Comments Add Comment

उपत्यकामा संक्रमित भेटिएपछि कोरोना परीक्षण गराउने बढे

३ वैशाख, काठमाडौं । उपत्यकामा कोभिड-१९ स‌ंक्रमण देखिन थालेपछि नमुना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा संक्रमण देखिएपछि विदेशबाट आएकाहरु आफैँ अस्पतालमा पुगी नमुना परीक्षण गराउन थालेका छन् । उपत्यकामा अहिलेसम्म पाँच जनामा संक्रमण देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले उपत्यकामा मङ्गलबार एकै पटक दुई जनामा संक्रमण देखिएपछि अस्पतालमा आएर परीक्षण गराउनेको संख्या बढेको बताए । उनका अनुसार, पहिले दैनिक १०-१५ जनाको परीक्षण गर्ने टेकु अस्पतालमा अहिले ३० जना आउने गरेका छन् ।

घरबेटी र समुदायले नै विदेशबाट आएका मानिसलाई संक्रमण भए/नभएको रिपोर्ट ल्याउन भनेपछि ती मानिसहरु अहिले टेकुस्थित अस्पतालमा आफैँ गएर परीक्षण गराइरहेका छन् ।

‘उपत्यकामा संक्रमित बढेसँगै त्रास भएको छ । अहिले दैनिक ३० जना आफैँ अस्पतालमा आएर नमुना परीक्षण गराइरहेका छन्,’ उनले भने, ‘विगत एक-डेढ महिनादेखि विदेशबाट आएका धेरै छन् । घरबेटी र समुदायले नै आफूलाई बस्न दिएन भन्दै धेरै मानिस आउन थालेका छन् ।’

अस्पतालले २४ घण्टामा नमूना परीक्षणको रिपोर्ट दिने गरेको छ । टेकु अस्पतालले सङ्क्रमण देखिन थालेपछि आइसोलेसनको र सघन उपचार कक्षको वृद्धि गरेको छ । अहिले २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य भइरहेको अस्पतालका निर्देशक डा. राजभण्डारीले बताए ।

पहिलो पटक माघ ९ गते चीनको वुहानबाट आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो भने त्यसयता चैत १० गते फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा दोस्रो संक्रमण देखिएको थियो । त्यस्तै चैत १२ गते पुनः एक जनामा कोभिड पोजेटिभ देखिएको थियो भने मंगलबार काठमाडौ‌ंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

मङ्गलबार संक्रमण देखिएको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य दुई जनाको टेकु अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । अहिले नेपालमा १६ जनामा संक्रमण देखिएको छ । कैलालीमा चार, कञ्चनपुरमा एक, बागलुङमा दुई, काठमाडौंमा पाँच, पर्सामा तीन र रौतहटमा एक जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले उपत्यकामा नमुना परीक्षणको दायरा बढाइरहेको बताए । उनले मङ्गलबार संक्रमित देखिएका स्थानमा एक हजार सात सयको परीक्षण गरिने जानकारी दिए ।

मन्त्रालयका अनुसार मङ्गबारसम्म रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गरी दुवै विधिबाट अहिलेसम्म १२ हजार नौ सय छ जनाको परीक्षण गरिएको छ ।

परीक्षणको दायरा बढाउनका लागि अहिले उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु अस्पताल र वीर अस्पतालमा पनि पीसीआरबाट परीक्षण गरिएको छ । इपिडिमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले उपत्यकामा पनि स्थानीय तहसँगको समन्वयमा विदेशबाट आएका व्यक्तिको परीक्षण गरिरहेको बताए ।

मंगलबारमात्र उपत्यकामा पीसीआरबाट तीन सय ८७ जनाको परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment