Comments Add Comment

कोरोनाको स्वरुपमा परिवर्तन त आएको होइन ?

विज्ञहरु भन्छन्– अध्ययन गर्नुपर्ने भयो

६ वैशाख, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–८ का आमाछोरा ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल फर्किए । त्यसको भोलिपल्ट अर्का छोरा हङकङबाट आए ।

सुख्खा खोकी, ज्वरो लगायतका कुनै लक्षण पनि देखिएन । विदेशबाट फर्किएको पनि महिना दिन पुगिसकेको थियो, त्यसैले सबै ढुक्क थिए । त्यसैले आफन्तकहाँ बिस्तारै आउजाउ पनि सुरु भएको थियो ।

स्थानीय तहले विदेशबाट आएकाहरुको र्‍यापिड टेस्ट गर्दा उनीहरू पनि सहभागी भए । र्‍‍यापिड डायग्नोस्टिक विधिबाट परिएको परीक्षणमा ६३ वर्षकी आमा र २७ वर्षका छोरामा कोरोना पोजेटिभ देखियो । त्यसपछि भरतपुरमै पीसीआर विधिबाट परीक्षण गर्दा पनि पोजेटिभ आएपछि थप जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना पठाइयो ।

आमाछोराको रिपोर्ट पोजेटिभ आयो । भरतपुर अस्पतालको आइसोलेन वार्डमा रहेकी आमालाई सुगर र उच्च रक्तचापको समस्या भएको संक्रमित महिलाका छोराले बताए ।

‘आमालाई दीर्घरोग छ, तर ज्वरो, रुघाखोकी केही छैन । हामीलाई पनि केही समस्या छैन’ एक छोराले टेलिफोनमा अनलाइनखबरसँग भने ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले पनि दुवैमा कुनै लक्षण नभएको बताए । ‘उहाँहरुको शरीरमा भाइरस छ। तर, लक्षण देखिएको छैन’ उनले भने ।

हङकङबाट आएर परिवारमा सँगै बस्दै आएका अर्का छोरामा भने संक्रमण देखिएको छैन ।

यसअघि ५ चैतमा बेलायतबाटै आएर पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ८१ वर्षकी आमा र ५८ वर्षका छोरामा पनि वैशाख २ गते कोरोना भाइरसको संक्रमण देखिएको थियो भने बुहारीमा संक्रमण देखिएको थिएन । यद्यपि र्‍यापिड टेस्टमा तीनैजनाको रिपोर्ट पोजेटिभ थियो ।

सनसिटी र चितवनको केसमा केही समानता देखिन्छ ।

  • दुवै केसका संक्रमित कोरोनाको संक्रमण फैलिएको मुलक बेलायतबाट आएका थिए, त्यो पनि एकै दिन ।
  • संक्रमितहरूमा कुनै लक्षण देखिएको छैन ।
  • झण्डै एक महिनापछि गरिएको परीक्षणमा उनीहरुमा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।

जबकि कोरोनाबारे अहिलेसम्मको मान्यता के हो भने विश्वभर मानव शरीरमा भाइरस प्रवेश गरेको एक दिनदेखि १४ दिनभित्र संक्रमणकालीन अवस्था हुन्छ। अधिकांशको हकमा यो अवधि पाँच दिनको हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) स्वयंले भनेको छ, ‘संक्रमणकालीन अवस्था अर्थात् एन्क्युबेसन पिरियड भाइरस शरीरमा प्रवेश गरेर रोगको लक्षण देखिने समय हो । धेरैको आकलनमा यो अवस्था एक दिनदेखि १४ दिनको बीचमा हुन्छ । अधिकांशको हकमा यो अवधि पाँच दिनको हुन्छ । यो आकलन यो भाइरसको अझै धेरै तथ्यांक प्राप्त भएपछि अद्यावधिक गरिनेछ ।’

त्यसो भए विदेशबाट आएको एक महिनापछि कसरी संक्रमित भए ? कतै स्थानीय संक्रमण त होइन ?

संक्रमितको ट्राभल हिस्ट्री र सम्पर्कमा आएकाहरूको परीक्षण रिपोर्टका आधारमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दुवै केसलाई आयातित संक्रमण मानेका छन् ।

त्यसमा सहमत भरतपुर अस्पतालका मेसु डा. तिवारी भन्छन्, ‘संक्रमण देखिन बढीमा तीन सातासम्म लाग्न सक्छ भनियो । केहीको हकमा अझ लामो समय पनि लिन सक्छ । त्यसैले यो पनि विदेशबाट आएको केस नै मानेका छौँ ।’

त्यसोभए कोरोनाको स्वरुप परिर्वतन भएको हो त ? स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भन्छन्, ‘यसका लागि चीनको वुहानबाट सुरु भएको भाइरस युरोप हुँदै नेपाल आइपुग्दा के-के परिर्वतन भयो भन्ने अध्ययन गर्नुपर्छ ।’

त्यसमा सहमति जनाउँदै जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित भन्छन्, ‘हामीले दुई वटा अध्ययन गर्नुपर्छ ।’

पहिलो, नेपालीहरुमा कोरोना भाइरस प्रतिरोधी क्षमता कति छ ?

दोस्रो, वुहान र इटालीमा देखिएको र नेपालमा भेटिएको कोरोनामा जिनेटिक परिर्वतन के छन् ?

कतिपयले नेपालीहरूमा कोरोना प्रतिरोधी क्षमता छ भन्ने भ्रममा पर्न नहुने तर्क पनि गरेका छन् ।

तर डा. दीक्षित यो अध्ययनको विषय मान्छन् । उनको तर्क छ, ‘हामीलाई थाहा छ कि कोरोनाका संक्रमितमध्ये ८५ प्रतिशतलाई निकै कम संक्रमण देखिन्छ । तर, बाँकी १५ प्रतिशत खोइ त ? ७० वर्ष कटेका र अरु दीर्घरोग भएका मानिसहरु पनि श्वासप्रश्वासको समस्या भएर अस्पताल गएका त छैनन् ।’

उनले अघि भने, ‘७० वर्ष उमेर केटेका एक सय जनामा परीक्षण गर्दा आडीटी पोजेटिभ र पीसीआर नेगेटिभ आयो भने कोरोना प्रतिरोधी क्षमता छ भनेर मान्नुपर्छ ।’

साथै भाइरस नेपाल आइपुग्दासम्म यसमा के जिनेटिक परिर्वतन आयो भनेर अध्ययन गर्नुपर्ने उनले सुझाए । डा. दीक्षित भन्छन्, ‘नेपाल मात्र होइन, भारतमा मृत्यदर कम छ । त्यसले वुहान र इटालीमा देखिएको भाइरस र दक्षिण एसियामा देखिएको भाइरसको जिनेटिक परिवर्तन अध्ययन गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment