३० साउन, काठमाडौं । नेताको उपचारका लागि सुशील कोइराला सरकारले ६ महिनामा करीव आधा अर्ब रुपैया सिध्याएको समाचार अनलाइनखबरले सार्वजनिक गरेपछि त्यसको सर्वत्र बिरोध भइरहेका बेला पुनः मन्त्रिपरिषदले एमाले बरिष्ठ नेता झलनाथ खनाललाई उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको विहीवार राती बसेको बैठकले पूर्व प्रधानमन्त्री एबम् एमालेका निवर्तमान अध्यक्ष खनालको बेलायतमा गरिने उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको हो । एक मन्त्रिका अनुसार उपप्रधानमन्त्री बामदेव गौतमको प्रस्तावमा मन्त्रिपरिषदले सहमति जनाएको हो ।
खनाललाई भिटामिट डी डिफिसेन्सी नामक रोग लागेकोले उनको उपचार लण्डनमा हुन लागेको स्रोतले जनाएको छ । गौतमले उपचार खर्च व्होर्नका लागि पेश गरेको लिखित प्रस्तावमा केही मन्त्रिले मेडिकल काउन्सिलको सिफारिस हुनुपर्ने धारणा राखेका थिए ।
मन्त्रीहरुको असहमति
नेताको उपचार खर्च प्रति सर्वसाधारणको गुनासो रहेको भन्दै स्वास्थ्यमन्त्री खगराज अधिकारी, अर्थमन्त्री रामशरण महत लगायतले अशन्तुष्टि जनाएको स्रोतले जनाएको छ । गौतमले सबै प्रक्रिया पूरा गरिने भन्दै निर्णय गराइहाल्न आग्रह गरेपछि निर्णय भएको उच्च स्रोतले जनाएको छ ।
यसअघि प्रधानमन्त्री कोइरालाको अमेरिकामा उपचारका क्रममा सबै खर्च गरि २० करोड भन्दा बढि निकास भइसकेको अर्थ स्रोतले जनाएको छ । एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता गोविन्दराज जोशी, एमाले नेतृ साहना प्रधान, एमाओवादी नेतृ उर्मिला अर्याल लगायतको उपचार खर्च पनि सरकारले व्यहोरेको थियो ।
प्रतिक्रिया 4