Comments Add Comment
संस्मरण :

फगत एउटा नाम होइन

‘इनुमा’को अर्थ के हो ?

साहित्यिक कार्यक्रम, थियटरलगायत म पुगेको ठाउँमा मलाई कसै न कसैले सोध्ने प्रश्न हो यो । मेरो जवाफ हुन्थ्यो- ‘नाम नै हो ।’

साहित्यिक जमातमा उसै पनि शब्दको अर्थ लगाउन खोज्नेहरू हुन्छन् नै । मेरो जवाफले उनीहरूको चित्त नबुझेको म बुझ्थें । तर म यसैयसै टारिदिन्थें ।

डियर बैनी !

तिमीले पनि त सोधेकी थियौ ‘इनुमा’को अर्थ । कतिपटक सोधियो, इनुमाको अर्थ ? यति औं पटक भन्न सक्तिनँ । यसबारे कहिल्यै गम्भीरतापूर्वक सोचेको थिइनँ पनि ।

आज तिमीलाई सम्बोधन गर्दै मसँग जोडिएका सबैलाई मेरो नामको पूर्वकथा भन्छु ।

केही वर्षअघि एकजना कवि दाइले भन्नुभएको थियो- ‘इनुमा’, कति राम्रो नाम ।

म मनमनै खुसी थिएँ । एकजना सञ्चारकर्मी दिदीले पनि सोध्नुभएथ्यो- ‘खास इनुमा भनेको चैँ के हो नि ?’

हामी मान्छे हर शब्दको, हरेक घटनाको अर्थ खोज्छौं । कारण खोज्ने गर्छाैं । यही त हो मानवीय स्वभाव ।

म पनि आफ्नो नामबारे गम्भीर भएँ । आपा (बुबा) ले भन्नुभएको कुरा समम्झिन थालेँ । एक साँझ आपाले मेरो नामको पूर्वकथा सुनाउनुभयो । त्यसअनुसार, न्वारनमा कोकु (हजुरआमा) ले मेरा नाम जुराउँदै भन्नुभएको थियो, ‘आम्का सेम्तुमा खूस्या मारी यालमामो नुङ् इनु थल ।’

(हाम्रो प्यारी कान्छी छोरी, नातिनीको नाम इनु हो है !)

यस हिसाबले कोकुको मायाको नाम पनि हो- इनु, इनुमा । हाम्रो प्यारो नानी (छोरी) भन्ने बुझाउँदोरहेछ ।

कहिलेकाहीँ रिसाएको बेला आपाले ‘इने’ भनेर बोलाउनुहुन्थ्यो । त्यतिबेला मलाई सबभन्दा नराम्रो मेरै नाम लाग्थ्यो । सके, पाए अहिले भर्खरै अरू नै कुनै सुन्दर नाम राख्थेँजस्तो लाग्थ्यो ।

कोकुलाई हामी ‘बजु’ भन्थ्यौं । हाम्रो बजुको सुलुत्त परेको नाकमा सधैं ढुंग्री र मुन्द्री टल्किरहेको हुन्थ्यो । कानमा चटक्क परेको माडबाडी । लाछाले टिनिक्क बाटेको लामो कपाल । बुट्टेदार चौबन्दी र हरियो पटुकी । पटुकी बेरेको पोल्टोमा चारमुखे थैली । बजुको सर्लक्क मिलेको अग्लो ज्यान सधैं यही परिधानमा हुन्थ्यो ।

उहाँको चाउरीएका धर्सायुक्त मुहारको चहकले परिवारको खुसी जनाउँथ्यो । बजुलाई कतिले गुरूङ्नी जस्तो देखिनुहुन्छ भन्थे । कहिलेकाहिँ ‘बजु जत्ति राम्रो नातिनीहरू हुने भएनन्’ पनि भन्न भ्याउँथे ।

साह्रै राम्री बजुलाई हाम्रो बाजेले धिवाबाट तानिल्याउनु भएको रे ! गाउँका पाकाहरूले सुनाउँथे हामीलाई । धिवा गाउँ जो, हाम्रो घरबाट तेर्सैतेर्सो बीस मिनेटमै पुगिन्थ्यो ।

दशैंमा गाउँभरका मान्छे बजुको हातको टीका लगाउन आउँथे । चतुर्दशी वा पूर्णेको विहान म पनि बजुसँग टीका लगाउन धिवा जान्थें । त्यहाँ बजुको माइत र मेरो बुढो मावली घर थियो, अझै छ ।

डियर बैनी !

आमाबाउ धेरैजसो खेतालाहरूसँग मेलापात दौडनुहुन्थ्यो । बजु घरमा । मैले थाहा पाउँदा नै उहाँ उकालो-ओरालो गर्न सक्नुहुन्नथ्यो । घरमा भने बेस्सरी काम गर्नुहुन्थ्यो ।

बजुलाई हरेक चिज सफासुग्घर चाहिन्थ्यो । घर-आँगन बजुकै हातले सजिन्थ्यो । कोठेबारीका खुर्सानी, निबुवा, केरा, आरू, आँप सबै बजुको स्याहारमा कोपिला हुँदै फलमा परिणत हुन्थे ।

हर प्रकारका मौसमी तरकारी र फलफूल बजुको हातले सप्रन्थे । गाउँमा सबै यसै भन्थे ।

लेखक इनुमाकी कोकु (हजुरआमा)

सुँगुर चारो, कुखुरा चारो र खाना बनाउने लगायतका काम बजु नै भ्याउनुहुन्थ्यो । बजुले पकाएको खानेकुराको स्वाद पनि गाउँमा चर्चितै थियो । हामी उहाँको स्नेह थपिएका गाउँले खान्की खाएर हुर्किन पायौं ।

हामी स्कुलबाट आउँदा मकै-भटमास, कहिले खोले (जाउलो), सुठुनी (सखरखन्ड), इस्कुस र मौसम अनुसारका खाजा राखिदिराख्नु हुन्थ्यो । स्कुलबाहेक मेरो समय बजुसँगै बित्थ्यो । दाजै र नानाहरू आपा-आमासँग खेतबारीमा जुट्नुहुन्थ्यो ।

बजु धेरै इला (चाम्लिङ भाषा) र थोरै पर्वते नेपाली बोल्नुहुन्थ्यो । पछिपछि त अंग्रेजीका ओके, सरी, प्लिज पनि भन्न थाल्नुभयो ।

हामीलाई हाम्रो कोकु साँच्चै बाठी, साँच्चै जान्नेजस्तो लाग्थ्यो । हुन पनि, उहाँले सिंगापुर घुमेर त्यहाँको रहनसहन बुझ्नु भएको थियो । फुर्सदका बेला उहाँ मलाई सुनाउनुहुन्थ्यो, ‘सिंगापुरेहरू गोरो, अग्लो र सारै सफा । त्यहाँ चाँभा (बाघ) र ब्यार्पा (भालु) पाइन्छ । चउरीहरू पनि सारै सफा हुन्छ । त्यहाँको मीना (मान्छे)ले नेपालीलाई माया गर्छ, नानी !’

कोकुले काठमाडौंको पनि कथा सुनाउनुहुन्थ्यो । उहाँले काठमाडौंमा घरभित्रै पाइखाना हुन्छ भन्दा मलाई घिन लागेको थियो । त्यसबेला मलाई लागेको थियो- हैन, काठमाडौंका मान्छे किन त्यतिसारो फोहोरी !

अलि पछि त बजुकै आदेशमा आपाले हाम्रो गाउँकै पहिलो पाइखाना बनाउनुभयो । वारीपारि गाउँबाट समेत देखिन्थ्यो त्यो सेतो टिनको छानावाला पाइखाना ।

०००

छुट्नै नहुने कति चिजहरू छुटिगएछन् । यदि नछुट्दो हो भने यति मीठो याद पनि नहुँदो हो । अनि नहुँदो हो मान्छेलाई आफू देखाउने स्मृतिको ऐना ।

घरपछाडि मतानमा खोरभरि बाख्रा । स्कुल बिदा भएको दिन बजुले मलाई चकलेट दिएर बाख्रा गोठाला पठाउनुहुन्थ्यो । कति मीठो चकलेट हुन्थ्यो, बजुसँग । हाम्रोमा सेती, कैली, खैरी, काली नामका बाख्राहरू थिए । तिनले अनेक रूपरङका पाठापाठी पाउँथे । स्याहारसुसारविज्ञ बजु नै हुनुहुन्थ्यो । मलाई पाठापाठीसँग खेल्न पाए पुग्थ्यो । राति पनि पाठा काखमा राखेर बसेको हुन्थें ।

अहिले सम्झन्दा हाँसो लाग्छ । त्यो बेला बाख्राका छोराछोरा र म उस्तै लाग्थ्यौं । मेरी आमा दिनभरि मेलामा । पाठाका आमा पनि दिनभरि चरनमा । हिँड्न सक्दैन भनेर माउसँग छुटाएर पाठालाई खोरमै राखिन्थ्यो । मसँग त बजु हुुनुहुन्थ्यो ।

बजुलाई फूल मन पर्थ्यो । उहाँकै मेहनेतमा फूलबारी सजिन्थ्यो । शीतलको लागि फूलबारीछेउ बजुले रोप्नुभएको सिसौमा भंगेराले बस्ती बसालेका थिए ।

मौसम अनुसार इन्द्रकमल र बाबरीको बासना बजुको चुल्ठोबाट मगमगाउँथ्यो । आँगनको डिलमा चुवा ढकमक्क फूल्थे ।
बजुका चार वर्षकी छोरी रहिछन् पहिला । जामाभरि चुवाको फूल राखेर कपालमा सिउँरिदै रमाउँथिन् रे ती मेरी फुफै (फुपू) । उनी अचानक बिरामी परेर खसेकी रे ।

बजु मलाई जामाभरि चुवाको फूल टिपिल्याउन अह्राउनु हुन्थ्यो । अनि आˆनो कपालमा सिउरिनु हुन्थ्यो । ‘नझार है’ भन्दै मेरो कपालमा पनि सिउरिदिनु हुन्थ्यो ।

अहिले चुवा टिपेर सिउरिनका लागि घरमा बजु हुनुहुन्न । म पनि त गाउँमा छैन ।

कहिलेकाहीँ बजु खुइय… गर्नुहुन्थ्यो । अनुहारको रङ बदिलिन्थ्यो । उहाँलाई के भयो भनेर महसुस गर्न म सक्दिथेँ । पिर पर्दा भोर्लाको पातमा काँचो पात (सुर्ती) बेरेर सर्को तान्नुहुन्थ्यो ।

म सक्ने भएपछि जानीनजानी बजुको कपाल कोरिबाटी गरिदिन्थेँ । नङ काटिदिन्थेँ । एकपटक खुट्टाको साइली औंलाको नङ धेरै काटेर रगताम्य बनाइदिएको थिएँ ।

बजुको दाहिने कुम बेला-बेला दुख्थ्यो । पहिला लड्दा घाँसको भारीले थिचेको रे । तर जाँतोमा उहाँको चुराको आवाज नै हाम्रो लागि बिहानी अलार्म हुन्थ्यो । त्यसपछि न हो हामी ब्युँझने ।

घरमा बजु नभएको यो साउनमा १४ वर्ष बितेछ । १४ वर्षअघिको त्यो साउनमा पानी परेर आकाश उघि्रदै गर्दा हाम्रो मनमा अँध्यारो छाएको थियो । त्यो दिन बजु माछाक्मा (पितृहरू बस्ने ठाउँ) मा जानुभयो ।

मेरो बालापन कोकुसँगै बित्यो । कहिलेकाहीँ लाग्छ, सपनामा भएपनि कोकुसँग भेट होस् र बात मारूँ । तर, कोकु माछाक्माबाट मेरो सपनामा ओर्लनुभएको छैन ।

मेरो धरतीमा आज कोकु हुनुहुन्न । उहाँले दिएको जस्तो मिठो चकलेट छैन । सेती बाख्रा पनि छैन । तर, कोकुले दिएको मेरो नाम छ, जो निकै विशेष छ । यसको अर्थ शब्दकोशहरूमा भेटिँदैन । गुगलमा पनि भेटिँदैन ।

नभेटिनुले यसलाई अझ विशेष विशेष, खास बनाएको छ । कोकुको माया मिसिएको मेरो नाममा स्वयं कोकु हुनुहुन्छ । ‘इनुमा’मा कोकु हुनु भने स्वतः किरात संस्कृति हुनु हो ।

तर, कोकुले मलाई जहिल्यै खुस्या (कान्छी) भनेर बोलाउनुभयो । मैले पनि उहाँलाई धेरैजसो बजु भनेर बोलाएँ । मेरो नाम उहाँलाई थाहा थियो, तर मलाई उहाँको थाहा भएन । मैले कहिल्यै सोधिनँ पनि ।

पछि आपाको सुन्दर अक्षरमा कुँदिएको कोकुको चौताराको किताब (शिलालेख)मा बजुको नाम पढ्न पाएँ- स्व. हस्तमाया चाम्लिङ राई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment