Comments Add Comment

सेयर बजारमा दोहोरो रेकर्ड, लगानीमा कति जोखिम ?

१० साउन, काठमाडौं । आइतबार सेयर बजार ५४.३१ अंकले बढेर नेप्से परिसूचक ३०५८.६३ मा पुगेर रेकर्ड कायम भएको छ । आइतबार बजार पूँजीकरण ३८ अर्बले बढेर ४२ खर्ब ५४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

लाभांशको आशामा लगानीकर्ताहरु वाणिज्य बैंकको शेयरमा आकषिर्त भएपछि बजारमा उछाल आएको हो । बजारको वृद्धिलाई जानकारहरुले बुलिस ट्रेण्डको संज्ञा दिएका छन् र नयाँ तथा साना लगानीकर्ता होसियार हुनुपर्ने बताएका छन् ।

आइतबारको बजारमा वाणिज्य बैंकहरुको सेयरको माग र कारोबार उच्च देखियो । दोस्रो बजारमा कारोबार भएका १३ उपसमूहमध्ये ११ वटामा वृद्धि देखियो । ९ कम्पनीको सेयर मूल्य सर्किट लेबलमा कारोबार हुँदा १४ कम्पनीको सेयर मूल्य पाँच प्रतिशत भन्दा धेरैले बढेको थियो ।

आइतबार नेपाल बैंकको ४९ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । यस्तै ग्लोबल आइएमई बैंकको ४९ करोड ९४ लाख, एनसीसी बैंक ३४ करोड ७८ लाख, एनआईसी एसिया बैंकको ३३ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री थियो । बैंकबाहेक अरुण काबेली पावरको ३४ करोड दुई लाख रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । बैकिङ उपसमूह मात्रै आइतबार ७२.१४ अंकले बढेको थियो ।

आइतबार २२३ कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता सेयर एक लाख ३९ हजार ३४० पटक कारोबार हुँदा कुल कारोबार रकम १४ अर्ब  ३० करोड २३ लाख भन्दा धेरै रÅयो । आइतबार १३६ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको सेयर मूल्य स्थिर रहृयो भने ४० कम्पनीको सेयर घटेको थियो ।

कारोबार रकममा आएको सुधार र कारोबार हुने सेयर संख्यामा आएको बृद्धिलाई सेयर बजार विज्ञ आत्मराम घिमिरे बुलिस ट्रेण्डको संकेतको रुपमा ब्याख्या गर्छन् । ‘बजारका सबै सूचकहरुले बुलिस ट्रेण्ड देखाउँछ, यो साताको अन्तिम दिनसम्म बजारमा अझै नयाँ रेकर्ड बन्छन्,’ घिमिरेले भने ।

बजार कारोबारमा सेक्टरल मुभमेन्ट हुने भन्दै घिमिरे भन्छन् ‘लामो समयपछि बैंकमा लगानीकर्ता झुम्मिएको र यहाँ उचालिन सक्ने अवस्था अझै रहेका कारण बैंककै कारण बजारले बुलिस ट्रेण्ड समातेको छ ।’

लगानीकर्ता फस्ने जोखिम

बजारमा बनेको रेकर्ड र कारोबारमा आएको बढोत्तरीले नयाँ र बजारबारे ज्ञान नभएका लगानीकर्ता फस्ने जोखिम उच्च रहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।

‘पूँजी बजारमा कमजोर ज्ञान भएका र पोर्टफोलियो म्यानेज गर्न नजान्ने लगानीकर्ता फस्न सक्छन्, होसियार हुनुपर्छ,’ रौनियार भन्छन् । यो बेला नाफा बुक गर्न र बलियो कम्पनीको सेयरमा लगानी गर्न उनले सुझाव दिए । कमजोर र बलियो कम्पनी छुट्याउन भने लगानीकर्ता स्वतन्त्र हुने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे ।

बजार विज्ञ आत्मराम घिमिरे पनि लगानीकर्ता बुलिस ट्र्यापमा पर्ने सम्भावना उच्च रहेको बताउँछन् । बजार बढेको बेला फाइदा लिन सक्नुपर्ने भन्दै उनले आफ्नो टार्गेट अनुसार सेयर बेच्न र सुरक्षित हुन लगानीकर्तालाई आग्रह गरे । ‘कुनैपनि लगानीकर्ताको निश्चित टार्गेट हुन्छ । त्यसलाई व्यवस्थित गरेर राम्रा स्टक राख्ने हो,’ उनले थपे, ‘नयाँ लगानीकर्ता हल्लाको भरमा आउने र अझै ऋण गरेर आउनेका लागि भने पूर्ण जोखिम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment