२८ असोज, काठमाडौं । पारस खड्काले क्रिकेटर बन्ने, अझ राष्ट्रिय टिमको कप्तानी गर्ने सपना कहिल्यै देखेका थिएनन् । तर जीवनको गोरेटो सपनाले मात्रै तय गर्दैन ।
कक्षा १० मा पढ्दै गर्दा उनले विद्यालयस्तरीय प्रतियोगिताको सूचना पढे । उनको टिमले त्यो प्रतियोगिता खेलेन मात्र, जित्यो पनि । यसरी सुरु भएको उनको क्रिकेट यात्रा उमेर समूह पार गर्दै २००४ मा राष्ट्रिय टिमसम्म पुग्यो । सिनियर टिमबाट खेल्न थालेको पाँचौं बर्षमै उनी कप्तान बने । त्यसपछि उनी एक दशकसम्म नेपालको निर्विकल्प ‘लिडर’ अर्थात कप्तानको रुपमा रहे ।
यो एक दशकमा नेपाली क्रिकेटले धेरै सफलता पायो, केही नमिठा हारहरु पनि व्यहोर्यो । त्योभन्दा धेरै नेपाल क्रिकेट संघ (क्यान)को आन्तरिक किचलोले नेपाली क्रिकेटलाई गिजोल्यो । झण्डै चार वर्षसम्म नेपाली क्रिकेट संघ निलम्बित रह्यो ।
निलम्बनअघि नै खेलाडीहरुले आर्थिक पारदर्शितालगायतका मुद्दामा क्रिकेट संघलाई घच्घच्याएका पनि थिए । मैदानबाहिर क्रिकेट सुधारमा आवाज उठाएका उनीहरुले मैदानभित्र मेहनत गर्न छाडेनन् । आफूमाथि प्रश्न उठाउने मौका दिएनन् ।
त्यही मेहनतको बलमा नेपालले २०१३ मा पहिलो पटक टी–२० विश्वकप खेल्यो, २०१८ मा एकदिवसीय टिमको मान्यता पायो । नेपालले पाएको यो सफलताहरुमा पारस खड्काको खेलाडीको रुपमा त योगदान छ नै, त्योभन्दा महत्वपूर्ण भूमिका लिडरका रुपमा खेले । त्यसैले उनी एक दशकसम्म नेपाली क्रिकेट टिमको निर्विकल्प लिडर रहे ।
Great to know that the suspension of Nepal cricket has been lifted and would like to wish the new committee to work for the betterment of Nepal cricket,players and its stake holders.
I have hereby decided to resign from my post as the captain of Nepal cricket team.
Jai Nepal !! pic.twitter.com/YuRBZkR7bU— Paras Khadka (@paras77) October 15, 2019
अहिले पनि उनको कप्तानीमा प्रश्न उठेको थिएन, बरु उनकै अगुवाईमा नेपाल टेस्ट राष्ट्र बन्ने बाटोमा हिँडेको हेर्न चाहने क्रिकेट समर्थकहरु छन् । तर उनले मंगलबार अप्रत्यासित रुपमा कप्तान पद छाड्ने घोषणा गरेका छन् ।
उनी अहिले कप्तान छाड्ने सही समय भएको मान्छन् । रातारात निर्णयमा नपुगेको भन्दै उनी भन्छन्, ‘कप्तानको रुपमा यो सही समय लाग्यो किनभने क्रिकेट संघमा नयाँ नेतृत्व आएको छ । अब उहाँहरुले असल व्यक्ति छान्नुहुन्छ ।’
क्यानको त्यो बोल्ड निर्णय
२००९ मा विनोद दासलाई हटाएर पारसलाई कप्तानको जिम्मेवारी दिँदा क्रिकेट संघको अध्यक्ष विनयराज पाण्डे थिए । उनकाअनुसार त्यसबेला दास अझै केही वर्ष राष्ट्रिय टिमको कप्तानी गर्न समक्ष थिए । तर यू–१९ मा पारसको कप्तानीमा नेपालले एकपछि अर्को टेष्ट राष्ट्रलाई हरायो । यो टिमलाई माझ्ने हो भने सन् २०१५ को वर्ल्डकपमा नेपाल छनोट हुनसक्ने सम्भावना क्रिकेट संघ र प्रशिक्षक रोय लुक डायसले देखे ।
त्यतिबेला पारस केवल २१ वर्षका थिए । उनीभन्दा सिनियर खेलाडीहरु थिए । विनोद आफैं पनि कप्तानको भूमिकामा असफल भएका थिएनन् । त्यसैले क्यानले एक हिसाबले बोल्ड निर्णय लिएको थियो ।
पाण्डे भन्छन्, ‘विनोद दास एक–दुई वर्ष कप्तानी गर्न सक्थे, तर विश्वकपको मुखमा कप्तान फेर्नु उपयुक्त नहुने भएपछि उनलाई हटाएर पारसलाई कप्तान बनाउन प्रशिक्षक र छनोट समितिले सिफारिस गर्यो, हामीले त्यसलाई मान्यौं ।’
क्यानको निर्णयलाई सही सावित गर्न पारसले लामो समय लगाएनन् । डिभिजन ५ मा रहेको नेपाललाई जिताउँदै गए, आफ्नो नेतृत्व कौशल प्रमाणित गरे भने आफ्नो खेललाई पनि निखार्दै लगे । एक्लो बलबुतामा नेपाललाई धेरै खेल उनले जिताएका छन् । सिंगापुरविरुद्धको शतकीय इनिङ उनको पछिल्लो स्मरणीय प्रदर्शन हो ।
एक दशकको यात्रा
पारस खड्काको कप्तानी नेपालले सफलताका धेरै मानकहरु खडा गर्यो । विश्वकप खेल्यो तर, एकदिवसीय होइन, टी–२० । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको नेपालले समूह चरणमा हङकङ र अफगानिस्तानलाई हराएको थियो भने घरेलु टोली बंगलादेशलाई राम्रै चुनौती दिएको थियो ।
एकदिवसीय विश्वकप खेल्न नसक्नुलाई भने पूरा हुन नसकेको लक्ष्य मान्छन् पारस ।
तर समग्रमा आफ्नो कप्तानीमा नेपाली क्रिेकटले पाएको सफलता र लिएको बाटोप्रति उनी सन्तुष्ट छन् । ‘मेरो सपना पनि थिएन नेपालका लागि क्रिकेट खेल्ने । तर भाग्यमा अर्कै कुरा लेखिरहेको रहेछ । जब यू–१५, यू–१७, यू–१९ हुँदै राष्ट्रिय टिममा पुगेँ, नेतृत्व गर्ने मौका पाएँ’ उनी भन्छन्, ‘यो यात्रा ऐतिहासिक रह्यो ।’
कप्तानका क्रममा आफूले प्रशिक्षक र खेलाडीहरुबाट धेरै सहयोग पाएको उनले सुनाए । नेपाली क्रिकेटलाई माथि पुर्याउने सोचले सबै क्रिकेटरलाई एकतावद्ध बनाएको र त्यसकै बलमा यहाँसम्मको यात्रा तय गर्न सकेको उनको बुझाइ छ ।
उनी आफ्नो कप्तानीमा नेपालले पाएको एकदिवसीय टिमको मान्यतालाई सबैभन्दा महत्वपूर्ण उपलब्धी मान्छन् । विश्वकप छनोटमा पपुवा न्यूगिनीलाई हराउँदै नेपालले १ चैत २०७४ मा एकविवसीय टिमको स्टाटस पक्का गरेको थियो ।
उनी टी–२० विश्ककप खेल्नुलाई पनि ठूलो उपलब्धी मान्छन् । तर नेपाली क्रिकेटमा स्थिरताका लागि एकविवसीय टिमको मान्यतालाई बढी महत्वपूर्ण ठान्छन् । खराब क्षण नि ? हरेक खेल हार्दा नराम्रो लाग्ने उनले सुनाए ।
सबैलाई सरप्राइज
एक दशकसम्म नेपालको कप्तानी गरेका पारसले मंगलबार एकाएक पद छाड्ने घोषणा गरे । यो क्रिकेट फ्यान मात्र होइन, उनकै टिममेटलाई पनि सरप्राइज बन्यो ।
उपकप्तानको भूमिकामा पारसलाई साथ दिँदै आएका ज्ञानेन्द्र मल्ल भन्छन्, ‘कहिलेकाहीँ भावी योजनाबारे कुराकानी त हुन्थ्यो तर, (पारसले) अहिले नै कप्तानी छाड्ने घोषणा गर्ला भन्नेचाहिँ लागेको थिएन ।’
अर्का सदस्य सन्दीप लामिछानेले पारसले धेरै वर्ष नेपालको प्रतिनिधित्व गरेको हेर्न चाहेको बताएका छन् ।
Starting the journey under your captainship, we’ve reached places Nepal cricket had never been able to before. You’ve inspired so many youths including me in the past years and given us all more reason to love this beautiful game. Best wishes for your future endeavors,
— Sandeep Lamichhane (@IamSandeep25) October 15, 2019
पारस र आफ्नो तस्वीर ट्वीट गर्दै उनले पारसले आफू र आफू जस्ता युवा खेलाडीहरुलाई प्रेरित गरेको स्मरण गरे । उनले लेखेका छन्, ‘तपाई साँच्चै लेजेण्ड हुनुहुन्छ, जसको हामी सबैको हृदयमा छाप परेको छ ।’
राष्ट्रिय टिमका अर्का सदस्य दीपेन्द्रसिंह ऐरी भन्छन्, ‘दिमाग पुरै खाली भएको छ ।’ तिलोत्तमा प्रिमियर लिग खेल्न बुटवल पुगेका उनले राष्ट्रिय टिममा रहँदा पारसले कप्तानी छाड्ने विषयमा कुरा गरेको आफूले कहिल्यै नसुनेको सुनाए ।
पूर्व कप्तान तथा यू–१९ का प्रशिक्षक विनोद दास र नेपाल क्रिकेट संघ (क्यान)का महासचिव अशोकनाथ प्याकुरेल पनि अनलाइनखबरसँगको कुराकानीमा कप्तान छाड्ने पारसको निर्णय अनपेक्षित भएको बताए ।
अझै जरुरी थियो उनको नेतृत्व
२००९ बाट अनवतरत रुपमा क्रिकेट टिमको कप्तानी गरेका पारसले यस्तो बेला नेतृत्व छाडेका छन्, जतिबेला नेपालको क्रिकेट संक्रमणकालबाट जुग्रिरहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेट संघको सदस्यता त कायम भएको छ र निलम्बन पूर्ण रुपमा हटेको छैन । आर्थिक पारदर्शीता, व्यवस्थापन लगायतका शर्तहरु पुरा भएपछि मात्र निलम्बन पूर्णरुपमा हट्नेछ ।
त्यसैले भर्खर क्रिकेट संघको नेतृत्वमा आएको चतुरबहादुर चन्द नेतृत्वको १७ सदस्यीय कार्यसमितिको प्राथमिकता अहिले आईसीसीका शर्तहरु पुरा गर्नमा हुनेछ ।
यसका साथै राष्ट्रिय क्रिकेट टिममा पुस्तान्तरणको प्रक्रिया पनि भर्खर सुरु भएको छ । राष्ट्रिय टिममा युवा सदस्यहरु आउने क्रम जारी रहे पनि सिनियर टोली पारस, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र बसन्त रेग्मीहरुमा भर पर्छ ।
भर्खर मात्र युवा टिमलाई निर्णायक भूमिकामा अभ्यास गराउन थालिएको छ । हाल भएको सिंगापुर र ओमान टुरमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र बसन्त रेग्मीलाई आराम दिएर युवा खेलाडीहरुलाई खेलाइएको थियो ।
नेपाली क्रिकेट संक्रमणकालमै रहेका बेला पारसले कप्तान छाड्ने घोषणा गरेका छन् । मल्ललाई लाग्छ, पारसले अहिले नै कप्तानी नछाड्को भए हुन्थ्यो । किनकी भर्खर क्रिकेट संघको निलम्बन फुकुवा भएको छ । नेपालको क्रिकेट स्थिर होला जस्तो भएको छ । यस्तो बेला नेपाली क्रिकेटलाई उनको नेतृत्व चाहिन्थ्यो ।
पूर्व कप्तान एवं प्रशिक्षक विनोद दास पनि भन्छन्, ‘पछिल्लो ५/६ वर्षमा नेपाली क्रिकेटले जेजति सफलता पाएको छ, त्यसमा पारसले खेलाडीका रुपमा मात्र होइन, लिडर (कप्तान)को रुपमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् र, कम्तीमा संक्रमणकालको एक वर्ष उनी कप्तान भइरहेको भए सहज हुन्थ्यो ।’
यद्यपि कप्तानी छाड्ने पारसको व्यक्तिगत निर्णय भएकाले सबैले सम्मान गर्ने बताएका छन् ।
नयाँ कप्तान को ?
सबैलाई आश्चर्य लागे पनि उनले यो निर्णय निकै सोचविचार गरेर लिएको देखिन्छ । र, उनले प्रष्ट शब्दमा भनेका छन्, फेरि कप्तानको भूमिकामा फर्कने सम्भावना छैन ।
त्यसो भए नयाँ कप्तान को भन्ने प्रश्न आउँछ । पारस कप्तान रहँदा लामो समय उपकप्तानको भूमिकामा रहेका मल्ल नयाँ कप्तानको स्वभाविक दावेदार मानिन्छन् ।
मल्ललाई आराम दिइएको सिंगापुर र ओमान टुरमा भने दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान बनाइएको थियो । त्यसैले उनको पनि नाम चर्चामा छ । यस्तै फ्रेन्चाइज लिगहरुमा कप्तानीको भूमिका निभाएका विनोद भण्डारी, सोमपाल कामी र सन्दीप लामिछानेलाई पनि सम्भावित उम्मेदवार मान्न सकिन्छ ।
यद्यपि नयाँ कप्तान कसलाई बनाउने भन्ने क्रिकेट संघ र उसले बनाउने छनोट समितिमा भर पर्छ । र, क्रिकेट संघलाई नयाँ कप्तान छनोट त्यति सजिलो छैन ।
प्रतिक्रिया 4