Comments Add Comment

चीनले डब्ल्यूएचओलाई दिएन कोरोनाको सम्पादन नगरिएको विवरण

२ फागुन, काठमाडौं । चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टोलीलाई कोरोना भाइरस (कोभिड–१९) को सम्पादन नगरिएको विवरण उपलब्ध गराउन अस्वीकार गरेको छ । कोरोनाको उत्पत्तिबारे अहिले डब्ल्यूएचओका वैज्ञानिकहरुको टोलीले चीनमा अनुसन्धान गरिरहेका छन् ।

डब्ल्यूएचओको टोलीमा एक सदस्य रहेका अष्ट्रेलियाका डोमिनिक ड्वायरले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा चीनले सम्पादन नगरिएको विवरण दिन अस्वीकार गरेको बताएका हुन् ।

उनका अनुसार डब्ल्यूएचओको टोलीले चीनलाई १७१ कोरोना संक्रमितको सम्पादन नगरिएको विवरण मागेको थियो । तर, चीनले भने उनीहरुले विवरणको सारांश मात्र दिएको उनले बताए ।

यस किसिमको विवरणलाई ‘लाइन लिस्टिंग्स’ भनिन्छ । यसमा प्रत्येक बिरामीलाई के प्रश्न सोधिएको थियो र उनीहरुले कस्तो प्रतिक्रिया दिएका थिए भन्ने जानकारी समावेश हुन्छ । कुनै पनि महामारीको उत्पत्ति हुँदाको समयको सम्पादन नगरिएको विवरण दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको पनि ड्वायरले बताए ।

यद्यपि चीनले डब्ल्यूएचओको टोलीलाई अघिल्लो वर्ष सार्वजनिक भएको भन्दा धेरै विवरण प्राप्त भएको ड्वायरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment