बुवा आन्द्राको क्यान्सरले बित्नुभो, छोरी मेनेन्जाइटिसले बितिन् । यी दुई वियोगले मलाई जीवनमा ठूलो पाठ पढाएर गयो ।
अर्कोतिर श्रीमतीको पित्तथैलीमा पत्थरी थियो, १८ एमएमको । त्यसबेला उनी गर्भवती थिइन् । डा. दिनेशचन्द्र पोखरेलले सुझाए, ‘गर्भको बच्चालाई फ्याँक्ने र पित्तथैलीको शल्यक्रिया गर्ने ।’ गर्भको बच्चा पनि नफ्याँक्ने र पित्तथैली पनि नफ्याँक्ने उपाय के छ त ?
यी सम्पूर्णको एउटै जवाफ पाएँ, ‘खानपान र जीवनशैली परिवर्तन ।’ हामीले पेशा–व्यवसाय मात्र होइन, खानपान र जीवनशैली पनि बदल्यौं ।
अहिले म शारीरिक रूपमा तन्दुरुत छु । भर्खरै मात्र नर्भिक अस्पतालमा होलबडी चेकअप गर्दा चिकित्सक भन्दैथिए, ‘तपाईंको शरीरको कोषहरू भर्खर २५ वर्षका युवाको जस्तो छ ।’ जबकि म उमेरले ५० वर्ष नाघिसकें । यो उमेरमा मलाई मधुमेह, उच्च रक्तचाप, थाइराइड जस्ता कुनै पनि दीर्घरोगले छोएको छैन । अल्छी, अनिद्रा, अरुचि, अपच केही समस्या छैन ।
त्यसैले म पूर्ण ऊर्जाका साथ ८–१० घण्टा मस्त काम गर्न सक्छु । मलाई झर्को, दिक्क केही पनि लाग्दैन । यसको पछाडि मेरो खानपान र जीवन जिउने तरिकाले काम गरेको छ । म कस्तो खान्छु, कस्तो दिनचर्या पालना गर्छु ? त्यो कुरा सुनाउनुअघि म कसरी बदलिएँ भन्ने प्रसंग सुनाउँछु ।
जब बुवालाई क्यान्सर भयो
मेरो बुवालाई सुरुमा ग्याष्ट्रिक थियो । ग्याष्ट्रिकबाट अल्सर भयो । अल्सरबाट क्यान्सर । त्यसपछि बुवाको कुरुवा बनेर अस्पताल बस्न थालें । ६ महिनासम्म मेरो बास अस्पतालमा भयो । एकातिर क्यान्सर खर्चिलो रोग, अर्कोतिर मसँग त्यति पैसा हुँदैनथ्यो । त्यसमाथि औषधि सहजै नपाइने ।
म भक्तपुर क्यान्सर अस्पतालबाट औषधि किन्नका लागि कहिले वीर अस्पताल त कहिले शिक्षण अस्पतालको आसपास दौडिरहेको हुन्थें । आपत्कालीन अवस्थामा औषधि खोज्दा ट्याक्सीमा ओहोर–दोहोर गर्नुपर्ने । औषधिको मूल्य ७५ वा ८० रुपैयाँ हुन्थ्यो, ट्याक्सी भाडा चाहिं ४–५ सय रुपैयाँ । पाउनुभन्दा धाउनु धेरै भने जस्तो । यो २० वर्षअघिको कुरा हो ।
अस्पतालको बसाइ, दौडधूप, पैसा खर्च । घरमा कोही एक जना बिरामी भए परिवारकै लय बिग्रने । त्यसबेला म बोर्डिङ स्कुल चलाएर बसेको थिएँ । जब बुवालाई क्यान्सर भएर अस्पतालको चक्कर लगाउनुपर्यो तब मलाई एउटै प्रश्नले बारम्बार घोच्न थाल्यो, ‘मान्छेलाई किन रोग लाग्छ ? क्यान्सर किन हुन्छ ?’
