Comments Add Comment

पाँचथर सामूहिक हत्या : नुनमा सीसा मिसाएर पनि गरिएको थियो हत्या प्रयास

विवादास्पद ३ विधेयकमा राष्ट्रपतिको चासो, शितल निवासमा गरिन् परामर्श

८ जेठ, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रिकाहरुमा पाँचथरमा नौ जनाको विभत्स हत्यासम्बन्धी समाचार प्राथमिकतामा परेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा मंगलबार बमबहादुर फियाक र धनराज शेर्माका परिवारका ९ जनाको हत्या भएको हाे ।

नयाँ पत्रिकाले ‘पाँचथर हत्याः सातथरी प्रश्न’ शीर्षक दिएर पाँचथर घटनाका विभिन्न पाटापक्ष केलाएको छ । नयाँ पत्रिकाका अनुसार, यो घटनाले सातथरी प्रश्न जन्माएको छ ।

नौजनाको हत्यामा बमबहादुर फियाकका अर्का ज्वाइँ मानबहादुर मोखिम संलग्न रहेको अनुमान प्रहरीले गरेको छ । तर, नयाँ पत्रिकाले प्रहरीको प्रारम्भिक अनुमानमाथि प्रश्न उठाएको छ । कुनै सवारी साधन नै नभएका व्यक्ति बिहान हुनुअघि नै २५ किलोमिटर टाढा पुग्नुले मोखिमको संलग्नताबारे गरिएको अनुमान प्रश्नको घेरामा परेको नयाँ पत्रिका समाचारको सार छ ।

नयाँ पत्रिकाका अनुसार मानबहादुरले प्रयोग गर्ने झोला करिब २ किलोमिटर अगाडि भेटिएको छ । झोलामा सेन्डोसहित ३ वटा टिसर्ट र एउटा हाफपाइन्ट भेटिएको छ । जुन रगताम्मे छन् । तर, हत्या गरेका उनको शरीरमा रगतको दाग पनि छैन । एक व्यक्तिले ३ टिसर्ट लगाउने र सबैमा रगत देखिनुले घटना रहस्मय बनेको नयाँ पत्रिका समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाले बमबहादुर परिवारको हत्या प्रयास यसअघि पनि भएको अर्को तथ्य प्रस्तुत गरेको छ । समाचार अनुसार, मानबहादुरका साढु धनराजको घरमा गत साता खाजा खाने सबै बिरामी परेका थिए । यसमा पनि उनै मानबहादुर तानिएका थिए । नुनमा सिसाको धुलो मिसाएर हत्याको प्रयास गरेको आशंका गरिएको थियो । यद्यपि, यसको पनि पुष्टि हुन सकेको छैन ।

मात्र एकजनाले खुकुरीले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन् ? भन्ने प्रश्न पनि सर्वत्र उठेको छ । नयाँ पत्रिकाले यसको जवाफ पनि नभेटिएको उल्लेख गरेको छ । घटनाबारे सात सवाल उठाएको नयाँ पत्रिका लेख्छ– मानसिक रुपमा विचलन भएका व्यक्तिले खुकुरीले २ परिवार कसरी सखाप गरे ? एक व्यक्तिले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन् भन्ने प्रश्न अनुत्तरित छ ।

नयाँ पत्रिकाले यति क्रूर हत्या कसरी भयो भनेर विज्ञको राय लिने प्रयास पनि गरेका छन् । नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी हेमन्त मल्लले नेपालीमा रिस धेरै भएको र त्यसकै परिणाम यस्ता घटना भएको उनको भनाइ छ ।

अन्नपूर्ण पोष्ट दैनिकले विवादास्पद विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो राखेको विषयलाई पनि प्राथमिकताका साथ स्थान दिएको छ । राष्ट्रपतिले राहदानी, मानवअधिकार आयोग र मिडिया काउन्सिल विधेयकमा चासो राखेकी हुन् । यी तीन विवादास्पद विधेयकबारे राष्ट्रपति भण्डारीले कानुन व्यवसायी पृष्ठभूमिका दुई सांसदलाई शितल निवास बोलाएर परामर्श गरेको अन्नपूर्ण पोष्टले लेखेको छ ।

राष्ट्रपतिले राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी र रामनारायण बिडारीसँग परामर्श गरेको समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिकका अनुसार अमेरिकी राजदूत र्‍यान्डी बेरीले सुरु गर्न लागेको विवादास्पद नागरिक सम्वाद कार्यक्रममा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । राजदूत बेरीले आगामी सोमबारदेखि ‘राजदूतसँग गफगाफ’ गर्ने योजना बनाएका थिए । त्यसको जानकारीसम्बन्धी भिडियो बनाएर उनले फेसबुक पेजमा पोष्ट गरेका थिए ।

तर, उनले यस सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग अनुमति नलिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी दाहालले भनेका छन्, ‘यसरी स्वेच्छाले एउटा कुटनीतिक अधिकारीले संवाद गर्न मिल्दैन ।’

नागरिक दैनिकले कामिरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गरेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । ‘कामिरितालाई सगरमाथा पानीपँधेरो’ शीर्षकको समाचारमा लेखिएको छ, ‘आठतले घर एकैपटक उक्लिँदा धेरैलाई स्वाँस्वाँ हुन्छ तर कीर्तिमानी आरोही कामिरिता शेर्पाले ८ हजार ८ सय ४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा एकै सातामा दुई पटक आरोहण गरेर सबैलाई चकित पारेका छन् । गत बुधबारमात्रै २३ औं पटक सगरमाथा चढेका उनले मंगलबार बिहान २४ औं पटक सफल आरोहण गरेका थिए ।

२४ पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कामिरिता शेर्पाले विश्व रेकर्ड बनाएका छन् ।

नेपाल समाचारपत्र दैनिकले कर्मचारी भर्ना सम्बन्धी समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । तहगत रुपमा कर्मचारी माग गर्ने बाटो खुला भएको समाचारमा उल्लेख छ । समाचारमा लेखिएको छ, ‘स्थानीय तह र प्रदेशमा कर्मचारीका लागि तहगत व्यवस्था गरिएअनुरुप अब तहगतरुपमा कर्मचारी माग गर्न लागिएको हो । संघीय सरकारमा भने श्रेणीगत व्यवस्था कायम गरिएको छ ।’

राजधानीले भने सार्वजनिक जग्गा दुरुपयोगकै विषयलाई आज पनि मुख्य समाचार बनाएको छ । उसले आज चितवनस्थित देवघाटको जग्गा अतिक्रमणबारे खोतलेको छ ।

समाचार अनुसार देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा ५ हजार ४३४ हेक्टर जमिन छ । त्यसमध्ये २७ बिघाभन्दा बढी जग्गा अतिक्रमणमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment