Comments Add Comment

नासपातीले राम्रो बजार पाएपछि डोटीका किसान खुशी

साउन १७, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–४ की बिन्दु खड्का खुशी देखिन्छिन् । बारीमा लटरम्म फलेको नासपाती बिक्री हुने भएपछि उनी बोरामा भन्दै सडकमा ओसार्दै छिन् ।

‘१०/१२ रुख नासपाती छन्, लटरम्मै फलेका छन्,’ उनी भन्छिन्, ‘विगतका वर्षहरुमा आफूले खाने, आफन्तलाई दिने गर्थ्यौं, कति त रुखमै बाँदरले खान्थ्यो ।’ यसपाली नासपाती बेचिने भएपछि उनले टिपेर सडकसम्म्म पुर्‍याइन् । बिन्दुले करीब पाँच क्विण्टल नासपाती २५ रुपैयाँ किलोका दरले बिक्री गरेकी हुन् ।

बिन्दु जस्तै मेलको रुखमा नासपाती फलाउने पूर्वीचौकीका कृषकहरुको उत्पादन बिक्री हुन थालेको छ । कृषि ज्ञान केन्द्र डोटीले नासपातीको प्याकिङ गरी बजारीकरण गर्न शुरु गरेको छ । ‘शुरुमा नासपाती भन्ने वित्तिकै यसकोे के महत्व छ, नासपाती किनेर पनि कोही खान्छ र भन्ने जस्तो लाग्थ्यो,’ कृषक सरस्वती जोशीले भनिन् ।

यसको महत्व र माग बढ्न थालेपछि गाउँघरमा सबैले चासो देखाउने गरेको उनको भनाइ छ । उनले मात्र यस वर्ष १४० केजी नासपाती बिक्री गरेकी छन् भने करीब एक सय किलो बिक्री गर्न बाँकी छ ।

‘किसानहरुको उत्पादनलाई बजारसम्म पुर्‍याउन सहयोग गरिरहेका छौं,’ कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले भने, ‘प्याकिङ र ढुवानी खर्च ज्ञान केन्द्रले व्यहोरेर कैलालीको धनगढीसम्म पुर्‍याउने काम शुरु भएको छ ।’ उनले आइतबार मात्रै करीब १० क्विण्टल नासपाती धनगढी पठाइएको बताए । पनेरुले थपे, ‘१० किलोको कार्टुन बनाएर ढुवानी गरिएको छ ।’

१० वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालय डोटीले मेलका बोटमा नासपाती कलमी गरेको थियो । कलमी बनाइएका मेलका बोटमा विगत चार/पाँच वर्षदेखि नासपाती फल्न थाले पनि बजार पाउन सकेको थिएन । मेलमा कलमी गरेको नासपाती मीठो हुने तर यसको बजार प्रवद्र्धन हुन नसकेकाले बजारसम्म पुर्‍याउन सहयोग गरिएको पनेरुले बताए ।

‘एक पटकलाई कृषक र व्यापारीको सम्बन्ध जोड्न सकियो भने अर्को वर्षदेखि व्यापारीले आफैं खोज्छन्,’ पनेरुले भने, ‘त्यसैले धनगढीको एस एमटी फलफूल प्रशोधन केन्द्रसँग समन्वय गरेका छौं ।’ आफ्नो छेउछाउमा आफैं उम्रिएका मेलका बोटलाई कलमी बनाउँदा यसबाट फल्ने फल शुद्ध अर्गानिक भएकाले विश्व बजारमै राम्रो बजार पाउन सक्ने नरेन्द्र पनेरुले बताए ।

यसपछि पूर्वीचौकीमा फल्ने काँडाको बासमती चामललाई पनि प्याकिङ गरी बजारसम्म लैजाने योजना रहेको ज्ञान केन्द्रका प्रमुख पनेरु बताउँछन् । ‘काँडाको बासमती यस क्षेत्रमा चर्चामा छ । तर यसको सम्वद्र्धन र बजारीकरण हुन सकेको छैन,’ उनले भने । बासमती धानको बीउको संरक्षण, चामलको प्रशोधन र बजारीकरणमा ध्यान पुर्‍याइने उनले बताए ।

पूर्वीचौकी गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी बताउँछन् । यस क्षेत्रमा चियाखेतीको पनि सम्भावना रहेको र करीब सात सय बोट चिया रोपिएको उनले बताए । यस्तै टिमुर खेती प्रवद्र्धन गर्न शुरु गरेको पनि बोगटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment