+
+
Shares

स्थानीय उत्पादन र उद्यमशीलताले समृद्ध प्रदेशको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री आचार्य   

उनले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवर्द्धनमा सबैको साझा ध्यान जानु आवश्यक रहेको बताए ।

रासस रासस
२०८२ माघ १२ गते १८:१७

१२ माघ, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताएका छन् ।

सैनामैना व्यापार संघको आयोजनामा सुरु भएको सातौँ सैनामैना महोत्सव–२०८२ को आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको बताए ।

उनले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवर्द्धनमा सबैको साझा ध्यान जानु आवश्यक रहेको बताए ।

मेला–महोत्सवमा स्थानीय उत्पादनका सामग्रीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले भने, ‘मेला–महोत्सव आयोजना गर्दा स्थानीय उत्पादनले प्राथमिकता नपाउने अवस्था बन्नुहुँदैन । मेला–महोत्सवमा स्थानीय उत्पादनले अनिवार्य रूपमा प्राथमिकता पाउनुपर्छ ।’

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा सधैँ उभिने स्पष्ट पारे ।

उनले भने, ‘प्रदेश सरकार उद्योगी व्यवसायीको रक्षा कवच बनेर उभिएको छ । व्यवसायीको लगानीको सुरक्षाको ग्यारेन्टीका लागि हामी खटिरहेका छौँ । लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको छ । उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन जरुरी छ ।’

सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले नवप्रवर्तनको क्षेत्रमा समेत लगानी बढाउन आवश्यक रहेको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?