Comments Add Comment

गोरखामा कोरोना संक्रमणको जोखिम घटेको हो ?

३१ असार, गोरखा । गत चैत ११ गतेबाट सरकारले लकडाउन घोषणा गरेसँगै गोरखा जिल्लाका स्थानीय तहहरु क्वारेन्टिनस्थल निर्माणमा जुटे । अधिकांशले विद्यालय भवनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने निर्णय गरे र व्यवस्थापनमा लागे । जिल्ला भित्रिने सबैलाई अनिवार्य क्वारेन्टिनमा राख्ने निर्णय भयो । कोरोना संक्रमितको उपचारका लागि भन्दै गोरखा अस्पतालमा २४ बेड क्षमताको आइसोलेसन वार्ड पनि तयार गरियो । शुरुका दिनहरुमा खाली रहेका क्वारेन्टिनहरु भारतबाट जिल्लाबासीहरु फर्कने क्रम बढेसँगै भरिन थाले । पीसीआर परीक्षणका लागि स्वाबको नमूना संकलन हुन थाल्यो । रिपोर्ट आउने क्रम शुरु भयो ।

पहिलो पटक गत जेठ २५ गते जिल्लामा एकै चोटी १० जनामा कोरोना संक्रमण देखियो । गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा त्रास फैलियो । जेठ २८ गते चार जना संक्रमित थपिए । उनीहरु सबै भीमसेन थापा गाउँपालिकाका थिए । असार २ गते थप १० जनामा कोरोना संक्रमण देखियो । असार ४ गते फेरि ११ जनामा संक्रमण पुष्टि भयो ।

जिल्लामा संक्रमितको संख्या बढ्दै गयो । असार ५ गते ५ जना र ८ गते थप ११ जनामा संक्रमण पुष्टि भयो । सबैभन्दा धेरै असार ९ गते एकैपटक १८ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लावासी त्रसित बने । हिरासतमा रहेका एक पुरुष र भीमसेन थापा गाउँपालिकामा समुदाय स्तरमा देखिएको कोरोनाका कारण जिल्लावासी थप सशंकित भए । समुदाय स्तरमा कोरोना देखिएपछि केही वडाहरु सिल समेत गरियो । कन्ट्याक्ट ट्रेसिङमार्फत् पीसीआर परीक्षणको दायरा बढाइयो । समुदाय स्तरमा कोरोना फैलनुमा स्वास्थ्य कार्यालय र कर्मचारीको लापरवाही प्रष्ट देखियो ।

असार पहिलो हप्तासम्म संक्रमित थपिने दर बढ्दै गयो । त्यही दरमा संक्रमित बढ्दै गए उपचारका लागि जिल्लामा रहेका आइसोलेसन वार्डले धान्नेवाला थिएनन् । तर असार १५ पश्चात जिल्लामा संक्रमणको दर घट्न थाल्यो । फाट्टफुट्ट मात्र संक्रमित थपिन थाले ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हालसम्म जिल्लामा संक्रमितको संख्या १०० पुगेको छ । जसमध्ये ८५ जना उपचारपश्चात निको भएर घर फर्र्किएका छन् । संक्रमित दुई जनाको ज्यान गएको छ भने १३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

४०१ जनाको पीसीआर परीक्षण रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेका अनुसार हालसम्म २ हजार ८० जनाको स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । उनीहरुमध्ये १६ सय ८९ जनाको रिपोर्ट आइसकेको उनले बताए ।

क्वारेन्टिनस्थल रित्तिन थाले

अहिले जिल्लाका स्थानीय तहहरुका क्वारेन्टिनमा बस्नेहरुको संख्या क्रमशः घट्न थालेको छ । भारतबाट आउनेको संख्या घटेसँगै क्वारेन्टिन स्थल रित्तिन थालेको पालिकाहरुले जनाएका छन् । भीमसेन थापा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल भन्छन्, ‘भारतबाट आउने क्रम बढेको बेला हाम्रो पालिकाको क्वारेन्टिनमा एक सय १८ जना सम्म थिए, अहिले ४० भन्दा कम छन् ।’