तर, त्यसबेला यस्तो जिज्ञासा मेट्नका लागि न युट्युब थियो, न सामाजिक सञ्जाल । एकाध क्यान्सर वा रोगबारे छापिएको पत्रपत्रिका भित्तामा टाँसिएको हुन्थ्यो । ‘क्यान्सरबाट बच्न यस्तो खानपान गरौं’, ‘कसरी क्यान्सर हुन्छ’, ‘क्यान्सर लाग्न नदिन के गर्ने ?’ जस्ता शीर्षकमा पढ्न पाइथ्यो ।
नेपाली महिलामा पाठेघर र पाठेघरको मुखको क्यान्सर हुन्छ, छोरामा प्रोस्टेट र फोक्सोको क्यान्सर हुन्छ । आन्द्रा वा पेटको क्यान्सर चाहिं सबैलाई हुनसक्छ भनी लेखिएको हुन्थ्यो । मेरो बुवाको चाहिं पेटको क्यान्सर थियो ।
क्यान्सरका रोगी, शाकाहारीभन्दा मांसहारी बढी
बुवाको कुरुवा बनेर बसिरहँदा मैले यसो अस्पतालको भित्तामा टाँसिएको कुराहरू पढ्थें । बिरामीसँग भलाकुसारी गर्थें । वल्लो बेड, पल्लो बेडमा गएर सोधीखोजी गर्थें । म उनीहरूलाई सोध्थें, ‘के खानुहुन्थ्यो ? कसरी खानुहुन्थ्यो ? कस्तो जीवन बिताउनुहुन्थ्यो ?’
के खाँदा कस्तो रोग लाग्छ ? मलाई जान्ने उत्सुकता थियो । कोही पेटको, कोही हड्डीको, कोही कलेजको, कोही फोक्सोको, कोही पाठेघरको क्यान्सर रोगी थिए । म सबैसँग प्रश्न सोध्थें । आफ्नै हिसाबले अनुसन्धान गर्थें । के गर्दा क्यान्सर लाग्छ ? कसरी सचेत हुने ?
उनीहरूको जवाफमा मैले केही कुरामा एकरूपता पाएँ । जस्तो कि, त्यहाँ भएका अधिकांश क्यान्सर रोगी मांसहारी थिए । थोरै मात्र शाकाहारी भेटिए । मलाई लाग्यो, यहाँ शाकाहारीभन्दा मांसहारी रोगी हुँदारहेछन् ।
औसत आयु पुरुषको भन्दा महिलाको बढी छ । यसो हुनुको कारण पनि हाम्रो आनीबानी र खानपान नै हो भन्ने लाग्यो । किनभने धेरैजसो पुरुष रक्सी र चुरोट खान्छन्, महिलाको तुलनामा । तासको खालमा बस्ने, सितन र रक्सी खाने प्रवृत्ति पनि पुरुषको बढी हुन्छ । जबकि महिलाहरू आफ्नै सुरमा काम गरिरहने, थोरै खाने स्वभावका हुन्छन् ।
केही त्यागौं, स्वस्थ बनौं
जब बुवा क्यान्सरले बित्नुभो, मलाई रोगसँग डर लाग्न थाल्यो । कसरी जीवनभर निरोगी बन्ने ? कसरी ऐय्या–आत्था नगरी बाँच्ने, कसरी अस्पतालको चक्कर नलागाई जीवन बिताउने ? भन्ने खोजले म प्राकृतिक चिकित्सामा आएँ ।
पुरानो पेशा व्यवसाय छाडेर मैले प्राकृतिक चिकित्सालय सुरु गरें । त्यससँगै आफ्नो जीवनशैली र खानपानलाई परिवर्तन गरें ।
मैले जंकफूड, फास्टफूड, चिनी, मैदा, तारेको–भुटेको लगायत धेरै कुरा आफ्नो मेनुबाट सर्लक्क हटाइदिएँ । अल्छी, ऐस–आरामलाई बिदा दिएँ ।
हाम्रो भान्सामा पाँच वटा सेतो कुरा एकदमै कम प्रयोग हुन्छ । सेतो चामल, सेतो डाल्डा, सेतो नुन, सेतो चिनी, सेतो मैदा । बजारको माछा, मासु, बोइलर, जुस, कोक–फेन्टा, चाउचाउ, बिस्कुटले हाम्रो भान्सामा प्रवेश पाउँदैन । बेमौसमी फलफूल, सागसब्जी हामी खरिद गर्दैनौं ।
हामीकहाँ मिश्रित खानेकुरा पाक्छ । जौ, गहुँ, मकै, कोदो, फापरको परिकारहरू दैनिक खाइन्छ । दिनहुँ सप्तरंगी खाना खानु भनिन्छ, त्यही अनुसार थरीथरी प्राकृतिक रंगका खानेकुरा हामी थालीमा मिसाउँछौं । प्रायः तरकारीमा हामी मिश्रित मौसमी तरकारी (मिक्स भेजिटेबल करी) खान्छौं । हरियो सागसब्जी र सलाद हाम्रो थालीको अनिवार्य हिस्सा हुन् ।
बजारमा पाइने धेरैजसो फलफूल, सागसब्जीमा हर्मोन केमिकल प्रयोग भएको हुन्छ । बजारको गोलभेंडा त पटक्कै खाइँदैन । किनभने त्यसमा मेटासिट लगाइएको हुन्छ ।
हामी बजारको खानेतेल पटक्कै प्रयोग गर्दैनौं । किनभने त्यहाँ मिसावट हुन्छ नै । तपाईं आफैंले हिसाब–किताब गर्नुहोस्, एक लिटर सूर्यमुखी तेलको सरदर बजार मूल्य अढाइ वा तीन सय होला । जबकि उक्त तेल बनाउने कच्चा पदार्थ अर्थात् सूर्यमुखीको बियाँकै केजीको ८०० रुपैयाँ पर्छ । साढे तीन केजी बियाँको एक लिटर तेल उत्पादन हुन्छ । यस हिसाबले शुद्ध सूर्यमुखी तेलको मूल्य लिटरकै तीन हजार भन्दा बढी हुनुपर्ने होइन र ? कसरी त्यति सस्तोमा पाइँदैछ ?
खानेतेलको कारण धेरै मान्छे रोगी भएका छन् । खराब कोलेस्टोरेलको त यो भण्डार नै हो । विज्ञापनमा मुटु बलियो बनाउने भनिएको छ तर यसले मुटु खराब बनाउँछ । त्यसैले सम्भव भएसम्म आफ्नै उत्पादनको तेल, घिउ प्रयोग गरौं । नभए मिलमा गएर आफैंले पेलाएर पनि उपभोग गर्न सकिन्छ ।
आफैंले मात्र उत्पादन गरेर साध्य हुँदैन । कति खानेकुरा कौसी खेती गरेर खाइन्छ । र, कति चाहिं हामी इलाम, धनकुटा, गोरखा, रामेछाप, ओखलढुंगा आदिको गाउँघरबाट किनेर खान्छौं ।
यादकदा बजारकै किन्नै पर्ने हुनसक्छ । त्यस्तो बेला बजारबाट ल्याएको खानेकुरा तुरुन्त नखाने । त्यसलाई रातभर नुन–पानीमा भिजाएर राख्ने । पानीमा राम्ररी सफा गरेर मात्र खाने । यसरी हामी खानपानमा पटक्कै सम्झौता गर्दैनौं । खानपानमा हामी कठोर नै छौं चाहे त्यो घरमा होस् वा पाहुनापातमा ।
पाहुना जाँदा भनौं, ‘यस्तो त खान्नँ’
चाडपर्व आउन लागेको छ । पाहुनापात जाने बेला हो यो । पाहुनापात जाँदा के गर्छ ? मीठोमसिनो ल्याउँछ, रक्सी ल्याउँछ । सबैभन्दा राम्रो पोलिस गरेको चामलको भात, धेरै तेल हालेको तरकारी, बोइलर वा खसीको मासु ल्याउँछ ।
हामी धेरैलाई के लाग्छ भने अर्काले सत्कार गरेर दिएको खानेकुरा खाइदिनुपर्छ । तर, हामी यस्तो भन्दैनौं । आफ्नो स्वास्थ्यलाई अहित हुने कुरा खाएर अरूको मन राख्नु उचित होइन । हामी त सशर्त पाहुना जान्छौं ।
कुनै घरमा पाहुना जाँदैछौं भने सुरुमै हामी भन्छौं, ‘हामी बोइलर खाँदैनौं, खसी खाँदैनौ, राँगा खाँदैनौं । खाइहाले ताजा माछा खान्छौं, त्यो पनि बजारको होइन । कोक, फेन्टा, इनर्जी ड्रिंक, बजारको जुस खाँदैनौं । यदि हाम्रो शर्त पूरा नभए बरु हामी खानेकुरा नै खाँदैनौं ।
बरु उनीहरूलाई भन्छौं, ‘हजुरहरूले पनि यो–यो खानेकुरा नखानु होला । यस्तो खानाले तपाईंको शरीरलाई रोगी बनाउँछ । पैसा तिरेर रोग नकिन्नुहोला, किनभने उपचार धेरै महँगो छ । नेपालमा त ठूलो रोग लागेपछि घरखेत बेचेर पनि उपचार गर्न सकिंदैन । घरमा एक जना रोगी भएमा सबै जनाले दुःख पाउँछन् । त्यसैले पैसा खर्च गरेर रोग नकिन्नु, जिब्रोको स्वादमा पल्केर पेटलाई डस्टबिन नबनाउनु ।’
नयाँबानेश्वरस्थित होलिस्टिक हर्ब्स का सञ्चालक मुखियासँग कुराकानीमा आधारित
प्रतिक्रिया 4