+
+

११ चुनावक्षेत्रमा यसरी हुँदैछ ‘भाले’ भीडन्त

अनलाइनखबर अनलाइनखबर
२०७० असोज १७ गते २०:२१

१७, असोज काठमाडौं । अन्ततः राजनीतिक दलहरुले उत्साहका साथ देशैभरि बाजा बजाउँदै विहीबार प्रत्यक्षतर्फको उमेद्वारी दर्ता गराएका छन् । उमेद्वारी दर्तासँगै घन्किएको ढोलको आवाज र नाराबाजीले मंसिर ४ मा चुनाव हुँदैन कि भन्ने आशंकालाई पनि ‘राँके भुत’ जसरी भगाइदिएको छ ।

दलहरुले उमेद्वार चयन गर्नेदेखि मनोनयन दर्ता गर्नेदिनसम्म आइपुग्दा धरैवटा रोचक, घोचक र राम्रा-नराम्रा घटना भएका छन् । दल बदल गर्ने, टिकटका लागि झगडा गर्ने र अनेकन नौटंकी देखाउने काम पनि नेताहरुबाट नभएका होइनन् । तर, योभन्दा रोचक पक्ष चाँहि १२ वटा चुनाव क्षेत्रमा हुन लागेको तीव्र प्रतिस्पर्धामा देखिएको छ ।

चर्चित नेताहरुमध्ये केपी ओली, माधव नेपाल, बाबुराम भट्टराई, गगन थापा, विजय गच्छदार, शेखर कोइराला, ईश्वर पोखरेल, कृष्ण सिटौला, राजेन्द्र महतो र महन्थ ठाकुरलगायतका नेताहरुको चुनावी भिडन्त निकै रोचक एवं र प्रतिस्पर्धी हुने देखिएको छ । १२ वटा चुनाव क्षेत्रमा २५ जना नेतावीच हुन लागेको प्रतिस्पर्धा यस्तो छ :

केपी ओली- गोपाल किराती

Kp-oli-and-Gopal-Kiratiएमाले नेता केपी ओली र एमाओवादी नेता गोपाल किरातीवीच झापाको ७ नं क्षेत्रमा चुनावी प्रतिश्पर्धा हुने भएको छ । दुई नेतावीचको यो भीडन्त किन पनि रोचक छ भने दुबै नेताले एउटा क्षेत्रमा मात्रै चुनाव लड्ने निर्णय गर्नुभएको छ । अब झापा ७ बाट आगामी संविधानसभापछि या त केपी ओलीले संविधानसभा बाहिरै बस्नुपर्ने छ, या किरातीले ।

ओली र किराती दुवै आ-आफ्नो लाइनका खरा र छुच्चा नेता मानिनु हुन्छ । उहाँका प्रतिद्वन्दीहरुमा नेपाली कांग्रेसका सुरेश सुब्बा हुनुहुन्छ भने संघीय समाजवादीका दीपेनवाला राई हुनुहुन्छ ।

अहिल्लो चुनावमा झापा ७ मा एमाओवादकिा विश्वदीप लिङ्देनले जित्नुभएको थियो । तर, लिङ्देन यतिबेला संघीय समाजवादी पार्टीमा लाग्नुभएको छ । अघिल्लो चुनावमा यसक्षेत्रमा ओलीको १४ हजार ९ सय ५९ मत आएको थियो भने लिङदेनले १६ हजार ९९ मत ल्याएर झिनो मतले जित्नुभएको थियो । कांग्रेसबाट महेन्द्रकुमारी सुब्बाले ११ हजार मत ल्याउनुभएको थियो । यसपालि एमाओवादी फुटेको र पूर्वसभासदले दल परिवर्तन गरेको अवस्था छ भने एमाले पनि विभाजित भएर संघीय समाजवादीको छुट्टै उमेद्वार उठेको अवस्था छ । जनजाति बाहुल्य भएको क्षेत्र भएकाले किरातीका लागि यो क्षेत्र सकारात्मक हुन सक्ने एमाओवादीको ठम्याइ छ । तर, जातीय राज्यको विरोध गर्ने जमातको मत किरातीबाट विकषिर्त हुन सक्ने र त्यसको फाइदा ओलीलाई हुने सक्ने एमालेको अनुमान छ । जे होस्, झापा ७ को चुनाव यसपालि तीव्र प्रतिश्पर्धात्मक एवं रोचक हुनेछ । कांग्रेसले कमजोर उमेद्वार उठाएर ओलीलाई सघाउने भित्री रणनीति बनाएको हुने सक्ने डर हुँदाहुँदै पनि किरातीले झापा ७ लाई रोजेर खतरा मोलेको एमाओवादी नेता बताउँछन् ।

बाबुराम भट्टराई- विष्णु पौडेल

baburam-and-bishnu-paudelएमाओवादी नेता डा. बाबुराम भट्टराई रुपन्देही-४ मा हारे पनि उहाँका लागि गोरखा १ सुरक्षित छ । तर, एमाले सचिव विष्णु पौडेलका लागि भने बाबुरामसँग चुनाव हारेको खण्डमा ५ निकै ठूलो घाटा हुनेछ ।

अघिल्लो चुनावमा पौडेलले रुपन्देही ४ मा एमाओवादीका भक्तिप्रसाद पाण्डेलाई करिब २४ सय मतान्तरले हराउनुभएको थियो । यसपालि बाबुरामजस्तो राष्ट्रिय नेतासँग लड्नुपर्दा पौडेलका लागि चुनौती थपिएको छ । ०६४ सालको जटिल परिस्थितिमा पनि एमालेको गठ भनेर चिनिएको लुम्बिनीमा एमाओवादीलाई पनि चुनाव जित्न कम चुनौतीपूर्ण छैन ।


माधव नेपाल- लीलामणि पोख्रेल

madhav-and-lila-maniकाठमाडौं क्षेत्र नं २ को चुनाव विगतमा एमाओवादीका झक्कुप्रसाद सुवेदी र माधवकुमार नेपालले रोचक बनाउनुभएको थियो । यसपालि एमाओवादीले झक्कुभन्दा सिनियर नेता लीलामणि पोख्रेललाई माधव नेपालसँग भिड्न पठाएको छ ।

निश्चय नै विगतमा भन्दा एमाओवादीको जनमत र माहौल खस्किएको होला, तर पोखरेलको उपस्थितिले एमाले नेता नेपाललाई चुनौती थपिदिएको छ । विगतमा माधव नेपालको मत काठमाडौं २ मा लगभग १५ सयको भिन्नता थियो ।  सुवेदीले १३ हजार ८ सय ५८, नेपालले १२ हजार ३ सय २५ र कांग्रेसका दीपक कुइँकेलले ११ हजार ५ सय ४४ मत ल्याउनुभएको थियो । 

गगन थापा – पासाङ

gagan-and-pasangनेपाली कांग्रेसका युवा नेता गगन थापा र एमाओवादीका पूर्वसैन्य कमाण्डर नन्दकिशोर पुन -पासाङ) वीच काठमाडौं ४ मा चुनावी प्रतिश्पर्धा हुने भएको छ । युवा नेता गगन थापा मिडियामा चर्चित एवं सबैले मन पराएका र आशावादी युवा मानिनुहुन्छ । एमाओवादी नेता पासाङ पनि इमान्दार र स्वच्छ छविका हुनुहुन्छ । मृगौलामा समस्या भएकाले पार्टीले विदेशमा उपचार गर्न पठाउँदा विदेश नजाने बरु स्वदेशमै मर्ने कसम खानुभएका पासाङ यसअघि संविधानसभामा जानुभएको थिएन । उहाँ कुनै आर्थिक विवादमा पनि मुछिनुभएको छैन । काठमाडौं ४ जनजाति बाहुल्य क्षत्रे भएको र पासाङ कपनमै बस्ने भएकाले स्थानीयवीच घुलमेल भएको एमाओवादी कार्यकर्ताहरु बताउँछन् । अधिकांश मतदाता चाँहि दुवै राम्रा युवाहरु एकै ठाउँबाट प्रतिश्पर्धा गर्न लागेकोमा रोज्न समस्या परेको बताउँछन् ।

काठमाडौं ४ को ०६४ सालको परिणाम हेर्दा नेपाली कांग्रेसबाट सुप्रभा घिमिरेले जितेको यो क्षेत्रमा विद्या भण्डारीले दोस्रो स्थान हासिल गर्नुभएको थियो । एमाओवादी यो क्षेत्रमा तस्रो स्थानमा थियो । यसपालि एमालेले स्थानीय निर्मल कुइँकेललाई उठाएको छ । जनजाति र इमान्दार नेता हुनु पासाङको सकारात्मक पाटो हो भने मिडियामा चर्चित हुनु र रुचाइएका युवा नेता हुनु गगन थापाको सकारात्मक पक्ष हो । तर, सुप्रभाले बागी उमेवारी दिएको र कांग्रेसमा विवाद भएकाले गगनलाई चुनौती छ । पासाङलाई भने विगतको आधारमा भन्दा एमालेको तगारो पार गरेर कांग्रेसलाई जित्नुपर्ने चुनैती छ । तर, कांग्रेसको विवादको फाइदा उठाउँदै विगतको दोस्रो शक्ति एमालेले त च्याँखे पार्ने होइन ? काठमाडौं ४ मा रमाइलो त्रिपक्षीय भीडन्त हुने देखिन्छ ।

विजय गच्छदार- शेखर कोइराला

Bijay-and-shekhar-koiralaमधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले मोरङ ७ मा कांग्रेस नेता डा. शेखर कोइरालासँग प्रतिश्पर्धा गर्दै हुनुहुन्छ । सुनसरी ३ बाटसमेत उमेद्वार बन्नुभएका गच्छदार चुनावमा रामै्र खेलाडी मानिनुहुन्छ । ०६४ मा मोरंगको यही क्षेत्रमा शेखर कोइरालालाई गच्छदारले हराउनुभएको थयो । तर, यसपालि भने फोरम फुटेको हुनाले गच्छदारलाई चुनौती थपिएको छ । कांग्रेस स्रोतका अनुसार आफूले चुनाव जित्ने विश्वासमा हुनुहुन्छ शेखर कोइराला । तर, गच्छदार जे गरेर भए पनि चुनाव हार्ने मान्छे होइन भन्ने छाप धेरैमा छ । यद्यपि गच्छदारका लागि यसपालि सुनसरी सुरक्षित देखिएको छ भने मोरङ चुनौतीपूर्ण । विगतको चुनावमा यो क्षेत्रबाट गच्छदारले १८ हजार मत पाउनुभएको थियो भने कोइरालाको १३ हजार मत आएको थियो ।

सबै दलले प्रत्यक्षतर्फको उम्मेदवारी सार्वजनिक गरिरहेको अवस्थामा गच्छदारले आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको थिएन । विहीबार दिउँसो गच्छदार मोरङ क्षेत्र नम्बर ७ वाट आफ्नो उम्मेदवारी मनोनयन गरी सुनसरीतर्फ प्रस्थान गर्नुभयो । गच्छदारसँग कोइरालाका साथै नेकपा एमालेका तर्फबाट यशोदा अधिकारी र एमाओवादीका तर्फबाट गोपाल कटुवालले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

ईश्वर पोखरेल- नरहरी आचार्य

narahari-and-Ishwor-pokhrelकाठमाडौं क्षेत्र नं ५ मा ०६४ सालमा जस्तै कांग्रेस नेता नरहरी आचार्य र एमाले महासचिव ईश्वर पोखरेलवीच भीडन्त हुने भएको छ । आचार्यले हार्दा कांग्रेसलाई जति खाटा हुन्छ, महासचिवले हार्दा एमालेलाई झन बढी घाटा हुने भएकाले यो क्षेत्रको प्रतिश्पर्धा पनि निकै रोचक छ ।

विगतको परिणाम चाँहि काठमाडौं ५ मा आचार्यको पक्षमा आएको थियो । आचार्यले ०६४ को चुनावमा काठमाडौं ५ बाट १३ हजार २ सय ४५ मत ल्याएर जित्नुभएको थियो भने एमालेका ईश्वर पोखरेलले ९ हजार १ सय २० मत ल्याएर दोस्रो स्थान प्राप्त गर्नुभएको थियो । काठमाडौं ५ मा अघिल्लो चुनावमा एमाओवादी तेस्रो स्थानमा थियो । यसपालि एमाओवादीले यो क्षेत्रमा महेन्द्र श्रेष्ठलाई उठाएको छ ।

कृष्णगोपाल श्रेष्ठ- देवेन्द्र पौडेल

devendra-and-krishna-gopalकाठमाडौं ९ मा एमाओवादीका प्रभावशाली नेता देवेन्द्र पौडेल र एमालेका पनि प्रभावशाली नेता कृष्णगोपाल श्रेष्ठवीच भीडन्त हुने भएको छ । उम्मेद्वार मनोनयनका दिन दुवै नेताले हात मिलाए पनि काठमाडौं ९ मा दुई दलवीच विगतमा पनि निकै ठूलो प्रतिश्पर्धा भएको थियो ।

काठमाडौं ९ मा विगतमा नेपाली कांग्रेस पहिलो, एमाओवादी दोस्रो र एमालेका कृष्णगोपाल श्रेष्ठ तेस्रो स्थानमा आउनुभएको थियो । तर, काठमाडौं ९ मा कांग्रेस, एमाले र एमाओवादी तीनै दलले १२/१२ हजार मत ल्याएका थिए ।

कृष्ण्प्रसाद सिटौला-धर्मशीला चापागाई

krishna-and-dharmasilaझापाको क्षेत्र नं ३ मा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला एमाओवादी नेतृ धर्मशिला चापागाईसँग भिड्नुभएको छ । यो भीडन्तलाई पनि निकै रोचक रुपमा हेरिएको छ । चापागाईको गृह एवं कर्मक्षेत्र मानिएकाले उहाँलाई उठाए चुनाव जित्ने एमाओवादीको आँकलन थियो । तर, सिटौला ३ नम्बर क्षेत्रमै उठेपछि एमाओवादीलाई चुनौती थपिएको छ । यद्यपि झापामा सिटौलाको लोकपि्रयता कम भएकाले उहाँको विजय पनि चुनौतीपूर्ण रहेको विश्लेषकहरु बताउँछन् ।

अघिल्लो चुनावमा सिटौला झापा ३ मै एमाओवादीका पूर्णसिंह राजवंशीसँग करिब २६ सय मतान्तरले पराजीत बन्नुभएको थियो । झापा ४ बाट पूर्व सभासद बनेकी धर्मशिलाको पनि जिल्लामा पहिलेभन्दा लोकपि्रयता घटेको स्थानीयहरु बताउँछन् । यो अवस्थामा सिटौला या चापागाईमध्ये कसले जित्ने भन्ने टुंगो लगाउन मुस्किल छ ।

योगेश भट्टराई- हिमाल शर्मा- केशव स्थापित

yogeh-himal-keshab

काठमाडौं क्षेत्र नं ६ को चुनावमा यसपालि भाले भीडन्त हुनेभएको छ । एमालेका प्रभावशाली युवा नेता योगेश भट्टराई, अखिल क्रान्तिकारीका हिमाल शर्मा र पूर्व मेयर केशव स्थापितवीच काठमाडौं ६ मा भीडन्त हुँदैछ ।

रोचक त के छ भने एमाले फुटेर माले बनेका बेला हिमाल शर्मा भट्टराईका कार्यकर्ता हुनुहुन्थ्यो भने स्थापित पनि वामदेव नेतृत्वको मालेमा हुनुहुथ्यो । काठमाडौं ६ मा स्थापितले एमालेको भोट काट्ने र योगेश भट्टराईलाई घाटा लाग्ने विश्लेषण गर्न थालिएको छ ।

विगत ०६४ को चुनावमा काठमाडौं ६ मा एमाओवादीबा हितमान शाक्यले जित्नुभएको थियो । शाक्य अहिले वैद्य माओवादीमा हुनुहन्छ । तर, शाक्यलाई कांग्रेसका भीमसेनदासले नजिकैबाट पछ्याउनुभएको थियो । शाक्यको मत १० हजार ७ सय ६८ आएको थियो भने कांग्रेसका श्रेष्ठको मत १० हजार ५८ थियो । एमालेका योगेश भट्टराईले ९ हजार ८९ मत ल्याउनुभएको थियो । यसपालि एमाओवादीमा विभाजन आएको र स्थापितचले बागी उमेद्वारी दिएको अवस्थामा तेस्रो पक्षका रुपमा कांग्रेसले फाइदा उठाउने दाबी कांग्रेस पक्षको छ । यद्यपि एमाओवादी र एमाले दुबै दलले काठमाडौं ६ मा आफैंले जित्ने दाबी गरेका छन् ।

राजेन्द्र महतो- महेन्द्र यादव

rajendra-and-mahendraसर्लाही ४ मा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव आपसमा भिड्नु हुने भएको छ । अघिल्लो चुनावमा यो क्षेत्रबाट तमलोपाका रामचन्द्र राय यादवलाई महतोले भारी मतले हराउनुभएको थियो । सर्लाही ४ मा महतोको १७ हजार मत आएको थियो भने दोस्रो हुनेको मत ७ हजार ७ सय मात्रै थियो । अघिल्लो चुनावमा महतोको क्षेत्रमा एमाले चौथो, कांग्रेस पाँचौं र एमाओवादी ७ औं स्थानमा थिए ।

महन्थ ठाकुर- अमरेशनारायण सिंह

mahentha-and-amreshतमलोपा नेता महन्थ ठाकुर र विगतमा उहाँकै पीए रहेका कांग्रेस नेता अमरेशकुमार सिंहवीच सर्लाही ५ मा रोचक प्रतिश्पर्धा हुँदैछ । विगतमा पनि यही क्षेत्रमा सिंह र ठाकुरको भीडन्त भएको थियो । ०६४ को चुनावमा फोरमका शिवपुजन रायले १५ हजार ६ सय ८८ मत ल्याएर जितेको यो क्षेत्रमा ठाकुरको १५ हजार ४ सय १६ र सिंहको ११ हजार ९ सय ७१ मत आएको थियो । यसपालि फोरम फुटेकाले ठाकुर र सिंहको भीडन्त हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?