शहिद लखन गाउँपालिकाको क्वारेन्टिनमा हाल १८ जनाभन्दा बढी नरहेको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार भारतबाट आउने क्रम बढेका बेला क्वारेन्टिन स्थलमा ६० जनासम्म रहेका थिए ।

अहिले भारतबाट आउनेको संख्या न्यून रहेको गोरखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मी बताउँछन् । ‘अहिले भारतभन्दा खाडी मुलुकबाट आउनेहरु छन्, त्यसैले पहिलेजस्तो क्वारेन्टिनमा बस्नेको संख्या धेरै छैन,’ उनले भने । उनका अनुसार हाल गोरखा नगरपालिकाको क्वारेन्टिनमा १३ जनाभन्दा कम छन् । भारतबाट आउने क्रम बढेको बेला ५६ जनासम्म क्वारेन्टिनमा रहेको उनले बताए ।

गण्डकी गाउँपालिकाको क्वारेन्टिनमा हाल ६ जनाभन्दा बढी छैनन् । जेठ मसान्तसम्म करिब ३० जना थिए । क्वारेन्टिनहरु अहिले रित्तिदै गएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले बताइन् । ‘जेठको २० देखि २५ सम्म भारतबाट एकैपटक धेरै मान्छे आए, व्यवस्थापन गर्न पनि गाह्रो भयो, अहिले भारतबाट आउने खासै छैनन्, क्वारेन्टिन पनि खाली हुँदैछन्,’ उनले भनिन् ।

८० जनासम्म रहेका पालुङटार नगरपालिकाको क्वारेन्टिनमा अहिले करिव २५ जना मात्र रहेको स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले बताए । बारपाक सुलिकोट गाउँपालिकाको क्वारेन्टिनमा पनि हाल बढीमा १५ जना क्वारेन्टिनमा रहेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी बताउँछन् । अजिरकोट गाउँपालिकाको क्वारेन्टिनमा हाल ९ जना र सिरानचोक गाउँपालिकाकमा ३० जना छन् ।

संक्रमण दर घट्यो

जिल्लामा कोरोना संक्रमणको दर घटेको छ । स्वास्थ्य कार्यालयले पछिल्लो समय संक्रमणको दर घटेको बताएको हो । ‘पहिले एकै दिनमा १० देखि १८ जनासम्ममा कोरोना देखिन्थ्यो,’ कार्यालयका सूचना अधिकारी न्यौपानेले भने, ‘तर अहिले देखिहाल्यो भने पनि एक÷दुई जनामा देखिन्छ ।’

भारतलगायत अन्य ठाउँबाट जिल्ला भित्रिनेको संख्या घटेसँगै संक्रमणको दर घटेको उनले बताए । तर कोरोनाको जोखिम भने हटिनसकेको उनको भनाइ छ । ‘बाहिरबाट आउनेको चाप घट्यो, त्यही भएर अहिले संक्रमितको दर पनि घटेको हो, तर हामी अझै सुरक्षित छैनौं, कोरोनाको जोखिम कायम नै छ,’ उनले भने । स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन उनले सबैमा आग्रहसमेत गरे ।

स्थानीय तह र प्रशासन क्वारेन्टिनस्थल र आइसोलेसन वार्ड व्यवस्थापनमा भने चुकेका छन् । संक्रमितको उपचारका लागि गोरखा क्याम्पसमा एक सय बेड क्षमताको आइसोलेसन वार्ड बनाउने भनिए पनि ७५ बेडभन्दा बढी बन्न सकेन ।

प्राथमिक स्वास्थ्य केन्द्रहरुमा कम्तिमा १० बेड क्षमताको आइसोलेसन वार्ड बनाउने सर्वपक्षीय बैठकले निर्णय गरेको थियो । तर हालसम्म गण्डकी गाउँपालिकाको मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रबाहेक अन्यत्र आइसोलेसन तयार भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment