२ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी चालक अनुमतिपत्र अब प्रदेश सरकारले नै वितरण गर्ने बताएका छन् ।
बुधबार मन्त्रालयमा यातायात व्यवसायीसमेतको छलफलमा उनले २०७२ सालदेखि नै लाइसेन्स वितरणको काम प्रदेश मातहतमा गइसके पनि संघीय सरकारले वितरण गरिरहेको बताए । अब भने हालसम्मको बाँकी लाइसेन्स वितरण गरेर प्रदेशलाई नै जिम्मा दिने मन्त्री दाहालले बताए ।
‘०७२ सालदेखि नै प्रदेशले नै यो काम गर्नुपर्थ्यो । तर यो काम संघले गरिरहेको अवस्थामा यो संघकै जिम्मेवारी भन्ने बुझाइ रह्यो । हामीसँग केही ड्यु छन् । त्यो ड्यु भएको हामीले पूरा गर्ने भनेको छौँ । २०/२१ लाख जति हामीले अहिले छापेर दिनुपर्ने अवस्था छ । त्यो जसरी पनि हामीले छापेर दिन्छौं’, उनले भने ।
कोशी प्रदेशले अस्थायी लाइसेन्स दिन थालेको र अन्य प्रदेशले पनि रसिदमै क्वयुआर कोड राखेर दिने भन्ने छलफल भइरहेको उनको भनाइ छ ।
मन्त्री दाहालले इन्धनको मूल्य घटे अनुसार भाडा समायोजन छिट्टै हुने पनि बताएका छन् । ‘इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्ने भन्ने पनि छ । समायोजन नभएको दुई, तीन वर्ष भइसक्यो । यो एउटा प्याकेजमै समायोजन गर्नुपर्छ’, उनले भने ।
मन्त्री दाहालले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिहाल्नुपर्ने पनि बताए ।
प्रतिक्रिया 4