Comments Add Comment

सिंहदरबारलाई स्थानीय सरकारको सुझाव– सर्वदलीय संयन्त्र बनाऊ

राहतमा कसैले घिउ बाँडे, कसैले मास्क

२८ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा स्थानीय तहहरुले गरिरहेका काम र समस्याबारे प्रत्यक्ष जानकारी लिन सुरु गरेको छ ।

मन्त्री हृदयेश त्रिपाठी र सचिव सूर्यप्रसाद गौतमले कोराना नियन्त्रणका लागि हुँदै आएका र गर्नुपर्ने कामबारे पालिका प्रमुखहरुसँग प्रत्यक्ष भिडियो वार्ता गरी जानकारी लिन सुरु गरेका हुन् ।

मन्त्री त्रिपाठीले सबै जनप्रतिनिधिहरुको सुझाव संकलन गर्दै स्थानीयस्तरमा भोग्नु परेका समस्याको समाधान गर्ने बचन समेत दिएका छन् ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले पहिलो चरणमा शुक्रबार १७ वटा पालिका प्रमुखहरुसँग भिडियो कुराकानी भएको अनलाइनखबरलाई जानकारी दिए ।

‘स्थानीयस्तरमा जनप्रतिनिधिहरुले गर्नुभएको तयारी र मन्त्रालयले खेल्नुपर्ने भूमिकाबारे सातवटै प्रदेशलाई समेट्ने गरी आज १७ वटा पालिका प्रमुखहरुसँग कुराकानी गर्नुभयो,’ प्रवक्ता अधिकारीले भने, ‘यो क्रम आइतबार पनि जारी रहन्छ ।’

भिडियो कुराकानीका क्रममा धेरैजसो जनप्रतिनिधिहरुले स्वास्थ्यकर्मीहरुले लगाउने सुरक्षा सामग्री (पीपीई) र जनशक्ति अभाव रहेको जानकारी गराए भने कतिपयले केन्द्रमा सर्वदलीय संयन्त्र बनाएर कोरोनाविरुद्ध परिचालित हुन मन्त्री त्रिपाठीलाई सुझाव दिए ।

जनप्रतिनिधिहरुले घरैपिच्छे मास्क बाँडेको, राहतस्वरुप दूध र घिउ बाँडेको, विदेशबाट आएकाहरुको विवरण संकलन गरी निगरानीमा राखेको लगायतका रिपोर्टिङ गरेका छन् ।

मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार इलामको सूर्योदय नगरपालिकाले गरिब तथा विपन्न परिवारहरुलाई राहतको रुपमा दूध र तेलको सट्टा एक किलो घिउ बाँडेको, राहत वितरणमा अनियमितता नहोस् भनेर स्थानीयस्तरमै जाँचबुझ समिति गठन गरेर अनुगमन गरेको, स्थानीयस्तरमै ४२ वटा पीपीई बनाएर स्वास्थ्यकर्मीलाई दिएको र लकडाउनको बेला नगद आवश्यक पर्न सक्ने भन्दै सामाजिक सुरक्षा भत्ता बैङ्कमा राखिदिने काम गरेको पाइएको छ ।

धादिङकोे नीलकण्ठ नगरपालिका प्रमुखले केन्द्रमा सर्वदलीय संयन्त्र बनाएर कोरोना रोकथाम तथा नियन्त्रणको काममा परिचालित हुनुपर्ने सुझाव दिएको मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी दिए ।

‘यो राष्ट्रिय समस्या भएकाले सबै दललाई सक्रियतापूर्वक परिचालन गर्नुपर्छ भन्ने हिसाबले नीलकण्ठ नगरपालिकाबाट सर्वदलीय संयन्त्र बनाउन सुझाव आएको छ,’ प्रवक्ता अधिकारीले भने ।

यसैगरी, अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले कोरोनाबारे चेतनामूलक पर्चा र मास्क घरैपिच्छे बाँडेको जानकारी मन्त्रालयलाई गराएको छ ।

छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोख्रेलले भनेअनुसार गाउँपालिकामा एमबीबीएस डाक्टरहरु सात जना छन् । त्यहाँ ‘क्विक रेस्पोन्स टिम’ बनाएर काम भइरहेको छ भने राहत वितरणको मापदण्ड बनाएर गाउँपालिकाका सबै कर्मचारीहरु पूरै समय काममा खटिएका छन् ।

बैतडीको पाटन नगरपालिकाले एम्बुलेन्सको प्रवन्ध गरिदिन माग गरेको छ । पाटन नगरपालिकाबाट शंकास्पद चार सय २५ जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

मन्त्री त्रिपाठी र सचिव गौतमले शुक्रबार पहिलो चरणमा सुनसरीको धरान उपमहानगरपालिका, इलामको सूर्योदय नगरपालिका, रौतहटको गौर नगरपालिका, झापाको भद्रपुर नगरपालिका, जनकपुरको मिथिला गाउँपालिका, नुवाकोटको तारकेश्वर नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका, बागलुङको काठेखोला गाउँपालिका र पोखरा महानगरपालिका प्रमुखहरुसँग भिडियो कुराकानी गरेका छन् ।

यसैगरी, पूर्वी नवलपरासीको कावासोती नगरपालिका, बुटवल उपमहानगरपालिका, अर्घाखाँचीको छत्रदेव गाउँपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जाजरकोटको भेरी नगरपालिका, अछामकोे मंगलसेन नगरपालिका, कैलालीको गोदावरी नगरपालिका, बैतडीको पाटन नगरपालिका र बाजुराको बडीमालिका नगरपालिका प्रमुखहरुसँग पनि मन्त्री त्रिपाठी र सचिव गौतमले कुराकानी गरेका छन् ।

आइतबार थप १२ वटा पालिका प्रमुखरुसँग छलफल गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment