+
+

अर्थमन्त्री भन्छन्- कर उठाउन आक्रामक भएकै हौं

राजस्व नउठाए अझै ऋण थप्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ४ गते २०:१९

४ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका कारण मूल्यवृद्धि हुने अवस्था नआएको दावी गरेका छन् ।

उनले बजार मूल्यलाई प्रभावित गर्ने मूल्य अभिवृद्धि कर (भ्याट) सरकारले नबढाएको स्पष्ट गर्दै भ्याट फिर्ताको व्यवस्थाका कारण केही वस्तुको मूल्यमा सामान्य असर परेको हुन सक्ने बताए ।

‘हामी कर प्रणालीमा आक्रामक भएका छौं । स्थानीय र प्रदेशसहित ७६१ सरकारलाई जनतालाई स्तरीय सेवा दिनसक्ने गरी चलाउनैपर्छ । त्यसैले कर प्रणालीमा हामी एग्रेसिभ छौं । चुहावट हुने र प्वाल टाल्ने काममा हामी अलिकति आक्रामक भएकै हौं,’ अर्थमन्त्री खतिवडाले भने,’ भ्याट फिर्ता पाइँदैन भनेकै हौं । सबैभन्दा बढी राजश्व दिने चौडा आधार भएको भ्याट कसैले छल्न पाउँदैन ।’

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खतिवडा कतिपयले कर प्रणाली प्रगतिशील भयो भनेर बिरोध गरेको प्रसंग कोट्याउँदै उनले छल्न नसकिने गरी कर लगाउने र त्यसमा कसैको रजाइँ नचल्ने बताए ।

दूरसञ्चार सेवा शूल्कका कारण इन्टरनेट सेवा महंगिएकोबारे पनि उनले स्पष्टीकरण दिए ।

‘हामीलेे कि अहिले कर लगाउनुपर्‍यो र अहिले नै खर्च गर्नुपर्‍यो । हैन भने ऋण लिनपर्‍यो र उपभोग गर्नुपर्‍यो । त्यसो गर्दा आउने पुस्तालाई ऋण तिर त भन्नुर्‍यो,’ उनले करको दायरा बढाइएकोबारे स्पष्टीकरण दिए,’आज उपभोग गर्ने कुरामा आजै कर उठाएर तिर्ने हो । आज लगानी गर्ने कुरालाई आजै स्रोत जुटाउने हो । भोलि आउने पुस्तालाई ऋणको भार बोकाउने होइन ।’

उनले दूरसञ्चार सेवा शुल्क बढाउँदा बजार मूल्यमा असर पर्न नहुने बताए । ‘बजेटका कारणले भन्दै बजेट मूल्य बढाउने चलन छ । यो गलत छ’ उनले भने ।

कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुंगानाले इन्टरनेट सेवा प्रदायकले सस्तोमा ब्याण्डविथ किनेर ठूलो मूल्य राखेर इन्टरनेट सेवा दिइरहेको दावी गर्दै त्यसको मूल्य समायोजन भए उपभोक्तामाथि भार नपर्ने बताए । उनले भ्वाइस कलको दर घटेपछि इन्टरनेटमा पनि दस्तुर लगाउनेबारे सोचिएको बताए ।

‘भ्वाइस कल इन्टरनेटमा सिफ्ट भइरहेको छ । सेवा प्रदायकको आम्दानी पनि डाटामा गइरहेको छ । भ्वाइस कल गर्दा लिइने दस्तुर भाइबरबाट कल गर्दा नलिनुपर्ने भन्ने छ र ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?