Comments Add Comment

बजारमा आए तीन किताव

३२ जेठ, काठमाडौं । हामीले हरेक साता बजारमा निस्किने साहित्यिक कृतिहरुको चर्चा गर्दै आएका छौं । तथापि बजारमा निस्कने सबै किताबहरु चर्चायोग्य एवं स्तरीय हुने गरेका छैनन् ।

प्रकाशित भएका धेरै पुस्तकहरुमध्ये केही केही मात्रै पाठकहरुको मन छुनेखालका पाइने गरेका छन् ।

यो साता हामीले चारवटा पुस्तकको चर्चा गरेका छौं ।

गुलाफसँगको प्रेम

बेलायतबाट वातावरण सञ्चारमा विद्यावारिधि गर्नुअघिदेखि नै संगीता ‘स्वेच्छा’ले साहित्यमा आफ्नो परिचय बनाइसकेकी हुन् । उनका ‘पखालिएको सिउँदो’ उपन्यासले एक दशकअघि नै पाठकको मन जितेको थियो । उनको एउटा संयुक्त कथा सङ्ग्रह र दर्जनौ फुटकर कविताहरु प्रकाशित छन् ।

यसपटक डा. संगीताले ‘गुलाफसँगको प्रेम’ कथा सङ्ग्रह बजारमा ल्याएकी छन् । २० वटा कथाहरु संकलन गरिएको ‘गुलाफसँगको प्रेम’ बिम्बात्मक कथाहरुको संकलन हो ।

पहिलो कथाबाटै सङ्ग्रहको नाम राखिएकाले यो कथा पुस्तककै मानक कथा हो । यद्यपि नागरिकता, आप्राबासी मुटु, एकांकीमनले जन्माएको मानसिकता जस्ता कथाहरुले बाध्यताले विदेसिएका नेपालीहरुको ब्यथाहरु बोकेको पाइन्छ ।

यसबाहेक लरेनका ड्याडीहरु, कालचक्र र राममाया कथाहरुले डा. संगीताको विश्वब्यापी संवेदनशीलतालाई राम्रैसँग छोएको छ ।

पढाइमा पनि अब्बल संगीताले ‘विद्याभूषण पदक’ प्राप्त गरेका कारण पनि उनको चेतना अनुमान गर्न सकिन्छ । यो चेतना ‘गुलाफसँगको प्रेम’मा पनि देख्न सकिन्छ ।

अनुदित पुस्तक सिंह सेनापति

भारतका उच्च विद्वानमध्ये स्व. राहुल सांकृत्यान पनि एक थिए । उनलाई महापण्डितको पदवी प्राप्त भएको थियो । सयभन्दा बढी पुस्तक लेखेका राहुल सांस्कृत्यान धेरै देश घुमेर नियात्राका पुस्तक लेख्ने लेखक पनि थिए । उनी लामो समय नेपाल पनि बसो । उनको ‘भोल्गा से गंगा’ विश्वकै चर्चित पुस्तक मध्ये एउटा मानिन्छ ।

यिनै विद्वानले लेखेको पुस्तक ‘सिंह सेनापति’ अहिले नेपाली बजारमा आएको छ । औपन्यासिक शैलीमा लेखिएको यो पुस्तकले बौद्धकालीन बैशाली गणराज्यका जनता र नेताको कथा भन्छ ।

नेपालमा गणतन्त्रको आगमनपछि यो पुस्तकको सार्थकता भएकै कारण यो पुस्तक अनुदित भएको अनुमान गर्न सकिन्छ । पुस्तकले आदर्श गणराज्यको सम्पूर्ण विशेषता औपन्यासिक शैलीमा भनेका कारण पनि यसको महत्व छ ।

उडान

किशोर किशोरीमा पढ्ने रुचि जागेको छ । तर, उनीहरुलाई कस्तो पुस्तक पढाउने भन्ने बहस पनि सँगै चल्नु पर्ने देखिन्छ । युवा केन्द्रीत पुस्तकहरुमा बढ्दै गएको खुला यौनको वकालतलाई रोक्नुपर्ने बहस एकातिर छ भने आजको डिजिटल दुनियामा किशोर–किशोरीलाई के पढ्न दिने वा नदिने भन्ने बहस नै निरर्थक हो भन्ने अर्को पाटो छ ।

किशोरकेन्द्रित यही बहसलाई अघि बढाउन विजय सापकोटाले ‘उडान’ उपन्यास लिएर आएका छन् ।

किशोर–किशोरीको मनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यासले आमा–बुवाले असल ठानिरहेका केटाकेटीहरु कतिखेर उनीहरुका हातबाट चिप्लिन्छन् भन्ने कुरा राम्रोसँग दर्शाइएको छ । पुस्तक किशोर वयका लागि भन्दा पनि अभिभावक र शिक्षकहरुले पढ्नुपर्ने जस्तो देखिन्छ ।

मोनोनेट

झापाली पत्रकार तीर्थ सिग्देलले तेस्रो पुस्तकका रुपमा मोनोनेट कथा संग्रह बजारमा ल्याएका छन् । कथाहरुमार्फत सिग्देलले मानव मन पर्गेल्ने प्रयास गरेका छन् । झापा निवासी सिग्देलको पुस्तक झापामै विमोचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment