।

विरञ्चीवर्वाका किसान दुःखी राउत कुर्मी नवदुर्गा मसुरो उत्पादन समूहका सदस्य हुन् । उनी उन्नत जातको मसुरो खेतिमा लागेपछि मसुरोको उत्पादन बढेकोमा दंग छन् । ‘पहिला ५ देखि १५ किलो कठ्ठामा मसुरो उत्पादन हुन्थ्यो, अहिले ४०-६० किलो प्रतिकठ्ठा उत्पादन भइरहेको छ,’ उनले भने, ‘ किसान मान्छे हामी जति राम्रो उत्पादन भयो त्यति खेतिमा उत्साहित हुन्छौं ।’ अन्य बाली भन्दा पनि उन्नत जातको मसुरो खेती उत्तम रहेको उनको भनाइ छ ।

नवदुर्गा समूहकै अध्यक्ष ईब्राहिम मियाँ २०७० सालदेखि नै मसुरो खेति गर्दै आएका थिए । तर, उनको मसुरोको उत्प्ाादन २०७३ सालदेखि मात्रै बढी देखियो । नयाँ बिउ र सीप मिलेपछि सोचे भन्दा बढी मसुरो उत्पादन भएको उनी बताउँछन् । ‘ पहिला प्रतिकठ्ठा २० किलो, ३० किलो हुन्थ्यो ।’ उनले भने ‘ उन्नत बिउ लगाएपछि मेरो ६ कठ्ठा जमिनमा मसुरो खेति गरेको ८ मन २० किलो भएको छ । मैले सोचे भन्दा धेरै उत्पादन भयो ।’

व्यवसायिक मसुरो खेतिका लागि विरञ्चीवर्वामा मात्रै २५/२५ सदस्यीय दुई वटा कृषक समूह गठन गरिएका छन् ।

गहुँ, मकै, धानसँगै तेस्रो नगदे बालीका रूपमा मसुरो खेती गर्न सकिने किसानको अनुभव छ । निर्यात प्रवर्धन तथा आय आर्जनका लागि मुल्य श्रृङ्खलामा आधारित मसुरो उत्पादन कार्यक्रमले किसानलाई तालिमसँगै अनुदानमा बिउ उपलब्ध गराएको थियो । ब्रम्हबाबा र नवदुर्गा मसुरो उत्पादन समूहका किसानहरु मसुरो खेतीलाई अझै बढाउने सोचमा छन् ।

दिव्य युवा क्लबका सामाजिक परिचालक जितेन्द्र राउत कंकड किसानले उत्पादन गरेको मसुरोको भण्डारण र बजारीकरण पनि संस्थाले सहयोग गरेको बताउँछन् । ‘परम्परागत रुपमा खेति गर्दै आएका किसानहरुलाई हामीले संस्थाको स्किमको बारेमा बताएपछि उनीहरु समूहमा काम गर्न तयार भए । हामीले खेतिको तरिका सिकायौं, प्रांगारिक मल हाल्न प्रोत्साहन गर्‍यौं अनि अनुदानमा बिउ उपलब्ध गरायौं ।’ उनले भने ‘ पहिलो वर्ष ६ सय विगाहामा खेति गराउँदा ६ मेटि्रक टन मसुरो उत्पादन भयो, त्यस मध्ये आधा बीउ र आधा बिक्रि गर्‍यौैं, दोस्रो वर्ष किसानहरुको उत्साह बढ्यो र ८ सय विगाहामा खेति गरेका छन् । अहिले ८ सय मेटि्रक टन उत्पादन गर्न सफल भएका छौं । ४ सय मेटि्रक टन बिउका लागि राख्ने र ४ सय मेटि्रकटन बजारमा पठाउने तयारी गरेका छौं ।’

जिल्ला कृषि विकास कार्यालय पर्साले पनि व्यवसायिक मुसुरो खेति गर्ने किसानहरुलाई प्राविधिक सहयोग गर्दै आएको छ । कृषि प्राविधिकहरुले खेतमै पुगेर बालीको अवलोकन गर्ने र किसानलाई आवश्यक सल्लाह पनि दिने गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय पर्साका प्राविधिक सहायक श्यामकिशोर कुर्मी अन्य खेतिको तुलनामा मसुरो खेतिमा लागत खर्च कम लाग्ने बताउँछन् । ‘मसुरो खेतिका लागि खनजोत र सिंचाई गर्न पर्दैन, रासायनिक मल पनि बढी हाल्नु पर्दैन । फागुन चैत कटेपछि असिना र हावाहुरीको समस्या हुन्छ । तर यो पाकिसकेको हुन्छ । मसुरो खेतिमा प्राकृतिक विपत्तीको सामना गर्न पर्दैन ।’ उनले भने ‘ यसरी अन्य बालीको तुलनामा खर्च कम देखिन्छ । बढी मुनाफा हुन्छ । उखु खेति गर्‍यो भने उद्योगमा लगेर प्रोसेसिङ गर्नुपर्ने हुन्छ तर मसुरो स्थानीय स्तरमै प्रोसेसिङ हुने र प्रयोग पनि हुन्छ ।’

मसुरो खेति मानव स्वास्थ्य र माटो सुधारका लागि लाभदायक रहेको प्राविधिक सहायक कुर्मीले बताए । ‘पहिलो मसुरो प्रोटिनको लागि राम्रो स्रोत हो । यसले स्वभाविक रुपमा खानामा प्रोटिनको मात्रा बढाउँछ । दोस्रो माटो सुधारका लागि मसुरो लाभदायक छ । मसुरो बालिको जरामा हुने व्याक्टोरियाले बायुमण्डलबाट नाईट्रोजन सोसेर आफ्नो लागि मात्रै नभएर अर्को बालीका लागि समेत नाइट्रोजन सोसेर राखिदिन्छ ।’

पर्सामा गत वर्ष ३५ सय हेक्टर जमिनमा मसुरो खेति गरिएको थियो । विषेशगरी गण्डक नहरको उत्तरी क्षेत्रमा मसुरो खेति गर्ने गरिन्छ । तर, यसवर्ष गण्डक नहरमा पानी नआउने थाहा पाएका किसानहरुले गहुँ खेती गर्ने जमिनमा पनि मसुरो खेति गरेकोले अघिल्लो वर्षको तुलनामा अझै बढी हेक्टरमा मसुरो खेति भएको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?