
२३ माघ, काठमाडौं । सरकारले बुधाबारदेखि प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति दिन थालेको छ । यससँगै सातै प्रदेशका श्रमिक वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारसम्बन्धी सेवा प्रदान गर्न आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको मन्त्रालयले जानकारी दिएको छ ।
श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।
मन्त्रालयका अनुसार सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुनेछ ।
श्रममन्त्री विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए । सोहीअनुरूप सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति दिन थालिएको हो ।
मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश नम्बर २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नम्बर ५ को बुटवलबाट पुनः श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो ।
त्यस्तै गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालिएको थियो ।
पुस २९ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्न शुरु गरिसकेको छ ।
त्यसैगरी सरकारले यही माघ ११ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट समेत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो ।
प्रतिक्रिया 4