९ पुस, मस्कट । परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापाले ओमानका समकक्षी परराष्ट्र उपसचिव अहमद बिन युसुफसँग भेटवार्ता गर्नुभएको छ ।
परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गर्दै सचिव थापाले मंगलबार ओमानको परराष्ट्र मन्त्रालयमा उहाँसँग भेटवार्ता गर्नुभयो ।
सो अबसरमा परराष्ट्र सचिव थापाले नेपाली कामदारहरुलाई रोजगारीको अबसर दिएकोमा धन्यवाद दिँदै दुई पक्षीय सम्बन्धलाई अझ उचाईमा पुर्याउन कुनै स्वरुपको संयुक्त संयन्त्र बनाउन प्रस्ताव गर्नुभयो । ओमानमा नेपालीहरुको सुरक्षित रोजगारी सुनिश्चीत गर्न श्रम सम्झौता गर्ने तथा लगानी, पर्यटन र संस्कृतिक आदानप्रदानका लागि कुनै संयन्त्र बनाउँदा उपयुक्त हुने बताउनुभयो । साथै उहाँले आफ्ना समकक्षीलाई उपयुक्त समयमा नेपाल भ्रमणको निम्तोसमेत दिनुभयो ।
सो अबसरमा ओमानका परराष्ट्र मन्त्रालयका उपसचिवले सचिव थापालाई स्वागत गर्दै भ्रमण सफलताको कामना गर्नुभयो । साथै उहाँले ओमानमा आवासीय दूतावास खालेकोमा नेपाललाई बधाई दिनुभयो । सचिव थापाले ओमानले पनि नेपालमा आवासीय दूतवास खोलोस भन्ने भन्ने अपेक्षा रहेको बताउँदा ओमानी परराष्ट्र सचिवले यसलाई सकरात्मक रुपमा लिने बताउनुभयो । थापाले दिनुभएका सुझावलाई सकारात्मकरुपमा लिँदै उहाँले आपसी सम्बन्ध बिस्तारमा यी सुझाव फलदायी हुनसक्ने बताउनुभयो । साथै उहाँले पर्यटन र लगानी विस्तारका अबसरबारे पर्याप्त छलफल गर्नुपर्ने भन्दै नेपालमा प्रत्यक्ष बैदेशिक लगानीको अबसरबारे विस्तृतमा जानकारी गराउन आग्रह गर्नुभएको थियो । जवाफमा सचिव थापाले दूतावासमार्फत् छिटै विस्तृत बिबरण उपलब्ध गराउने बताउनुभयो ।
सचिव थापाका साथमा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, ओमानका लागि नेपाली कार्यबाहक राजदूत झविन्द्र अर्याल, श्रम मन्त्रालयका सहसचिव बुद्धिबहादुर खड्का तथा ओमानस्थित नेपाली दूतावासका कर्मचारी उपस्थीत हुनुहुन्थ्यो ।
प्रतिक्रिया 4