
२२ चैत, ओखलढुंगा । मोलुंग गाउँपालिका वडा नं. १ स्थित जलकन्या आधारभूत विद्यालयले दिनहुँ मादक पदार्थ सेवन गरेर आउने शिक्षक भीम कार्कीमाथि कारबाही गर्न जिल्ला शिक्षा कार्यालयलाई सिफारिस गरेको छ ।
हरेक दिन मादकपदार्थ सेवन गरेर विद्यालयको शैक्षिक वातावरण विगारेको आरोपमा विद्यालय व्यवस्थापन समितिले कारबाही वा अन्यत्र सरुवा गर्न सिफारिस गरेको हो ।
वर्षौंदेखि विद्यालय व्यवस्थापन समितिको बैठकले मादक पदार्थ सेवन गरेर आउने, जुनसुकै समयमा विद्यार्थीलाई विदा दिने र पठान पाठन नगराउने गरेपछि कारबाहीका लागि सिफारिस गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
चैत ११ गते बैठकबाटै निर्णय गरेर १५ दिनभित्र समस्या समाधाननगरे व्यवस्थापन समितिले हटाउने चेतावनीसहितको पत्र जिल्ला शिक्षा कार्यालयमा बुधबार नै दर्ता गराइएको अध्यक्ष गणेश बहादुर कार्कीले बताए ।
यसअघि पनि कारवाही वा सरुवा गर्न माग गरिएपनि राजनीतिक संरक्षणमा जिल्ला शिक्षा कार्यालयले कारबाही नगरी संरक्षण गर्दै आएको थियो ।
उजुरीबारे जिल्ला शिक्षा कार्यालयले अहिले पनि केही गर्न नसक्ने बताएपछि अभिभावकहरु आक्रोशित भएका छन् ।
उक्त विद्यालयमा शिक्षकले राम्रो पठनपाठन नगरेपछि कक्षा ५ सम्म संचालनमा रहेको विद्यालय अहिले कक्षा ३ सम्म मात्र कक्षा सञ्चालनमा छ । अभिभावकहरुले बालबालिकाहरु विद्यालय पठाउन समेत छोडेका छन् ।
२२ जना विद्यार्थी भर्ना भएपनि अहिले १० देखी १२ जनामात्र आउने गरेका छन् । दुईजना शिक्षकको दरबन्दी रहेपनि एक जनाशिक्षक संधै मापसे गर्ने भएकाले विद्यालयका प्रधानाध्याक तुलसीराम दाहालले कक्षा सञ्चालन गरिरहेका छन् ।
प्रतिक्रिया 4