२३ माघ, काठमाडौं । आगामी मार्च महिनामा ओमान हुने विश्वकप लिग २ सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले बिहीबार बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरेको छ । खेलाडी छनोट गर्दा भर्खरै सकिएको चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मुख्य आधार बनाइएको छ ।
नेपाली राष्ट्रिय टिमका पहिलो कप्तान उत्तम कर्माचार्य संयोजक रहेको छनोट समितिले खेलाडी छनोट गरेको हो । क्यानले छनोट समितिमा सदस्य नियुक्त गर्न बाँकी रहेपनि पुराना प्रशिक्षक अरुणकुमार अर्यालको सहयोगमा कर्माचार्यले खेलाडी छनोट गरेको हो ।
पछिल्लो केही वर्ष नेपाल क्रिकेट संघ (क्यान) लाई आईसीसीले निलम्बन गरेकाले खेलाडी छनोट आईसीसीसँगको सहकार्यमा हुँदै आएको थियो । गतवर्ष आईसीसीले क्यानको निलम्बन सशर्त फुकुवा गरेपछि १३ औं साग र विश्वकप लिग २ अन्तर्गतको पहिलो सिरिजका लागि भने क्यानले नै खेलाडी छनोट गरेको थियो ।
यसपटक समितिले खेलाडी छनोट गर्न नवनियुक्त प्रशिक्षक डेभ वाटमोरसंग सल्लाह लिएको थियो ।
समितिमार्फत खेलाडी छनोट गर्दा सकरात्मक सन्देश जाने छनोट समितिका संयोजक उत्तम कर्माचार्यले बताए । उनले कुनै दबाब बिना खेलाडी छनोट गरिएको अनलाइनखबरलाई बताए । ‘पहिला क्यान निलम्बनमा हुँदा आईसीसीकै थ्रु बाट सेलेक्सन हुन्थ्यो । खासै धेरै गेम हुन्थेन । अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकै आधारमा सेलेक्सन हुन्थ्यो’ कर्माचार्यले भने, ‘क्यान आएपछि लिग २ पनि गरायो । साग गेम भयो । पीएम कप पनि भयो । यसैलाई आधारमा बनाएर धेरै खेलाडी सेमटियोस भनेर क्यानले गाइडलाइन्स दिएअनुसार ३२ जना छनोट गरिएको हो ।’
उनले पीएम कपमा गरेको प्रदर्शन र यसअघि खेलेका खेलका आधारमा केही नयाँ खेलाडी पनि बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । ‘पहिला खेलेको खेल र पीएम कपलाई आधार बनाएर ३२ जना खेलाडी छनोट गरिएको हो’ कर्माचार्यले छनोट प्रकियाबारे भने, ‘पीएम कपमा राम्रो नखेलेका खेलाडीहरु त्यसअघि भएका खेलको आधारमा छनोटमा परेका हुन् ।’
बन्द प्रशिक्षणमा गण्डकी प्रदेशका १५ वर्षीय अर्जुन कुमाल, प्रदेश २ का विवेक यादव, कर्णाली प्रदेशका अनुज चुनारा र सुदूरपश्चिमका खड्ग बोहरा पहिलो पटक सिनियर टिमको बन्द प्रशिक्षणका लागि चयन भएका छन् ।
विवेक पीएम कपमा इमर्जिङ प्लेअर घोषित भएका थिए । यस्तै पीएम कपको उत्कृष्ट ब्याट्सम्यान पृथु बास्कोटाले पनि लामो समयपछि बन्द प्रशिक्षणमा पुनरागमन गरेका छन् । पीएम कपकै उत्कृष्ट बलर शाहब आलम र सर्वोत्कृष्ट खेलाडी कमल सिंह ऐरी पनि क्याम्पमा परेका छन् ।
पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका एपीएफका भुवन कार्की भने क्याम्पमा अटाउन सकेनन् । उनी यसअघि कतार टी २० सिरिजका लागि घोषित १८ जनाको प्रारम्भिक सूचीमा भने परेका थिए । छनोट समितिका संयोजक कर्माचार्यले भुवनले पीएम कपमा राम्रो खेलेको तर टिममा अरु लेफ्ट आर्म स्पिनर धेरै भएको र भुवनलाई टी-२० टिममा राखिएको बताए ।
कर्माचार्यले अब फर्याम्ट अनुसार टिम बनाउने सोच रहेको समेत सुनाए । ‘नेपाल ए टिम बनाउने फर्म्याट अनुसार खेलाडीलाई टिममा राख्ने गरी अघि बढौँ भन्ने सल्लाहअनुसार टिम छनोट गरेका हौँ’ उनले भने ।
क्यानले ओमान सिरिजका लागि ३२ मध्ये २१ जना खेलाडीलाई माघ २४ देखि पहिलो चरणमा प्रशिक्षणमा सहभागी गराउने जनाएको छ । बाँकी ११ जनालाई कहिले प्रशिक्षणमा राख्ने भनेर क्यानले खुलाएको छैन । क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार पहिलो चरणमा धेरै खेलाडी राख्न भन्दा दुई चरणमा प्रशिक्षण गराउने योजना रहेको बताए । ‘पहिलो चरणको प्रशिक्षण ८-१० दिन होला । त्यसपछि खेलाडी संख्या घट्नेछ, अनि दोस्रो चरणको प्रशिक्षण हुनेछ’ प्याकुरेलले भने ।
नेपाल, ओमान र अमेरिका सम्मिलित लिग २ सिरिज आगामी मार्च १९ देखि २८ सम्म ओमानमा आयोजना हुनेछ । सन् २०२३ को एक दिवसीय अन्तर्राष्ट्रिय विश्वकपको लागि रोडम्यापको रुपमा रहेको लिग २ अन्तर्गत आफ्नो पहिलो सिरिज नेपालले गत वर्ष फेब्रुअरीमा घरेलु मैदानमै खेलेको थियो । अमेरिकालाई दुवै खेलमा हराएको नेपाल ओमानसंग दुवै खेलमा पराजित भएको थियो ।
प्रतिक्रिया 4