Comments Add Comment

एकै पटक १०० जनामा कोरोना संक्रमण देखिए के गर्ने ?

संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिरहँदा नेपाल सरकारले कोरोना भाइरस संक्रमणको जोखिमका सन्दर्भमा के कस्तो तयारी गरिरहेको छ भन्ने जानकारी सदनलाई गराउनुपर्‍यो, नागरिक सूचित हुनुपर्‍यो भन्ने थियो ।

म र मेरो टिमले नेपालले गरिरहेको र बाहिर भइरहेका प्रयासबारे बुझ्यौं र सार्वजनिक महत्वको भने पनि संकल्प प्रस्तावको ढाँचामा संसदमा प्रस्ताव लग्यौं । किनभने हामीले सरकारलाई प्रश्न वा गुनासो गर्नेभन्दा पनि हामी सबै सरकारको नेतृत्वमा काम गर्न एक ठाउँमा छौं भन्ने सन्देश दिन चाहेका थियौँ । र, सरकारले गर्नुपर्ने कामको फेहरिस्त नै तयार गरेर प्रस्तावमा राख्यौं ।

छलफलका क्रममा सिंगो संसद प्रस्तावको पक्षमा उभियो र हामी सरकारको साथमा छौं भन्यो । जवाफ दिने क्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि सकारात्मक रुपमा लिएर प्रस्तावले उठाएका मुख्य विषयहरुलाई मार्गदर्शनका रुपमा लिएर तत्काल ‘एक्सन’मा जान्छौं भन्नुभयो ।

कसैले बेसार, लसुन खाऊ ठीक हुन्छ भनेको छ, कसैले बोझो खाऊ भनेको छ । यस्तो बेला सरकारले जनतालाई भयभीत तुल्याउनु हुँदैन, सही सूचना दिन सक्नुपर्छ ।

संसदमा बहस गर्दैगर्दा हाम्रो मुख्य माग थियो– मन्त्रालयहरुले छुट्टाछुट्टै गर्ने काम होइन । संघ, प्रदेश, स्थानीय सरकार सबै एक ठाउँमा आएर उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिमार्फत एकीकृत रुपमा काम गर्नुपर्छ । त्यो समिति शीर्ष निकाय जस्तो होस् । त्यसले एकीकृत कार्ययोजना बनाउनुपर्छ । कसले, के गर्ने भन्ने परिभाषित गर्नुपर्छ । सबैले कार्ययोजना पालना गर्नुपर्छ । र, स्रोत व्यवस्थापन पनि त्यसरी नै हुनुपर्छ ।

तर, अहिले पनि शिक्षामन्त्रालय बोलिरहेको छ, गृह मन्त्रालय बोलिरहेको छ, नागरिक उड्डययन प्राधिकरण बोलिरहेको छ । सबै आआफ्नो कुरा गरिरहेका छन् । हामीले खोजेको यो होइन, युद्धका बेलामा जस्तो शीर्ष निकायबाट काम होस् भन्ने हो । त्यसको बैठक कम्तिमा २४ वा ४८ घण्टामा बसोस्, सचिवालय होस् र सबै सूचना त्यहीमार्फत आओस् भन्ने हाम्रो पहिलो माग थियो ।

दोस्रो, हामी सबैको चाहना कोरोना भाइरस नेपाल भित्रनै नपाओस् भन्ने हो ।

त्यसका लागि भुटानसहित केही देशले अन्तर्राष्ट्रिय आवागमन पुरै बन्द गरे । थुप्रै देशले संक्रमण धेरै फैलिएको देशबाट आउनेलाई पुरै रोक नलगाए पनि क्वारेन्टाइन अनिवार्य गरेका छन् । केहीले आवागमन बन्द गरेनन्, क्वारेन्टाइनमा पनि राखेनन्, तर संक्रमण नभएको प्रमाणपत्र लिएर आऊ भन्यो ।

नेपालले पनि यो तेस्रो बाटो अवलम्बन गरेको छ ।

तर हामीकहाँ उडान रोक्नुपर्ने नदेखिएको भनेर नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु बोलिरहेको सुन्छौं । कोरोना संक्रमण भित्रिन नदिन उडान बन्द गर्न आवश्यक छ कि छैन भनेर नागरिक उड्डयनले भन्ने होइन, जनस्वास्थ्यका विज्ञहरुले भन्ने हो । नेपालको ‘हेल्थ सिस्टम’को आँखाबाट हेर्ने हो ।

म पब्लिक हेल्थ विज्ञ होइन, तर व्यक्तिगत रुपमा केही दिन नेपालले यो जोखिम पनि उठाउनुपर्छ भन्ने ठान्दछु । कि आवागमन बन्द गर्नुपर्छ कि संक्रमण फैलिएको देशबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्नुपर्छ । यसबारे उपपधानमन्त्री नेतृत्वको संयन्त्रले जनस्वास्थ्यका विज्ञहरुको राय सल्लाह लिएर निर्णय गरोस् ।

तेस्रो, कोरोनाको संक्रमण धेरै देखिएका देशहरुबाट आएकाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरो नापेर प्रवेश दिइन्छ । उहाँहरु अहिले कहाँ बसिरहनुभएको छ, के गरिरहनुभएको छ ? उहाँहरुमध्ये कुनै एक जनामा मात्र पनि कोरोना संक्रमण रहेछ भने त्यसको परिणाम के होला ? एक पटक कल्पना गरौं त ।

चौथो, संसदमा छलफल भएर पनि सुधार नभएको एउटा पक्ष सरकारी सूचना प्रणाली पनि हो । उपप्रधानमन्त्री नेतृत्वको संयन्त्र जागरुक होस्, त्यसले एकद्वार प्रणालीबाट विश्वसनीय सूचना प्रवाह गरोस् भन्ने हाम्रो माग हो ।

अहिले हेर्नुस्, प्रत्येक मन्त्रालयको आआफ्नै सूचना छ, पार्टीहरुको पनि आफ्नै सूचना छ । स्थानीय तहहरुले पनि आ–आफ्नै खाले सूचना जारी गरेका छन् । कसैले बेसार, लसुन खाऊ ठीक हुन्छ भनेको छ, कसैले बोझो खाऊ भनेको छ । यस्तो बेला सरकारले जनतालाई भयभीत तुल्याउनु हुँदैन, सही सूचना दिन सक्नुपर्छ ।

अस्पतालहरुको तयारी

अहिले कसैलाई कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखियो भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्छौं । त्यहाँ जम्मा पाँच वटा आइसोलेसन वेड छ, त्यो भरिएपछि पाटन अस्पताल पठाउँछौं ।

कोरोना संक्रमण भए नभएको जति बढी परीक्षण गर्‍यो उति नै बढी भरपर्दो जानकारी हुन्छ । टेष्टका लागि हामीसँग गज्जबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) छ । त्यहाँ काम गर्ने कर्मचारीको सुरक्षा, बिमालगायतको सुनिश्चितता गर्नुपर्छ । बायोसेफ्टी लेभल (बीएसएल–३) र अरु दुई प्राइभेट ल्याब चलाउने हो भने सातामा १२०० भन्दा बढी परीक्षण गर्न सक्छौं ।

काठमाडौंभित्र र बाहिर भएका थोरै वेडका निजी अस्पतालमध्ये केहीलाई २–३ महिनाका लागि (भाडामा) लिए हुन्छ । कुनै सरकारी अस्पतालको ब्लक लिए हुन्छ । त्यहाँ कोरोनाको संक्रमण उपचार गर्न ७०–८० वेडको आईसीयू तयार पार्नुपर्छ । जनशक्तिलाई तालिम दिएर राख्नुपर्छ ।

र, त्यहाँ टेष्ट गर्दा कसैमा संक्रमण देखियो भने शुक्रराज ट्रपिकलमा राख्छौं । त्यसपछि पाटन, अरु अस्पतालमा राख्छौं । अरु आइसोलेसन वार्ड तयार गर्नुपर्छ ।

कोरोना संक्रमण बढ्दै गए कम्युनिटी टेस्टिङ र सेल्फ क्वारेन्टाइन प्रोटोकल पनि हामीलाई चाहिन्छ । कम्युनिटी टेष्टिङ प्रोटोकलमा संक्रमण बढेको बेला क–कसले र कसरी टेष्ट गर्ने भन्ने हुन्छ भने सेल्फ क्वारेन्टाइन प्रोटोकलमा घरलाई क्वारेन्टाइन बनाउँदा के गर्ने, के नगर्ने, खाना कसरी खाने, बाथरुम कसरी जाने, परिवारका अरु सदस्यसँग कसरी सम्पर्क गर्ने भन्ने हुन्छ ।

काठमाडौं उपत्यका र बाहिर ठूलो संख्यामा मानिसहरुलाई क्वारेन्टाइनमा राख्नुपर्‍यो भने कहाँ राख्ने भन्ने पनि तय गर्नुपर्छ । स्कुल, ठूला होटल कहाँ हुनसक्छ, पहिचान गरेर क्वारेन्टाइन बनाउन तयारी गर्नुपर्छ । चाहिएको बेला २४ घन्टाभित्र क्वारेन्टाइन बनाउन सकिने खरिपाटी जस्ता दर्जनौं ठाउँ तयार पार्नुपर्छ ।

हामी कोरोनाबाट मृत्यु हुनेको दर निकै कम छ, त्यसैले डराउनु पर्दैन भनिरहेका छौं । कोरोनाको मृत्युदर कम छ, सही हो । तर इटलीमा के भयो हेरौं ।

त्यहाँका एक डाक्टरले हेल्थ केयर फाउण्डसेनलाई पठाएको चिठ्ठीमा ‘कोरोनाबाट संक्रमितमध्ये करिव १० प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्छ, करिव ५ प्रतिशतलाई क्रिटिकल केयर (आईसीयू वेड) चाहिन्छ’ भनिएको छ । क्रिटिकल केयर दिन अस्पतालमा वेड मात्र भएर पुग्दैन, सेवा दिनसक्ने जनशक्ति पनि चाहिन्छ ।

अहिले काठमाडौंमा एउटा निश्चित संख्यामा संक्रमण फैलियो भने के गर्ने ? हामीसँग कति आईसीयू बेड छ ? तथ्यांकअनुसार, काठमाडौंका सबै सरकारी अस्पतालमा बच्चाका लागि ३० र अरुका लागि ७० गरी जम्मा १०० वटा लेभल थ्री आईसीयू बेड छन् । निजी अस्पतालसँग पनि सीमित संख्यामा यस्ता वेड छन् । र, सधैं प्याक हुने गरेको छ । उपत्यका बाहिर त अवस्था झन् खराब छ ।

विश्वका अरु देशमा कोरोनाको संक्रमणपछि उपचार पाएकाले मृत्यु दर धेरै नभएको हो । चीन, इटली, दक्षिण कोरियालगायतका देशमा सुविधासम्पन्न अस्पतालहरु छन्, लेभल थ्री आईसीयू बेड र त्यो सेवा दिनसक्ने जनशक्ति छ र उपचार पाए । तर नेपालमा संक्रमण फैलियो भने यही अवस्था नहुने प्रष्टै छ । किनकी हस्पिटलतर्फ हाम्रो तयारी पुगेन मात्र होइन, भएकै छैन भन्दा फरक पर्दैन ।

अहिले पनि समय छ । उपकरण अभाव छ भने किन्नुपर्‍यो, अस्ति चीनले बनाएको हजार वेडको अस्पतालको कथा जस्तो हामी कहाँ कम्तीमा चाहिएको बेला रातारात आईसीयू वेडहरु थप्नसक्छु भन्ने अवस्था हुनुपर्‍यो। काठमाडौंभित्र र बाहिर भएका थोरै वेडका निजी अस्पतालमध्ये केहीलाई २–३ महिनाका लागि (भाडामा) लिए हुन्छ । कुनै सरकारी अस्पतालको ब्लक लिए हुन्छ । त्यहाँ कोरोनाको संक्रमण उपचार गर्न ७०–८० वेडको आईसीयू तयार पार्नुपर्छ । जनशक्तिलाई तालिम दिएर राख्नुपर्छ । यसका लागि सरकारले स्रोतसाधनको लोभ गर्नु हुँदैन । तर, अहिले पनि त्यसो गरेको देखिँदैन ।

ट्राभल रेकर्ड राखौं

कोरोनाको संक्रमण विश्वभर फैलिएपछि सरकारले सभा–सम्मेलन नगर्नुस्, रंग दलेर होली नखेल्नुस् भन्यो । सभा सभारोहमा धेरै मान्छे आउँछन्, को–कोसँग भेट भयो, थाहा हुँदैन । सडकमा निस्केर होली खेल्दा को–कोसँग भेट भयो भन्ने थाहा हुँदैन । भोलि तिमध्ये कसैलाई कोरोना संक्रमण भइहाल्यो १४–१५ दिनमा को–कोसँग भेट भयो पत्ता लगाउन सकिँदैन भनेर यसो गरेको हो ।

संक्रमित व्यक्तिले गत १४–१५ दिनमा भेटघाट गरेका सबैको पहिचान गरेर तत्काल परीक्षणमा पठाउनुपर्छ । कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्नुपर्छ ।

ट्राभल रेकर्ड पनि किन महत्वपूर्ण छ भने, कोरोना संक्रमण देखिएको व्यक्तिले फागुन १२ गते १ बजे रत्नपार्कबाट बानेश्वर जाने बस चढेको बताउन सके भने त्यो दिन त्यो समयमा हामीमध्ये को–को त्यो बसमा सवार थियौं भनेर सम्झन सकिन्छ । अनि चेकजाँचमा गएर संक्रमण रोक्न सहज हुन्छ ।

तर हामी कहाँ नागरिकलाई यसरी बुझाइएन । कोरोनाको संक्रमणबाट बच्न होली नखेल मात्र भनियो । मानौं, होली खेलेकै कारण कोरोना हुनसक्छ ।

भोलि एकै पटक १०० जनामा संक्रमण देखियो भने उनीहरुलाई तत्काल आईसीयूमा भर्ना गर्छु, उनीहरुले ककसलाई भेटेका छन्, पत्ता लगाउँछु र क्वारेन्टाइनमा राख्छु भनेर तयारी गर्ने हो । यो ‘स्टेट अफ इमर्जेन्सी’को अनुभव सरकारलाई होस् र हामी सबै सहयोग गर्न तयार छौं ।

त्यसैले म सबैलाई अपील गर्छु– अब हामी प्रत्येकले आफ्नो ट्राभल रेकर्ड राखौं । भोलिका दिनमा नेपालमा कोरोना भाइरस देखिएन भने यो काम नलाग्न पनि सक्छ, तर देखिहाल्यो भने संक्रमण फैलिनबाट जोगाउन निकै मदत पुग्छ ।

समस्याको गम्भीरता महसुस भएन

हामीले सरकारलाई झक्झक्याउने हो, झक्झक्याइरहेका छौं । सरकारले समस्या न्यूनिकरणका लागि तत्काल काम गर्नपर्छ ।

पूर्वतयारीका काम गर्न चाहिने बजेटका लागि चालु खर्चमा कहाँकहाँ घटाउने हो हेर्नुपर्छ र यति खर्च कटौती गरेर यो काम गर्छु भनेर नागरिकलाई भन्नुपर्छ । प्रधानमन्त्री रोजगार जस्ता कार्यक्रमलाई परिमार्जन गरेर क्वारेन्टाइन बनाउने, जनचेतना जगाउने जस्ता काममा स्वयंसेवक खटाउन सकिन्छ ।

संसदमा प्रस्ताव लैजाँदै गर्दा पनि हामीले चाहेका थियौं, सरकारले ‘स्टेट अफ इमर्जेन्सी’ महसुस गरोस्, आसन्न युद्ध टार्ने प्रयास थालोस् । युद्व टर्‍यो भने एकदम राम्रो भयो, तर भइहाल्यो भने हार्न नपरोस् । युद्धले कम क्षति पुर्‍याओस् ।

मैले अन्यथा भन्न खोजेको होइन, सरकारले काम गरोस्, हामी मद्दत गर्न चाहन्छौं भन्ने हो, तर आज पनि सरकारको ‘बिजनेस एज युजल’ चलेको छ ।

सरकारमा बसेकाहरुलाई ‘स्टेट अफ वार’ वा ‘इमर्जेन्सी’ महसुस भएकै छैन । बरु सरकारी निकायहरुबाट व्यक्तिपिच्छे फरक धारणाहरु आइरहेका छन्, त्यो पनि ‘हामी नेपालीले पचाइदिन्छौं, बाहिर जेजस्तो भएपनि हामीलाई छुँदैन’ भन्ने खालको ।

मेरो आग्रह छ, कोरोना भाइरसविरुद्व पूर्वतयारी गर्न हामीले पाएको पर्याप्त समयलाई सदुपयोग गरौं ।

पूर्वतयारीमा जुट्दा राज्यप्रति नागरिकको विश्वास बढ्छ । बाहिर पनि नेपालले सक्छ भन्ने सन्देश जान्छ । कदाचित संक्रमण देखिहाल्यो भने पनि क्षति न्यून हुन्छ । क्षति कम हुँदा पनि नागरिकले सरकारलाई धन्यवाद दिन्छ ।

त्यसैले केही नहोस्, संक्रमण नभित्रिओस् भनेर सरकारले कामना गर्ने हो, नागरिकलाई सरकार छ भनेर आश्वस्त बनाउने हो । तर भित्रभित्रै भयावह अवस्थाको कल्पना गरेर पूर्वतयारी गर्ने हो । भोलि एकै पटक १०० जनामा संक्रमण देखियो भने उनीहरुलाई तत्काल आईसीयूमा भर्ना गर्छु, उनीहरुले ककसलाई भेटेका छन्, पत्ता लगाउँछु र क्वारेन्टाइनमा राख्छु भनेर तयारी गर्ने हो ।

त्यस्तो बेला बजारमा हाहाकार मच्चिन सक्छ, शान्ति सुरक्षा खल्बलिनसक्छ, त्यसलाई पनि सम्हाल्छु भन्ने तयारीमा सरकार हुनुपर्छ । यो ‘स्टेट अफ इमर्जेन्सी’को अनुभव सरकारलाई होस् र हामी सबै सहयोग गर्न तयार छौं ।

(नेपाली कांग्रेसका नेतासमेत रहेका थापासँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment