+
+

मधेश नभनौं, तराई भनौं

विभिन्न समुदाय रहेको तराईमा खास समुदायको बोलाउने नामसँग जोडेर मधेश प्रदेश बनाउन खोज्नु प्रजातान्त्रिक, न्यायोचित र सर्वग्राह्य हुन सक्तैन । तराईको ४० प्रतिशत भएकाले मधेशमा जोड दिने हो भने बाँकी ६० प्रतिशत रहेकाहरुवाट पनि आ-आफनो पक्षको वकालत हुन सक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २७ गते १३:३६

Faniraj-Nepalफणिराज नेपाल

नेपालमा द्वन्द्व कुनै न कुनै रुपमा रही आएको छ । देशमा शसस्त्र द्वन्द्व, जातीय द्वन्द्व र भौगोलिक द्वन्द्वको स्थिति छ । देशको अवस्था, गरिबी, दुर्गमको अवस्थासँगै जातीय र क्षेत्रीयतावाद ०६३ सालको आन्दोलनपछि ह्वात्तै बढेर आयो । १० वर्षको लामो द्वन्द्वमा माओवादीले बढाएको जातीय तुरुपले मधेशी आन्दोलनलाई पनि वल मिल्यो । शशस्त्र द्वन्द्वपश्चात बाह्र बुँदे सहमति भई बनेको अन्तरिम संविधानमा मधेशी प्रतिनिधित्व कमजोर देखिएपछि तराईमा एक दशक अघिदेखि मधेशी समुदायको हक अधिकारबारे थालिएको अन्तरक्रियात्मक समुहले आन्दोलन शुरु गर्‍यो । वास्तवमा त्यो आन्दोलन मधेसको आन्दोलन नभई तराईका मधेशी समुदायको आन्दोलनको रुपमा अघि बढ्यो । त्यसमा तराईका समग्र समुदायको प्रतिनिधित्व थिएन । फगत मधेशी र देशी अर्थात रोटी बेटी सम्बन्धको वलमा भएको उग्र आन्दोलनले जातीय तुरुप फैलाई अरु सम्प्रदायलाई तर्साउने र देशकै एक भागवाट आएकालाई विस्थापित गर्ने खेद्ने, मार्ने कुरामा पनि लक्षित रह्यो ।

म्।धेशी पार्टीको जातीय राजनीति र देशको शासन गर्नेहरुमा टालटुल गर्ने,उदासिन व्यवहारका कारण ती समुदायलाई विश्वासमा राख्न नसकी मधेश, म्।धेशवाद र मधेशवादी शब्दले प्रमुखता पायो । विगतमा मधेश आन्दोलन, मधेशवाद र मधेश केन्दि्रत मुद्दा, तराई-मधेश, मधेशवादी आदि शब्द जानी नजानी प्रयोगमा आएका छन् । त्यो तराईमा बस्ने अन्य समुदायलाई नपच्ने हिसाबको छ । यी शब्दहरु तराईका सम्पूर्ण समुदायप्रति लक्षित र समावेसी नभई सम्प्रदाय विशेष अर्थात मधेशीप्रति मात्र लगाव र पक्षपोषण गर्ने ध्येयले आएको छ ।

मधेशी पार्टीले मधेशमा ५० प्रतिशतभन्दा बढी जनसंख्या छ भन्ने तर हक, अधिकार, सुविधा र आरक्षण चाहीँ तराईको जनसंख्याको ४० प्रतिशत र देशको जनसंख्याको २० प्रतिशत मधेशी मात्रका लागि माग गर्नु र सुविधा लिनु धुत्र्याईं र कपट हो । त्यसबाट तराईमा बस्ने सबै समुदाय समेटिँदैनन् र समाहित पनि हुँदैनन् । तथापि यस्ता सम्प्रदाय विशेष शब्दहरु किन बारम्बार प्रयोग हुन्छन् त ?

विसं. २००७ सालको क्रान्तिपछिको पहिलो आमनिर्वाचनमा तराई कांग्रेसको नामवाट चुनाव लडेको हो, मधेश कांग्रेसको नामवाट होईन । पञ्चायत कालमा गजेन्द्रनारायण सिंहले मधेशी पार्टीको नामवाट नभई सदभावना पार्टीको नामवाट दल खोलेका हुन्, जुन हाल विभिन्न व्यक्तिको नामवाट टुक््रयाई चलाई आएका छन् । ०६३ सालको महान जनआन्दोलनपछि जात र क्षेत्रको नाममा मधेशी फोरम, तराई-मधेश, लिम्बूवान, किराँतजस्ता पार्टी खोलिनु तात्कालिन सरकारमा रहेकाहरुको गैरजिम्मेवारी र लाचारीपन हो ।

मिडिया समुदाय पनि यसको दोष भागी छ । ऐतिहासिक, त्यस क्षेत्रको अवस्था, नदीनाला, जनसंख्या, संस्कृति, जातीय बनौट आदिको पनि अध्ययन, विश्लेषणबाट नै शब्द आधार तय हुनुपर्ने हो । तर हलुका रुपमा, बहकिएर, अरु समुदायको अवस्था, संख्या र मूल्यांकनलाई पन्छयाएर गरिने व्यवहार वा शब्द प्रयोगले समग्र मानसिकता खल्बलिन नदिनेतर्फ मिडिया समुह सचेष्ट र स्पष्ट हुन जरुरी छ ।

चुरेपछिको समथर भाग, कतैबाट नघेरिएको, सम्म परेको मैदानी इलाका नै तराई हो । ऐतिहासिक कालको त्यो इलाका तरी कहलिन्थ्यो । वषर्ाको पानी, पहाड वा उच्च ठाउँबाट झरी एकत्रित भई समतल मैदानमा जम्ने भागलाई तरी अर्थात तराई भनिन्छ। फारसी भ्ााषाबाट आएको तराई शब्दको अर्थ ओसिलो समथर भूभाग भन्ने बुझिन्छ । १८ औं शताब्दीको गोर्खाली कागजपत्रहरुमा तरीयानी भनी घना जंगलले ढाकिएको पूर्वी तराईको जिल्लाहरुको नाम उल्लेख भएको पाइन्छ ।

वि.सं.१९६८ को पहिलो जनगणनाको जनसंख्या सारिणी विवरणमा पूर्वी तराई, मध्य तराई, पश्चिमी तराईको जनसंख्या भनी मेचीदेखि महाकालीसम्मका जिल्लाहरुको नाम उल्लेख गरिएको छ ।

मधेश शब्द संस्कृत भाषा मध्यदेश को अप्रभंश हो । अर्थात मध्यदेशको संक्षिप्त रुप नै मधेश हो । प्रज्ञा प्रतिष्ठानको संक्षिप्त शब्दकोष अनुसार हिमालयदेखि दक्षिण, मध्याञ्चल पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको पुरानो नाम मध्यदेश हो । प्राचीन वाङ्मयअनुसार सिन्ध-सतलजवीचको मथुरा, वृन्दावन, हरियाणासम्मको देश मध्यदेश कहलिन्थ्यो ।

भारतका डा.वी.एन.तिवारी र महेन्द्र चतुर्वेदीद्वारा सम्पादित सन् १९७५ मा प्रवर्धित संस्करणमा प्रकाशित हिन्दी-अंग्रेजी शब्दकोषमा मध्यदेश भन्नाले विन्ध्यान्चल, कुरुक्षेत्र र अलाहावादको वीचमा पर्ने मध्यक्षेत्रको नाम भनी उल्लेख गरिएको छ । यो आधारमा मधेश अर्थात मध्यदेश हुन त डाँडाँकाँडा वा पहाडले घेरिएको भित्री भाग हुनुपर्‍यो । तर त्यस्तो आधार भूभाग नेपालको पुछार भागमा छैन । यो क्षेत्र भूमि परिवेष्ठित अर्थात भारत परिवेष्ठित छ ।

नेपालको सम्पूर्ण भूभाग चार प्रदेशमा विभाजन भएको विगतदेखि अध्ययन तथा अध्यापन हुँदै आएको हो । हिमाल, पहाड, भित्री मधेश र तराई । चुरे मास्तिर पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको भूभागको वीचमा पहाडले घेरिएको उदयपर, सिन्धुली, चिसापानी, चितवन आदि भित्री मधेशका क्षेत्रहरु हुन् ती क्षेत्रमा थारु समुदायको बाहुल्यसँगै पहाडी समुदायको वसोवासको थलो हो । त्यहाँ मधेशी समुदायका मानिसको बसोवास नै होइन । विगतमा यातायत र व्यवसायको विस्तारका क्रममा कम संख्याका मधेशी व्यापार गरी बसेका छन् । तसर्थ नेपालको तराई क्षेत्रको भूभागमा जम्मा १७ जिल्ला रहेको कुरालाई बिर्सन मिल्दैन ।

सत्र जिल्ला रहेको तराईमा ०६८ सालको जनगणना अनुसार १ करोड ३३ लाख १८ हजार ७ सय ५ जनसंख्या रहेको छ । तराईको जनसंख्यामा आदिवासी थारू, जनजाति (राजवंशी, धिमाल, सतार, बाँतर आदि) मुसलमान, मधेशी र पहाडबाट आएकाहरुको बसोबास रहेको छ । यी मुख्य जातिमा थारु १३ प्रतिशत, जनजाति ३ प्रतिशत, मुसलमान ८ प्रतिशत, पहाडी ३६ प्रतिशत र मधेशी ४० प्रतिशत छन् । संख्यामा मधेशी बढी भए पनि तराईका आदिवासी, जनजाति र मुसलमानले आफुलाई मधेशी भन्न र मान्न नरुचाई विगतमा उनीहरुले आफ्ना हक, अधिकार र आरक्षणका लागि छुट्टाछुट्टै आन्दोलन गरेको कुरा जगजाहेर छ । विभिन्न समुदाय रहेको तराईमा खास समुदायको बोलाउने नामसँग जोडेर मधेश प्रदेश बनाउन खोज्नु प्रजातान्त्रिक, न्यायोचित र सर्वग्रह हुन सक्तैन । तराईको ४० प्रतिशत भएकाले मधेशमा जोड दिने हो भने बाँकी ६० प्रतिशत रहेकाहरुवाट पनि आ-आफनो पक्षको वकालत हुन सक्छ ।

मधेश शब्द आयातीत लाग्ने हुनाले स्थानीय, राष्ट्रियस्तर सुहाउँदो र सबै समुदाय समेटिने तराई भन्नु वा कहलाउनु उपयुक्त हुन्छ । मधेश शब्दले एउटा खास समुदायको प्रतिनिधित्व हुने र अरु वर्ग वा समुदायलाई समेट्दैन । तसर्थ अबदेखि तराईलाई मधेश नभनी तराई भन्ने, लेख्ने, बोल्ने गरौं । तराई वा तराईवासी भन्दा सबै वर्ग, समुदाय समेटिने र सामाजिक सद्भाव पनि हुन्छ ।

आज तराई देशका सबै जातजाति र विविध संस्कृतिको फुलवारीको रुपमा रही एकअर्का वीच सामन्जस्य भएका कारण मिश्रति संस्कृतिको रुपमा उदाउँदो छ । यसको जगेना गर्नु तराईका सबै समुदायको कर्तब्य हो । यस सन्र्दभमा मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको भनाइ समावेसी, सटिक र आधारसहितको छ- ‘तराईको भूभागमा बस्ने सबै तराईवासी हुन्, तर तराईमा बस्ने सबै मधेशी हुन सक्तैनन् । मधेशीया भनेको त कुनै खास भाषा, संस्कृति, भेषभुषा, रहन-सहन र परम्परा भएको समुदाय हो । यसर्थ तराईमा बस्ने सबै तराईवासी हुन सक्छ तर मधेशीया हुन सक्तैन ।’

बिराटनगर,पाञ्चाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?