
३ असोज,बुटवल । लुम्बिनी प्रदेशका पहाडी र हिमाली जिल्लामा टिमुर खेतीलाई व्यवसायिक बनाउने विषयमा मुख्यमन्त्री चेतनारायण आचार्यले विदेशी दातृ निकाय र उद्यमीहरुसंग छलफल गरेका छन् ।
मुख्यमन्त्री आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य वसीउद्दीन खाँ, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेसंग फ्रान्सको इक्वेडिसका प्रमुख पिरे अलेक्डेण्डरले भेट गरेका हुन् ।
लुम्बिनी प्रदेशका पहाडी भू–भागमा अर्गानिक टिमुर खेति हुदै आएको छ । टिमुरको व्यवसायीक खेतिबाट किसानको जीवनस्तर सुधार गर्न सकिने मुख्यमन्त्री आचार्यको भनाई छ । विदेशी दातृ निकाय तथा उद्यमीहरुसंग बिहिवार देउखुरीमा भएको भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेटमा टिमुर खेतीको विकासको लागि ७० लाख बजेट विनियोजन गरेको समेत जानकारी दिए ।
‘यूरोप, अमेरिकामा टिमुरको व्यापार राम्रो रहेको हुँदा लुम्बिनीको टिमुरलाई विश्व बजार सम्म पुर्याउन सकिन्छ’ –आचार्यले भने–‘नेपाली टिमुरलाई पूर्ण विषादिमुक्त अवस्थामै बचाउनुपर्ने, जसले गर्दा अर्गानिक उत्पादनको रुपमा मुल्य समेत राम्रो पाउने राम्रो सम्भावना छ ।’
पूर्व मुख्यमन्त्री तथा कांग्रेस दल नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा टिमुरको उत्पादन राम्रो रहेको र यसबाट किसानले धेरै आम्दानी गर्न सक्ने आधार रहेको बताए । भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले टिमुरबाट प्रदेशको समृद्धि र विकासमा टेवा पुग्ने बताए ।
५० हजार हेक्टरमा टिमुर खेतिको सम्भावना
लुम्बिनी प्रदेशमा जेठ १८ गते टिमुर सम्मेलन भएको थियो । लुम्बिनी प्रदेशमा १० लाख हेक्टर वन क्षेत्र छ । जस मध्ये ५० हजार हेक्टरमा टिमुर खेती गर्न सकिने सम्भावना रहेको प्रदेश सरकारले जनाएको छ ।
एक हेक्टर जमिनमा चार सय विरुवा हुर्काउन सकिने, एउटा विरुवाबाट मात्रै तीन केजी सम्म टिमुर उत्पादन गर्न सकियो भने प्रति बर्ष ६ करोड किलो टिमुर उत्पादन गर्न सकिने आधार रहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए ।
प्रशोधन नगरिएको टिमुर प्रतिकिलो ५ सयदेखि ८ सय रुपैयाँ किलोमा सहजै विक्रि हुने गरेको छ र यसलाई कालो सुन भनेर पनि चिन्ने गरिन्छ । सचिव काफ्लेका अनुसार आर्थिक बर्ष २०७८–०७९ मा दुई लाख ९० हजार पाँच सय १९ किलो टिमुर निर्यात भएको छ ।
रोल्पा जिल्लाका विभिन्न स्थानमा टिमुरको व्यवसायीक खेति हुदै आएको छ । बिषादीरहित टिमुरलाई विश्व बजारमा पुर्याउदा त्यहाँबाट राम्रो आम्दानी हुन सक्ने भएपछी सर्वेक्षण समेत सुरु भएको छ ।
माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा स्थानीयले टिमुर खेती गर्दै आएका छन् । यहाँ पाइने अर्गानिक टिमुरलाई विश्व बजारमा पुर्याउन सकिने बारेमा विदेशी कम्पनीहरुले चासो देखाएर अध्ययन, सर्वेक्षण थालेका हुन्।
प्रतिक्रिया 4