नविन अर्याल
६ साउन, काठमाडौं । मनसुनले साथ दिएपछि खाद्यन्न उत्पादनमा उत्साहजक वृद्धि भएको छ । कृषि विकास मन्त्रालले आर्थिक वर्ष २०७०/७१ ९५ लाख ६२ हजार ७ सय १८ मेट्रिक टन खाद्यन्न उत्पादन भएको अनुमान गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ९.४३ प्रतिशत अर्थात ८ लाख २४ हजार ३ सय ३६ मेट्रिक टनले बढी हो ।
यस अवधिमा धान ५० लाख ४७ हजार, मकै २२ लाख ८३ हजार, कोदो ३ लाख ४ हजार गहुँ १८ लाख ८३ हजार, जौं ३४ हजार र फापर १० हजार मेट्रिक टन उत्पादन भएको अनुमान मन्त्रालयको छ । कुल उत्पादन ९५ लाख ६२ हजार मेट्रिक टन भएपनि उपभोग्य परिमाण भने भने ६० लाख ८५ हजार ७ सय ७६ मेट्रिक टन रहेको अनुमान गरिएको छ ।
उत्पादन भएको सबै खाद्यन्न उपभोगका लागि उपलब्ध हुँदैन । केही परिमाण विउका लागि छुट्टाउनुपर्ने हुन्छ भने केही परिमाण प्रशोधन अगाडी र पछाडी नोक्सान हुन्छ, केही परिमाण भुषमा जान्छ भने गाईंभैंसीका लागि पनि छुट्टाउनुपर्ने हुन्छ ।
३० जिल्लामा खाद्यन्न अपुग
गत आ.ब.मा आन्तरिक खाद्यान्न उत्पादनबाट आवश्यकता परिपूर्ति हुन नसकेका जिल्लाहरु ३३ रहेका थिए भने यस वर्ष पूर्वाञ्चलका उच्च पहाडी जिल्ला आन्तरिक खाद्यान्न आत्मनिर्भर छ भने पहाडी जिल्लामा धनकुटा र उदयपुर त्यस्तै तराईका सप्तरी र सिराहा जिल्लामा आन्तरिक उत्पादनबाट उपभोग्य खाद्यान्न आपूर्ति हुन नसकेको प्रारम्भिक अनुमान छ ।
उत्पादन वृद्धि भएपछि समीक्षा वर्षमा खाद्यन्न अभाव हुने जिल्लाहरु घटेका छन् । अघिल्लो आर्थिक वर्षमा ३३ जिल्लाहरुमा उपभोग्य खाद्यन्न अभाव रहेको थियो भने यस वर्ष ३० जिल्लाहरुमा मात्र उपभोग्य खाद्यन्न अभाव रहेको अनुमान गरिएको छ । यस वर्ष पूर्वाञ्चलका उच्च पहाडी जिल्लाहरु आन्तरिक खाद्यान्नमा आत्मनिर्भर भएका छन् ।
पूर्वाञ्चलमा धनकुटा, उदयपुर, सप्तरी, सिराहा जिल्लाहरुमा आन्तरिक उत्पादनबाट उपभोग्य खाद्यान्न आपूर्ति हुन नसकेको अनुमान छ । त्यस्तै, मध्यमाञ्चलका दोलखा, रसुवा, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, मकवानपुर, महोत्तरी, सर्लाही, रौटहट र चितवनमा आन्तरिक उत्पादन अपुग भएको मन्त्रालयले बताएको छ ।
प्रमुख बालीको क्षेत्रगत उत्पादन, अावश्यकता र बचत (मेट्रिक टनमा)
क्षेत्र | चामल | मकै | कोदो | फापर | गहुँ | जाैं | अवश्यकता | बचत |
---|---|---|---|---|---|---|---|---|
पूर्वाञ्चल | ७७९७६२ | ४६८५०७ | ७३१५१ | २१८९ | १९७१९४ | ४७७ | १११७१७८ | ४०४१०२ |
मध्यमाञ्चल | ७२२२३७ | ४२५३९३ | ५६०७१ | १४३५ | ४६४१३८ | ७३२ | १९८०३०२ | -३१०२९५ |
पश्चिमाञ्चल | ६६७८४१ | ४५५७९९ | ८४६९० | २८३५ | २८२१९७ | १२१९ | ९७२६३२ | ५२१९४९ |
मध्य पश्चिम | ३७००११ | १७५४३७ | २१८२४ | १८८५ | २९३६६५ | ४७९७ | ७२२८५३ | १४४७६६ |
सुदूर पश्चिम | २६८३१० | ३२३७१ | १३७५५ | १११ | २१५२८७ | २४५६ | ५०२९२१ | २९३६९ |
नेपालभरी | २८०८१६० | १५५७५०७ | २४९४९२ | ८४५५ | १४५२४८२ | ९६८० | ५२९५८८६ | ७८९८९० |
पश्चिमाञ्चलका उच्च पहाडी जिल्लामा मनाङ र मुस्ताङ दुवैमा खाद्यन्न उत्पादन न्यून देखिएका छन् । मध्यपश्चिमाञ्चलको उच्च पहाडका चार जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा र कालिकोटमा खाद्यान्न न्यून देखिएको छ भने मुगु जिल्ला खाद्यान्नमा आत्म निर्भर रहेको देखिएको छ । पहाडी जिल्लाहरु रोल्पा, जाजरकोट र प्यूठान जिल्लामा खाद्यान्न न्यून रहेको अवस्था छ ।
प्रारम्भिक अनुमानमा सुदूरपश्चिमका ३ वटै उच्च पहाडी जिल्लाहरु खाद्यान्न न्यून देखिएको छ भने पहाडी जिल्लामा डोटी बाहेक अछाम, वैतडी र डडेलधुरा जिल्लामा खाद्यान्न न्यून रहेको देखिएको छ ।
प्रतिव्यक्ति कति खाद्यन्न आवश्यक ?
चामल, मकै, कोदो, फापर, गहुँ र जौंको उत्पादन विभिन्न क्षेत्रमा फरक-फरक हुने गर्छ । यी वस्तुहरुमा क्यालोरी पनि फरक फरक हुने हुँदा बेग्ला-बेग्लै क्यालोरीको हिसाव गर्दा भौगोलिक क्षेत्रअनुसार भारित अंकको आधारमा उच्च पहाडमा १९१ किलो, पहाडमा २०१ किलो र तराईमा १८१ किलो उपभोग्य खाद्यन्न प्रतिवर्ष प्रतिव्यक्तिलाई आवश्यकता पर्ने अनुमान मन्त्रालयको छ ।
तीन अार्थिक वर्षमा उपभोग्य खाद्यन्नकाे उत्पादन, अावश्यकता र बचत (मेट्रिक टनमा)
अार्थिक वर्ष | उपभोग्य उत्पादन | अावश्यकता | बचत |
---|---|---|---|
२०६८/०६९ | ६०,२०,२९५ | ५०, ७७,१३४ | ९,४३,१६१ |
२०६९/०७० | ५६,४८,२६५ | ५२,३९,८२३ | ४,०८,४४२ |
२०७०/०७१ | ६०,८५,७७६ | ५२,९५,८८६ | ७,८९,८९० |
यस तथ्यांकलाई आधार मान्दा गत आर्थिक वर्षमा मध्यावधिक जनसंख्या २ करोड ७८ लाख ३६ हजार पुगेको अनुमानमा ५२ लाख ९५ हजार ८ सय ८६ मेट्रिक टन खाद्यन्न आवश्यक परेको प्रारम्भिक अनुमान छ । सो अवधिमा ७ लाख ७९ हजार ८ सय ९० मेट्रिक टन खाद्यन्न बचत रहन पुगेकेा छ ।
आर्थिक वर्ष २०६८/६९ मा ५० लाख ७७ हजार मेट्रिक टन खाद्यन्न आवश्यकता परेकोमा ६० लाख २० हजार उपभोग्य खाद्यन्न उत्पादन भई ९ लाख ४३ हजार मेट्रिक टन वचत भएको थियो । त्यस्तै, २०६९/७० मा ५२ लाख ४० हजार मेट्रिक टन खाद्यान्न आवश्यक परेकोमा ५६ लाख ४८ हजार मेट्रिक टन उपभोग्य खाद्यन्न उत्पादन भई ४ लाख ८ हजार मेट्रिक टन बचत भएको थियो ।
प्रतिक्रिया 4